सगरमाथा इन्स्योरेन्सको नाफा आधा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४७.२७ प्रतिशतले घटेको छ ।

सगरमाथाले असोज मसान्तसम्म ३ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ करोड रुपैयाँ कम हो । अघिल्लो वर्ष कम्पनीले ६ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुनर्बीमा कमिशन, कर्जा लगानी तथा अन्य आयबाट हुने आम्दानी घटनुका साथै जोखिम व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनु परेकाले कम्पनीको नाफामा असर परेको हो ।

समीक्षा अवधिमा कम्पनीले कर्जा लगानी तथा अन्य आयबाट जम्मा ५ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ५९ लाख थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट प्राप्त हुने आम्दानी ४२ लाख घटेको छ । गत वर्ष पुनर्बीमा कमिसनबाट ९ करोड ५९ लाख आम्दानी गरेको कम्पनीले चालु आवमा ९ करोड १७ लाख मात्र आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २.५३ प्रतिशतले बढेर ४० करोड ४२ लाख रुपैयाँ पुगेको छ ।समीक्षा अवधिमा कम्पनीले कुल २३ करोड ३३ लाख दाबी भुक्तानी गरेको छ भने अझै १ अर्ब ५७ करोड रुपैयाँ बाँकी छ । असोजसम्म कम्पनीले ४१ हजार ६६४ वटा बीमालेख जारी गरेको छ । गत वर्ष सोही अवधिमा ४२ लाख ९८९ वटा पोलिसी जारी गरेको थियो ।

हाल १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४४ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस्तै, बीमाकोषमा १ अर्ब २३ करोड र महाविपत्ति कोषमा १२ करोड ३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८९.१६ गुणा रहेको छ ।

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्त घाटामा, यस्तो छ वित्तीय अवस्था Read Previous

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्त घाटामा, यस्तो छ वित्तीय अवस्था

एनसीसी बैंकको साधारणसभा स्थगन गर्न निर्देशन Read Next

एनसीसी बैंकको साधारणसभा स्थगन गर्न निर्देशन