काठमाडौं । विद्युत नियमन आयोगले विद्युत खरिद बिक्री तथा अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू सम्बन्धी विनियमावली २०७६ जारी गरेको छ । विनियमावलीको मस्यौदा तयार पारेर सरोकारवालाहरूको सुझावसमेत लिएको आयोगको केही दिन अघि बसेको बैठकले विनियमावली पारित गरेको हो ।
विद्युत खरिद–बिक्रीसम्बन्धी प्रावधान, विद्युत खरिद तथा प्रक्षेपण, विद्युत खरिद दरको निर्धारण तथा विद्युत खरिद सम्झौताको सहमति, शेयर संरचना परिवर्तनको स्वीकृति, सेवा प्रभावकारिता तथा सुरक्षा, अनुपालन तथा अनुगमन तथा अनुमतिप्राप्त व्यक्तिको वित्तीय विवरण, आन्तरिक नियन्त्रण तथा संस्थागत सुशासनसम्बन्धी व्यवस्था विनियावलीमा उल्लेख रहेको आयोगले जानकारी गरायो ।
आयोगमा प्राप्त सुझावहरूका साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का साथै विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) लगायतका अन्य दातृ निकायहरूको समेत सुझाव र प्रतिक्रियाको आधारमा विनियावली तयार पारी जारी गरिएको विद्युत नियमन आयोगका अध्यक्ष डिल्ली सिंहले जानकारी गराएका छन् ।
उनका अनुसार सरकारको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अवधारणा पत्र एवम् कार्य योजना, २०७२ एवं उर्जा क्षेत्र सम्बन्धि नीतिगत व्यवस्था समेतलाई मध्यनजर राखेर विनियावली जारी गरिएको छ ।
विनियमावलीमा विद्युत खरिद सम्झौता (पीपीए) का दर तथा उत्पादन अनुमतिपत्र नलिई पीपीए गर्न नपाइने प्रावधानलाई यथावत राखिएको छ । विनियावलीमा सोलार न्यून परिपूर्ति कोष व्यवस्था गर्नुका साथै नेट मिटररिङबारे समेत उल्लेख रहेको आयोग प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए ।