काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५०.११ प्रतिशतले घटेको छ ।
असोज मसान्तसम्म कम्पनीले १० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ कम हो । कम्पनीले गत वर्षको असोजसम्म २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्ट आम्दानी र संचालन नाफा घट्दा नाफामा असर परेको हो । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ अर्ब २८ करोडबाट घटेर ६७ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, कम्पनीको संचालन नाफा ५० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीको संचालन नाफा २० करोड ४२ लाखबाट घटेर १० करोड १८ रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको आयोजना निर्माणधीन अवस्थामै रहेकाले विद्युत् विक्रीबाट आम्दानी हुन सकेको छैन । हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब १२ करोड रुपैयाँ संचिति छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १६०.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.१५ गुणा रहेको छ ।
कम्पनीले हाल सोलुखुम्बुमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिमचरणमा पुगेको कम्पनीले जनाएको छ । यो निजी क्षेत्रले निर्माण गरिरहेको हालसम्मकै ठूलो क्षमताको आयोजना हो ।
यस आयोजनाको लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसअनुसार प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । यसलाई तुलनात्मक रुपमा प्रतिमेगावाट लागत सस्तो मानिन्छ ।आयोजनामा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।
वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा १ अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरी वार्षिक २ अर्ब ८६ करोड रुपैयाँको विद्युत विक्री गर्नेछ ।