काठमाडौं । मुलुक अहिले चुनावको संघारमा छ । देशभर चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरूले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरी चुनावमा होमिएका छन् ।
अधिकांश राजनीतिक दलहरूले घोषणापत्रमा आर्थिक विकास र पूर्वाधार निर्माण प्रमुख एजेन्डा बनाएका छन् । दशकौं अघिदेखि पूर्वाधार (सडक, पुल, विमानस्थल लगायत) निर्माणको सपना देखाउँदै भाट माग्दै आएका दलहरूले अहिले पनि सोही सपना बिकाउन लागि परेका छन् ।
राजनीतिक दलहरूले ठूला पूर्वाधार आयोजनालाई घोषणापत्रमा प्राथमिकतामा राखेका छन् । राष्ट्रिय गौरवका सडक, जलविद्युत्, विमानस्थल जस्ता आयोजना राजनीतिक दलको घोषणापत्रमा सजिएका छन् ।
यसअघि राजनीतिकदलहरूले अन्तर्राष्ट्रिय स्तरको सडक पूर्वाधार, आधुनिक पुल, सुरुङमार्ग, रेलमार्ग लगायतका सपना देखाएका थिए । हालसम्म ती कुने आयोजना सम्पन्न हुन सकेका छैनन् । केही कागजमै सीमति छन् । यद्यपि, सुरुङमार्ग, ४/६ लेन सडक निर्माण जस्ता केही आयोजना भने निर्माणधीन अवस्थामा छन् ।
दलहरू अहिले पनि विकासे एजेन्डा लिएर जनताको घरदैलोमा भोट माग्न पुगेका छन् । २०७४ को चुनावमा पनि सोही एजेन्डा लिएर गएका नेताहरू अहिले पनि उही विकासे सपना देखाउन जनताको घरदैलोमा पुगेका छन् ।
पछिल्लो ५ वर्षको अवधिमा दुई वटा सरकार फेरिए । दुवै सरकारले पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताउँछन् । राजनीतिक दलको भोट तान्ने अस्त्र बनेको सकड, पुल, विमानस्थल लगायत पूर्वाधार ५ वर्षमा कति बने त ? हामीले यहाँ चर्चा गरेका छौं ।
५४०३ किमी नयाँ सडकको ट्रयाक खुल्यो, ४ हजार किमी कालोपत्र
पछिल्लो ५ वर्षको अवधिमा ५ हजार बढी किलोमिटर नयाँ सडकको ट्रयाक खुलेको छ । अर्थमन्त्रालयको तथ्यांक अनुसार ५ हजार ४०३ किलोमिटर सडकको नयाँ ट्रयाक खुलेको हो । यस अवधिमा राष्ट्रिय गौरवका काठमाडौं तराई मधेश, द्रुतमार्ग, कर्णाली करिडोर, हुलाकी सडक, मध्यपहाडी राजमार्गदेखि स्थानीय स्तरसम्मका सडकको नयाँ ट्रयाक खुलेको हो ।
यस्तै, ५ वर्षको अवधिमा ४ हजार १३६ किलोमिटर सडक कालोपत्र भएको छ । स्थानीय, प्रदेशर संघीय गरी तिनै तहका सरकारले उक्त सडक कालोपत्र गरेका हुन् । सोही अवधिमा ४ हजार ४८७ किलोमिटर सडक ग्राभेल भएको छ भने १ हजार १८३ किलोमिटर सडक आवधिक मर्मत भएको छ ।
कुन वर्ष कति सडक निर्माण ?
आर्थिक वर्ष २०७८/७९ मा कुल १५५ किलोमिटर नयाँ सडक निर्माण भएको छ । सो वर्ष ३२५ किलोमिटर सडक कालोपत्र भएको थियो भने ९५ किलोमिटरमा आवधिक मर्मत गरिएको तथ्यांकले देखाएको छ । सो वर्ष २६५ किलोमिटर सडक ग्राभेल भएको छ ।
त्यसैगरी, आव २०७७/७८ मा कुल ४७२ किलोमिटर नयाँ सडक निर्माण भएको थियो । सो वर्ष ७३९ किलोमिटर सडक ग्राभेल गरिएको थियो । उक्त वर्ष १ हजार १९० किलोमिटर सडक कालोपत्र गर्नुका साथै ४२४ किलोमिटर सडकमा आवधिक मर्मत गरिएको थियो ।
त्यस्तै, २०७६/७७ मा कुल ३६५ किलोमिटर सडकको नयाँ ट्रयाक खुलाइएको थियो । सो वर्ष ७५७ किलोमिटर सडक ग्राभेल गरिएको थियो । ८२९ किलोमिटर सडक कालोपत्र भएको उक्त वर्ष ३६० किलोमिटर सडकमा आवधिक मर्मत गरिएको थियो ।
आव २०७५/७६ मा कुल ४४० किलोमिटर नयाँ सडक निर्माण गरिएको थियो । १ हजार ३६३ किलोमिटर सडकमा ग्राभेल गरिएको थियो । ९८८ किलोमिटर सडकमा कालोपत्र गर्नुका साथै ३३२ किलोमिटर सडकमा आवधिक मर्मत गरिएको थियो ।
आव २०७४/७५ मा कुल ९७१ किलोमिटर सडकमा नयाँ ट्रयाक खोलिएको थियो । सो वर्ष १ हजार ३१३ किलोमिटर सडकमा ग्राभेल गरिएको थियो । उक्त वर्ष ९०४ किलोमिटर सडकमा कालोपत्र गर्नुका साथै ३३२ किलोमिटर सडकमा आवधिक मर्मत गरिएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
५ वर्षमा बने झन्डै १ हजार पुल
गएको ५ वर्षको अवधिमा झन्डै १ हजार पुल पक्की पुल निर्माण भएका छन् । यस अवधिमा राष्ट्रिय गौरवका सडक, राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र स्थानीय सडकमा गरी उक्त संख्यामा पुल निर्माण भएका छन् ।
सडक विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि यता ९६६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने १ हजार बढी निर्माणाधीन अवस्थामा रहेका छन् । यस अवधिमा एकदेखि ४ लेनसम्मका पक्की पुल निर्माण भएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा २८२ वटा सडक पुल निर्माण भएको थियो । यस्तै, आव २०७७/७८ मा कुल १९२ वटा, २०७६/७७ मा कुल २१० वटा, २०७५/७६ मा २३० वटा र २०७४/७५ मा ८२ वटा पुल निर्माण सम्पन्न भएका थिए ।