५७ मेगावाटको म्याग्दी खोला जलविद्युतको लगानी जुट्यो, ५ संस्थाले ८ अर्ब लगानी गर्ने

काठमाडौं । हाइड्रो भिलेज प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको म्याग्दी खोला हाइड्रो पावर परियोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर भएको छ।

कुल १० अर्ब ७४ करोड लागत रहेको उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा ७० प्रतिशत लगानी रहनेछ। आयोजनाको प्रवदर्द्धक र ऋण लगानी बैंकहरूबीच सोमबार सम्झौता भएको छ ।

सम्झौता अनुसार आयोजनामा बैंकहरुले गर्न लागेको लगानी कुल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ।

कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक र कर्मचारी सञ्चय कोषले लगानी गर्नेछन्।

सम्झौतामा कम्पनीका तर्फबाट रामेश्वर थापा, नेपाल बैंकका तर्फबाट लक्ष्मण पौडेल, मेगा बैंकका तर्फबाट रामकाजी थापा, कृषि विकास बैंकका तर्फबाट सुदिप कुमार दाहाल, कर्मचारी सञ्चय कोषका तर्फबाट ठाकुर जंग थापा र नेपाल एसबिआई बैंकका तर्फबाट मनोज कुमार गौतमले हस्ताक्षर गरेका हुन्।

आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपूँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ।

आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ। यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीको रूपमा मलेसीयन कम्पनी एक्वा भेञ्चर्सको तथा स्वदेशी लगानीको रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेल समेतको स्वपूँजी लगानी हुने कम्पनीले जनाएको छ।

ऋण सम्झौताका अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए।

देशको आर्थिक समृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा यस कंसोर्टियमले म्याग्दी खोला जलविद्युत आयोजनासँग आवद्ध हुन पाउँदा गर्व महसुस भएको उनले बताए।

ऊर्जा डेभलपर्सका अध्यक्ष विजय बहादुर राजभण्डारीले ऊर्जाले रणनीतिक साझेदारीमा विश्वास गर्ने र हाइड्रो भिलेजसँगको आवद्धता यहि प्रतिवद्धताको अर्को चरण भएको बताए।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले विगत केही समयदेखि विश्वव्यापी रूपमै सिर्जना भएको तरलता अभाव तथा आर्थिक मन्दीका बाबजुद यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्रवर्द्धक कम्पनीको प्रतिबद्धताको प्रशंसा गरे।

आयोजनाबाट स्थानीय निकायहरूसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक सुशिल पोखरेलले बताए। उनले निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने जानकारी दिए।

कम्पनीका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवर्द्धकहरू सक्षम एवम् अनुभव प्राप्त संस्था तथा व्यक्तिहरू भएको हुँदा आयोजना समयमै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए।

आयोजना सम्पन्न भएपछि सुख्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ।

उत्पादित विद्युत आयोजनाको विद्युतगृहदेखि करिब १७ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको म्याग्दी जिल्लामै निर्माणाधिन १३२र३३ केभी डाँडाखेत सबस्टेस्नमा जोडिनेछ।

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने Read Previous

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

चुनावदेखि चुनावसम्म : बने १ हजार पुल, ४ हजार किमी सडक कालोपत्र Read Next

चुनावदेखि चुनावसम्म : बने १ हजार पुल, ४ हजार किमी सडक कालोपत्र