सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा, १ महिनाभित्र संचालनमा आउने

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।

सबस्टेसनका उपकरण जडान धमाधम भइरहेको छ । १३२, १३३ र १११ केभी सबस्टेसनमा ६३ एमभीएका दुई वटा, २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर रहने छन् ।

सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका सात र ११ केभीका चारवटा फिडर निकालिनेछन् । हाल सञ्चालनमा रहेका पूर्व–पश्चिम एक ३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझा लगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणधीन प्रसारण तथा वितरण लाइनका आयोजनाको प्रगति, आगामी दिनमा नपलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधार लगायतका विषयमा जानकारी लिएको छ ।

‘परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगलाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत् आपूर्ति दिँदा पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीबाट आउने गरेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहीँबाट विद्युत् आपूर्ति दिन थालेपछि सबै समस्या हट्ने र परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत् आपूर्ति दिन सकिने यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ भने प्राविधिक चुहावट पनि घट्ने विश्वास लिइएको छ ।

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल (भूमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ मा दुई सय २० र एक सय ३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म चार सय केभी क्षमताको प्रसारण लाइन बन्दै छ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिनेछ ।

प्राधिकरणले नयाँ बुटवल–बर्दघाट २२० केभी २१ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

उनले नवलपरासी, रुपन्देहीको दक्षिणी क्षेत्रमा आगामी दिनमा हुने विद्युत्को मागलाई सम्बोधन गर्न दीर्घकालीन योजनाअन्तर्गत हुलाकी राजमार्गको आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतिपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिने बताए ।

प्राधिकरणले योगीकुटी (बुटवल)बाट मैनहियासम्मको एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत् दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार आएको छ ।

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत् आपूर्ति दिइरहेको छ ।

मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत् दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएपछि उद्योगीहरुबाट गुनासो आउन छाडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युत्को भोल्टेजको सुधारका लागि दुईवटा क्यापासिटर बैंक राखिएको छ ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

भारततर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउने विश्वास लिइएको छ ।

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, लगातार पोजेटिभ सर्किट Read Previous

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, लगातार पोजेटिभ सर्किट

नेपालबाट नयाँ दिल्लीसम्म  एसी बस सेवा सञ्चालन, भाडादर कति ? Read Next

नेपालबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन, भाडादर कति ?