काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्दा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू गरेको छ।
बोर्डले बिहीबार धितोपत्र निष्काशन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागू गर्दै बजेटमा भएको कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।
बोर्डले गत भदौमै संशोधन गरेको उक्त निर्देशिका कात्तिक १७ गतेदेखि लागू गर्ने निर्णय गरेको हो । उक्त निर्देशिका लागू भएसँगै अब बैदेशिक रोजगारीमा गएका नेपालीहरूले आइपीओमा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ ।
जसअनुसार अब संस्थाले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आइपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्छ । यसरी छुट्याइएको आइपीओ भर्नका लागि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा वैदेशिक रोजगारमा गएकाले रेमिट्यान्स बचत खातामार्फत मात्र आइपीओको रकम भुक्तानी गर्नुपर्नेछ ।
सेयर निष्काशन गर्दा विक्री प्रबन्धकले सर्वसाधरणका लागि निष्काशन गर्नु १५ दिनअघि नै अवधि तोकेर आह्वान पत्र प्रकाशित गर्नुपर्ने हुन्छ।
लगानीकर्ताले सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नु पर्नेछ।
निर्देशिकामा भनिएको छ, ‘आवेदन गर्न विप्रषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धीत व्यक्तिले आफू रोजगारी रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ ।’
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आइपीओमा आवेदन दिएका नेपालीले सर्वसाधारणका लागि जारी गरेको आइपीओमा भने आवेदन दिन पाउने छैनन्।