अघि बढ्दै नयाँ बानेश्वरमा अन्डरपास निर्माण, डिजाइनका लागि कन्सलटेन्ट हायर गरिँदै

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अन्डरपास बनाउने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आवको बजेटमा कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास निर्माण गर्ने घोषणा गरेको थियो । सो अनुसार पहिलोचरणमा बानेश्वरको अन्डरपास निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।

नयाँ बानेश्वरमा अन्डरपास बनाउनका लागि डिजाइन तयार पार्न हाल कन्सलटेन्ट हायर गर्ने काम भइरहेको छ । अन्डरपासको डिजाइन बनाउनका लागि जीओकम होमल्याण्ड कार्डसँग सम्झौताको तयारी भइरहेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

केन्द्रका सिनियर डिभिजन इन्जिनीयर सौरभ बज्रचार्यले १ हप्ता भित्र कन्सलटेन्टसँग सम्झौता गरी डिजाइनको काम सुरू गरिने बताए । ‘कन्सलटेन्ट हायसको काम हुँदै छ, अब सम्झौता गरे पछि उसले डिजाइन सुरू गर्ने छ,’ उनले चाणक्य पोष्टसँग भने ।

उनका अनुसार डिजाइनका लागि १८ महिनाको समय दिइने छ । डिजाइन पूरा भएपछि सो डिजाइन हेरेर कमेन्टपछि २ साता फाइनल डिजाइनको लागि समय दिइने छ । उनले डिजाइन पूरा गर्न ४ महिना हाराहारी लाग्ने बताए ।
नयाँ बानेश्वरमा अन्डरपास बनाउनका लागि डिजाइन तथा सर्भेको तयारी भइरहेको हो । डिजाइन पछि निर्माणका लागि छुट्टै ठेक्का आह्बाने गरिनेछ ।

नयाँ बानेश्वरमा कलंकीको जस्तै अन्डरपास बन्ने छ । चालु आर्थिक वर्षभित्र अन्डरपासको डिजाइन पूरा गर्ने लक्ष्य रहेको छ ।

ट्राफिक व्यवस्थापनका लागि यो अन्डरपास निर्माण गर्न लागिएको हो । नयाँ बानेश्वरको संघीय संसद भवन अगाडि अन्डरपास बनाइने छ । यो वर्ष सर्भे गरेर डिजाइन तयार पार्ने र आगामी वर्षदेखि यसको निर्माण कार्य सुरू गर्ने सडक विभागको योजना छ । निर्माण सुरू भएको २ वर्षभित्रमा सम्पन्न गर्ने गरी योजना बनाइएको छ । सडक विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आह्वान गरिएको थियो ।

बानेश्वरको अण्डरपास हुबहु कलंकीको जस्तै बन्नेछ । तर कोटेश्वरको कस्तो बनाउने भन्ने निश्चित भइसकेको छैन । पर्यटन मन्त्रालयले विमानस्थल मुनिबाट अन्डरपास निर्माण गर्न नदिने भएकाले कोटेश्वरमा कस्तो शैलीको अण्डरपास बनाउने भन्नेमा अन्योल देखिएको हो ।

एउटा अण्डरपास बनाउनका लागि ७० देखि ८० करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । महाराजगंजमा समेत अन्डरपास बनाउने भएको छ । सो स्थानमा चक्रपथ विस्तारको क्रममा चिनिँया कम्पनीले आफै बनाउने छ ।

 

३ महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा Read Previous

३ महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

सानिमा बैंकको ५१ लाख कित्ता सेयर लिलामीमा, १४५ रुपैयाँमै किन्ने अवसर Read Next

सानिमा बैंकको ५१ लाख कित्ता सेयर लिलामीमा, १४५ रुपैयाँमै किन्ने अवसर