काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । ७ दिनपछि खुलेको नेप्से सोमबार दोहोरो अंकले बढेको हो ।
बैंकिङ समूहको सेयरमा लगानीकर्ता आकर्षित हुँदा नेप्सेमा बढोत्तरी आएको हो । चालु आवको पहिलो त्रैमासमा कर्जा लगानी गर्न नसके पनि बैंकहरुले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ता बैंकको सेयरमा झुम्मिएका हुन् ।
यस्तै, तुलनात्मक रुपमा अन्य समूहका कम्पनीभन्दा बैंकको सेयर मूल्य सस्तो हुँदा, अधिकांश बैंकहरुले अघिल्लो वर्षकोभन्दा लाभांशदर बढाएकाले पनि लगानीकर्ता बैंकको सेयरमा झुम्मिएका हुन् ।
सोमबार नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । यसदिन २२४ कम्पनीको ६९ करोड ७३ लाख रुपैयाँ बढीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल, अन्य र बैंकिङ समूह डेढ प्रतिशतले बढेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक ४ करोड र नबिल बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, नेपाल एसबीआ बैंक ८.२४, साइन रेसुंगा ७.०७, एनआइसी एशिया ६.८०, एभरेष्ट बैंक ५.५७, इमर्जिङ नेपाल ५.३७, मञ्जुश्री फाइनान्स, प्रभु बैंक र सेन्टर फाइनान्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।