‘हचुवा योजना’ बाहिरी चक्रपथ ३ दशकदेखि अन्योलमा, अब ‘रि-डिजाइन’ गर्नुपर्ने

काठमाडौं । झण्डै २९ वर्ष अघिदेखि चर्चामा आएको बाहिरी चक्रपथको निर्माण अझै अन्योलमा रहेको छ । सरकारको प्राथमिकतामा नपर्नु, बजेट सुनिश्चितता नहुनु, घना बस्ती विकास, मुआब्जा लगायत कारणले ३ दशकमा पनि आयोजना अघि बढ्न नसकेको हो ।

उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो । बाहिरी चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६/५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो ।

आर्थिक वर्ष २०६१/६२ को बजेट वक्तव्यमा ‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य प्रारम्भ गरिने बताइएको थियो । बजेट भाषण मार्फत घोषणा भएको यो आयोजना झण्डै २ दशक बित्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।

बाहिरी चक्रपथको डीपीआर २०६४ सालमा निर्माण भएको थियो । डीपीआर बनेको १५ वर्ष भइसकेको छ । यती लामो समयसम्म कुनै प्रकृया अघि नबढ्दा डीपीआर डिजाइन भएका स्थानहरू घरले भरिएका छन् ।

उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणका लागि डीपीआर ‘ एलाइमेन्ट रिभाइज’ गर्नु पर्ने जनाएको छ । हालसम्म यसका लागि कुनै प्रकृया भने सुरू गरिएको छैन । पुरानै डिजाइन् अनुसार अहिले बाहिरी चक्रपथ निर्माण असम्भव रहेको छ । घना बस्ती विकास भएको र जग्गाको भाउ समेत अचाक्ली बढेकाले मुआब्जाका लागि खबौं खर्चिनुपर्ने अवस्था सृजना भएको छ ।

हरेक सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेट्ने भए पनि घोषणा भएके ३ दशकसम्म मूर्त रुप लिन सकेको छैन । जनता भुलाउन तथा भोट फकाउनका लागि मात्रै घोषणा भएको यो आयोजना बन्छ बन्दैन अझै टुंगो छैन । केही वर्ष बाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले चासो देखाए पनि अहिले फेरि चासो देखाएको छैन् ।

मुआब्जा विवादले रोकियो चोभार–सतुंगलखण्ड विस्तार

उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माण आयोजनालाई गति दिने सोचका साथ चोभार–सतुंगलको ६.६ किलोमिटर खण्डमा चक्रपथ निर्माणको पहिलो काम अघि बढाउने बताइए पनि हालसम्म कुनै प्रकृया अघि बढ्न सकेको छैन ।

बाहिरी चक्रपथलाई सरकारले प्राथमिकतामा नराखेको आयोजना प्रमुख दिनेशकृष्ण पोतेले बताए । ‘आयोजना जहाको त्यही छ, छलफल भयो, हामीले प्रोजेक्ट देखाइसक्यौं । तर, कहाँ कहिले बनाउने केही निर्णय भएको छैन, बजेट छैन, के गरी अघि बढ्छ,’ पोतेले चाणक्य पोष्टसँग भने ।

चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको प्राधिकरणले जनाएको छ । उक्त क्षेत्रको जग्गा रोक्का, बजेट लगायतका विषयमा केही काम अघि बढेको छैन । आयोजनाका अनुसार सो खण्डमा करिब २२ सय घरको मुआब्जा दिनुपर्ने हुन्छ । त्यसका गागि १ अर्ब ३६ करोड रुपैयाँ हाराहारी खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।

यस खण्डमा निर्माण सुरू नहुनुका कारण समेत बजेट सुनिश्चित नहुनु रहेको प्राधिकरणको भनाइ छ । चोभार–सतुङगलमा सडक विस्तारका क्रममा जग्गा धनिको ७ देखि ९ प्रतिशत जमिन सडकमा पर्ने देखिएको छ । जग्गा एकीकरण विधिबाट काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख छ ।

‘हचुवामा योजना घोषणा गर्दा अघि बढ्न सकेन’

विस्तृत अध्ययन, स्रोत सुनिश्चितता बिनै आयोजना घोषणा गरिएकले हालसम्म काम अघि बढ्न नसकेको जानकारहरू बताउँछन् । पूर्वाधार विज्ञ राजेन्द्र अधिकारी उचित प्लानिङ र बजेट सुनिश्चिता बिना आयोजनाको अघि बढाउन खोज्दा कुनै पनि प्रगति हुन नसकेको बताउँछन् ।

उनले सरकारको अव्यवस्थित काम गर्ने शैलीकै कारण धेरै योजनाहरू सुरू हुनुअघि अलपत्र पर्ने गरेको बताए । उनले अब बाहिरी चक्रपथ निर्माण गर्न रिडिजाइनबाट सुरू गर्नुपर्ने बताए ।

‘सरकारको अव्यवस्थित काम गर्ने तरिकाले उपलब्धी केही हुन नसकेको हो, बिना प्लानिङ, बजेट सुनिश्चित नगरी भाषणको भरमा मात्र योजना बनाएर हुँदैन,’ अधिकारीले चाणक्य पोष्टसँग भने ‘यसको अब फेरि रि डिजाइन हुनुपर्छ, पुरानै डिजाइनमा निर्माण सम्भव छैन ।’

लामो समयदेखि बजेटको स्रोत सुनिश्चित गर्न नसक्दा यो आयोजना अन्योलमा परेको छ । उनले निर्माण सुरू गर्नु अघि साइट क्लियरेन्स ‘राइट अफ वे’, जग्गा प्राप्ती, समुदायसँगको समन्वयन राम्रो हुनु पर्ने बताए ।

 

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार Read Previous

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मस्कले लिए ट्वीटरको स्वामित्व, खरिद गरेसँगै सीईओ बर्खास्त Read Next

मस्कले लिए ट्वीटरको स्वामित्व, खरिद गरेसँगै सीईओ बर्खास्त