काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा ठूलो बैंक बन्ने लहड चलेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको छुट सुविधा र बैंकहरू आफ्नै स्वइच्छाले धमाधम मर्जरमा जान थालेका छन् ।
दुईवटा वाणिज्य बैंकहरू एक आपसमा मर्ज भएर अर्को बैंकभन्दा ठूलो बन्ने हाेड जारी छ । मर्जरबाट प्राप्त हुने सिनर्जीबाट बैंकहरू आफूलाई बैंकिङ क्षेत्रकै लिडर बनाउन प्रयासरत रहेका छन् । हाल १० वटा वाणिज्य बैंकहरू मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रिया सम्पन्न भएपछि ३ वटा बैंकको पूँजी कोषको आकार आधा खर्ब नाघ्ने छ ।
विगत एकदशक अघिसम्म नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गथ्र्यो ।
तर, पछिल्ला वर्षहरूमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको थियो । यद्यपि, अहिले इन्भेष्टमेन्ट बैंकको डुबेको केही ऋण असुल भइसकेको छ भने मेगा बैंकसँग मर्जर गरेर फेरि आफूलाई प्रतिस्पर्धामा उभ्याउने कोशिस गरेको छ ।
बीचका केही वर्ष नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । अधिकांश वित्तीय सूचकमा नबिल बैंकले ‘नम्बर १’को ताज पहिरिरह्यो । तर, पछिल्लो ३ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती हुन् आक्रमक व्यवसाय विस्तार नीति अगाल्दै अघि बढेको एनआइसी एशिया र बिग मर्जरको सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक ।
हाल चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमईले फेरि अर्को वाणिज्य बैंक ‘बैंक अफ काठमाण्डू’लाई आफूमा गाभेर झन् ठूलो बन्न लागेको छ । यस्तै, ग्लोब र नबिलको तुलनमा चुक्ता पूँजी आधा कम भए पनि एनआइसीले व्यपार, व्यवसाय, नाफा लगायत मुख्य सूचकमा यी दई बैंकलाई उछिन्न थालेको छ ।
अहिले बैंकङि क्षेत्रमा नम्बर वान बन्ने दौडमा निजी क्षेत्रका मुख्य गरी नबिल बैंक, एनआइसी एशिया र ग्लोबल आइएमइ बैंक रहेका छन् । वासलतका अधिकांश सूचकमा यी बैंकहरू बीच तीव्र प्रतिस्पर्धा रहेको छ । यद्यपि, ग्लोबल आइएमई चुक्ता पूँजीमा अगाडि भए पनि अन्य सूचकमा भने नबिल र एनआइसीभन्दा पछाडि छ ।
भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकको व्यवसायिक रणनीतिबाट प्रभावित रहेको एनआइसी एशियाले विगत २–३ वर्षमा लामो फड्को मारेको छ । एनआइसीले आक्रमक शाखा विस्तारसँगै रिटेल लेन्डिङलाई आफ्नो बलियो हतियार बनाएको छ । अहिले देशभर सबैभन्दा बढी शाखा संजाल एनआइसीकै छन् । देशभर करिब ३५९ शाखा छन् । साथै, डिजिटल बैंकिङमा पनि एनआइसीले उल्लेख्य काम गरेको छ । यही जगमा एनआइसी बैंकिङ लिडर बन्ने होडमा दौडिरहेको छ । र, बन्न सक्ने दाबी पनि वित्तीय सूचक मार्फत गरिरहेको छ ।
यस्तै, विगतदेखि नै बैंकिङ लिडरको रुपमा रहेको नबिलले गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेर फेरि आफू नै नम्बर वानको ताज जोगाउन प्रयासरत छ । पछिल्लो समय नबिलले पनि शाखा विस्तार र डिजिटल बैंकिङलाई आफ्नो रणनीतिक हतियार बनाउँदै लगेको छ ।
कुन सूचकमा को अब्बल ?
वर्षौंदेखि अग्रणी बन्दै आएको नबिल र पछिल्ला २र३ वर्ष यता नम्बर १ बन्ने होडमा दौडिएको एनआइसी बीच अहिले तीव्र प्रतिस्पर्धा देखिएको छ । यी दुई बैंक बीच को अग्रणी बन्ला, कसले बैंकिङ क्षेत्र लिड गर्ला त्यो भविष्यले नै बताउला ।

तर, चालु वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा भने नबिलले अझै आफ्नो वर्चश्व कायमै राखेको छ भने एनआइसीले कडा टक्कर दिन सफल भएको छ । वासलतमा प्रकाशन हुने मुख्य डेढदर्जन बढी वित्तीय सूचकमध्ये आधा सूचकमा नबिल र झन्डै आधा सूचकमा एनआइसीले नबिललाई पछि पारेको छ ।
सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने मुख्य सूचकहरू, खद नाफा वितरण योग्य नाफा, प्रतिसेयर आम्दानी जस्ता सूचकमा एनआइसी अगाडि छ भने रिजर्भ कोष, बुक भ्यालु, चुक्ता पूँजी लगायत सूचकमा नबिल बैंक नै अघि रहेको छ ।
पहिलो त्रैमासको वित्तीय विवरण अनुसार चुक्ता पूँजीका आधारमा नबिल एनआइसीभन्दा दोब्बरले अघि छ । नबिलको चुक्ता पूँजी २२ अर्ब ८३ करोड छ भने एनआइसीको ११ अर्ब ५६ करोड । रिजर्भ कोष (सेयर प्रिमिया र रिटेन्ड अर्निङ समेत)मा नबिल नै अघि छ । नबिलको रिजर्भमा ३० अर्ब ४३ करोड संचित छ भने एनआइसीकोमा १५ अर्ब २२ करोड छ ।
खुद नाफामा एन्आइसीले नबिललाई उछिनेको छ । असोज मसान्तसम्म एनआइसीले १ अर्ब ७५ करोड खुद नाफा कमाएको छ भने नबिलले १ अर्ब ५७ करोड कमाएको छ ।
यस्तै, कर्जा लगानी र निक्षेप संकलनमा पनि नबिल बैंक नै अगाडि रहेको छ । असोज मसान्तसम्म नबिलको निक्षेप र कर्जा दुवै ३ खर्ब माथि रहेको छ ।
प्रतिसेयर आम्दानीमा भने एनआइसी नबिलभन्दा निक्कै अघि रहेको छ । एनआइसीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ५९.६२ रुपैयाँ छ भने नबिलको प्रतिसेयर आम्दानी २७.५३ रुपैयाँ मात्रै छ ।
सेयर बजारमा नबिलकोभन्दा एनआइसीको सेयर मूल्य कम भएका कारण एनआइसीको मूल्य आम्दानी अनुपात पनि कम छ । नबिलको मूल्य आम्दानी अनुपात २९.३९ गुणा छ भने एनआइसीको १०.२३ गुणा छ ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ नबिल नै अघि छ । नबिलको २३३.२८ रुपैयाँ छ भने एनआइसीको २३१.६३ रुपैयाँ छ । खराब कर्जाको कुरा गर्दा नबिल बैंकको धेरै रहेको छ भने एनआइसी एशियाको सबैभन्दा कम रहेको छ । एनआइसीको ०.५९ प्रतिशत मात्र रहेको छ भने नबिलको २.३३ प्रतिशत रहेको छ ।
त्यस्तै, आधारदर भने नबिल बैंकको सस्तो रहेको छ । नबिलको आधारदर ९.४५ प्रतिशत मात्र रहेको छ भने एनआइसीको प्रतिशत रहेको छ ।
यसरी हेर्दा पछिल्लो समय एनआइसी एशिया र नबिल कडा प्रतिस्पर्धी मात्र नभएर लिडर बन्ने होडमा छन् । यी दुई बैंकहरू बीचको रोचक प्रतिस्पर्धा भने अबको भविष्यमा देख्न पाइने नै छ । यद्यपि, नबिल र एनआइसीलाई ग्लोबल र इन्भेष्टमेन्ट बैंकले पनि कडा टक्कर दिने देखिन्छ ।
नोट : प्रस्तुत तथ्यांक दुवै बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणबाट लिइएको हो ।