काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)मा वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य बढोत्तरी भएको छ । चालु आवको ३ महिनामा गत वर्ष वर्षको सोही अवधिको तुलनामा बैंकहरूको खुद नाफा ५.९४ प्रतिशतले बढेको हो ।
चालु आवको असोज मसान्तसम्म २६ वटा वाणिज्य बैंकहरूले कुल १८ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा १ अर्ब ५ करोड रुपैयाँ बढी हो । गत वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
पहिलो त्रैमासमा एउटा वाणिज्य बैंकले औसतमा ७२ करोड १४ लाख खुद नाफा कमाएको छ । गत वर्ष बैंकको औसत नाफा ६८ करोड ९ लाख रुपैयाँ थियो ।
तरलता अभावका कारण लक्ष्य अनुसार कर्जा विस्तार गर्न नसक्दा बैंकहरूको नाफामा सामान्य मात्र बढोत्तरी भएको हो । यद्यपि, कर्जा विस्तार गर्न नसके पनि ब्याजदर बढेकाले बैंकको नाफामा केही टेवा पुगेको छ ।
१४ बैंकको नाफा बढ्यो, १२ को घट्यो
पहिलो त्रैमसमा २६ वटा वाणिज्य बैंकहरूमध्ये १४ वटाको खुद नाफा बढेको छ भने १२ वटाको घटेको छ ।
अर्थतन्त्रमा सुधार नआउँदा ऋणीले समयमै ऋण तिर्न सकेका छैनन् । लगानी गरेको ऋण समयमै असुल हुन् नसक्दा बैंकहरूको प्रोभिजनिङ बढेकाले १दर्जन बैंकको खुद नाफामा गिरावट आएको हो । निक्षेप अभावमा एकतिर कर्जा लगानी नहुनु र अर्कोतर्फ बैंकको लागत वृद्धिले आम्दानी खुम्चिएको छ ।
पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । यसले गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८५ प्रतिशतले बढाउन सफल भएको छ । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआइ बैंकले पनि समान ६८ प्रतिशतले नाफा बढाएका छन् ।
समीक्षा अवधिमा सनराइज बैंकको खुद नाफामा भारी गिरावट आएको छ । गत वर्षको तुलनामा सनराइजको खुद नाफा ६१.५ प्रतिशतले घटेको छ । त्यस्तै, कृषि विकास बैंकको नाफा ५४.५, सिद्धार्थ ४७.५, मेगा ४४.३ प्रतिशतले घटेको छ ।
नबिललाई उछिन्दै एनआइसी बन्यो धेरै कमाउने बैंक
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यस बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले ४८.७९ प्रतिशतले बढाएको हो ।
दोस्रोमा नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । यस बैंकले समीक्षा अवधिमा खुद नाफा ४१.३ प्रतिशतले बढाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ११ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने गत वर्षको तुलनामा १८.६६ प्रतिशतले बढाएको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । यस बैंकले ६.९५ प्रतिशतले नाफा बढाएको छ ।
समीक्षा अवधिमा सनराइज बैंक सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ । ३ महिनामा सनराइजले जम्मा १६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।
६ बैंक अर्बपति क्लबमा
पहिलो त्रैमासमा ६ वटा बैंकले १ अर्ब बढी खुद नाफा कमाएका छन् । गत वर्ष पहिलो त्रैमासमा ५ वटा बैंक अर्बपति क्लबमा थिए ।
चालु आवमा एनआइसी एशिया, नबिल, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब बढी नाफा कमाएका हुन् ।
यस्तै, १३ वटा बैंकले ५० करोडदेखि ९० करोडको बीचमा खुद नाफा कमाएका छन् भने ८ वटाको नाफा ५० करोडभन्दा कम रहेको छ ।