सिभिल बैंकको नाफा ४२ प्रतिशतले बढ्यो, वितरण योग्य नाफा कति ?

काठमाडौं । सिभिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४२.२२ प्रतिशतले बढेको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकले ४१ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२ करोड बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमाससम्म २९ करोड १८ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफामा सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६१.९७ प्रतिशत बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ३८ प्रतिशत बढेर ५८ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

हाल ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ तथा सरप्लसमा २ अर्ब ४९ करोड संचित छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८६ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५५ अर्ब कर्जा लगानी गरेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँबाट बढेर १८.२९ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३६.९५ रुपैयाँ, खराब कर्जा १.४१ प्रतिशत, बेसरेट ११.०९ प्रतिशत र सीडी रेसियो ८६.८० प्रतिशत रहेको छ ।

कुमारी बैंकको खुद नाफा झन्डै दोब्बरले वृद्धि Read Previous

कुमारी बैंकको खुद नाफा झन्डै दोब्बरले वृद्धि

बैंकिङ प्रणलीमा तरलता सहज हुन थालेको हो ? Read Next

बैंकिङ प्रणलीमा तरलता सहज हुन थालेको हो ?