काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५६.४६ प्रतिशतले बढेको छ ।
चालु आवको असोज मसान्तसम्म बैंकले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ करोड बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमाससम्म २४ करोड २० लाख खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेर ६५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ५६.४६ प्रतिशत बढेर ५४ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
हाल २२ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ११ करोड संचित छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकले ३९ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ३२.६९ प्रतिशत र कर्जा २६१.६३ प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २.१७ रुपैयाँ बढेर ७.०१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०९.७८ रुपैयाँ छ ।