बढ्यो फूलको खपत : महँगियो मालाको मूल्य, यस्तो छ बजार भाउ

काठमाडौं । तिहारलाई फूलैफूलको पर्वको रूपमा लिइन्छ । तिहारमा फूलले घर, मन्दिर सजाउने गरिन्छ । तिहारमा फूलको महत्व धेरै नै हुने गर्छ । तिहारमा विशेष गरी सयपत्री, मखमली र गोदावरी फूलको धेरै प्रयोग हुने गर्छ ।

तिहारकै लागि मान्छेहरूले आफ्नो घर बगैँचामा सयपत्री फूल र मखमली फूल रोप्ने गर्छन । र त्यही फूल बजारसम्म आउने गर्छ । हाल असनका बजारहरू फूलैफूलले भरिएको छ । कतै सयपत्री त कतै मखमली फूलका रंगले डकमक्क फूलेको असन बजारमा फूल किन्ने र बेच्नेको घुइँचो उति नै छ ।

विगतका २ वर्षको तुलनामा यस वर्ष फूलको माग बढेको छ । अघिल्ला दुई वर्षको तुलनामा यस वर्ष कोरोना प्रभाव नगन्य रहेकाले बजारमा फूलको माग बढेको हो ।

कोरोना प्रभाव कम हुँदा आम मानिसदेखि, पसल, ठूला व्यापारिक कम्प्लेक्ससम्मले सजावट गर्दा फूलको माग बढेको छ । फूलको माग बढेसँगै मूल्य पनि वृद्धि भएको छ ।

बजारमा माग अनुसार फूल उपलब्ध नहुँदा मालाको मूल्य गत वर्षको तुलनामा २० प्रतिशतसम्म बढेको व्यवसायीहरू बताउँछन् । गत वर्ष ६० देखि १२० रुपैयाँसम्म रहेको सयपत्री फूलको माला यसवर्ष ८० रुपैयाँ देखि १५० रुपैयाँसम्म पुगेको छ ।

त्यस्तै, गत वर्ष ४० देखि ६० रुपैयाँ रहेको मखमली फूलको मालाको मूल्य यस वर्ष ६० रुपैयाँदेखि ७५ रुपैयाँसम्म रहेको छ । खुद्रा बजारमा मालाको मूल्य योभन्दा बढीमा कारोबार भइरहेका छ ।

असनमा फूल विक्री गरिरहेकी रेवती ढकाल फूलको मूल्य बढेर आएकोले महँगो भएको बताउँछिन् । उनले गत वर्षकोभन्दा यो वर्ष फूलको मूल्य बढेर आएको बताइन् । ‘फूलको मूल्य बढेर आएको छ, हामीले पनि अरूबाटै किनेर बेच्ने हो, अलिअलि नाफा खाएर बेच्नै पर्यो,’ ढकालले चाणक्य पोष्टसँग भनिन् ।

फ्लोरिकल्च एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङ वर्षेनी फूलको उत्पादन बढ्दै गएको बताउँछन् । उनले वर्षेनी १० प्रतिशतले बजारमा सय पत्री फूलको माग वृद्धि भएसँगै फूल उत्पादन समेत वृद्धि भएको बताए हुन् ।

उनका अनुसार यो वर्षको तिहारमा मखमली फूलको थोक मूल्य ४० रुपैयाँ प्रतिमाला रहने छ । सयपत्री फूलको मालाको थोक मूल्य यो वर्षको तिहारमा ५५ रुपैयाँ पर्ने उनले बताए ।

‘मालाको थोक मूल्य यो वर्ष मखमली ४० र सय पत्रीको ५५ रुपैयाँ तोकेका छौं, खुद्रामा कति पर्छ त्यो बजारमा पुगे पछि थाहा हुन्छ,’ तामाङले चाणक्य पोष्टसँग भने ।

गत वर्षको तिहारमा करिब १८ लाख १५ हजार व्यावसायीक सयपत्री फूलको माला खपत भएको थियो । अघिल्लो वर्ष खपत भएको तुलनामा यस वर्ष समग्रीमा १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुमान गरिएको छ । यस वर्षको तिहारमा २० लाख सयपत्री, ४ लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला गरी करिब २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको छ ।

प्लास्टिकका फूल पूर्ण प्रतिबन्ध

सरकारले प्लास्टिकजन्य फूलरमाला प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले गत ४ साउनमा वातावरण संरक्षण ऐन अनुसार राजपत्रमा सूचना प्रकाशित गरेर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो ।

त्यसो भएता पनि चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै ९२ लाख १८ हजार मूल्य बराबरको प्लास्टिकका फूल तथा माला आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्य बराबरको २८ हजार ६८५ किलो प्लास्टिकका माला नेपाल भित्रिएका हुन् ।

असनका बजारमा कृतिम फूल तथा मालाहरू विक्रीमा राखिएका छन् । व्यवसायीहरू चाडपर्वको मुखमा आएर प्लास्टिकका फूल/माला विक्रीमा रोक लगाउनु नहुने बताउFछन् । असनमा प्लास्टिकका फूल तथा माला विक्री गर्न बसेका मुना यादव प्लास्टिकका फूल माला आइरहेको र विक्री गरिरहेको बताउँछन् । उनले प्लास्टिकका फूल मालाको प्रतिबन्ध सम्बन्धी केही थाहा नभएको बताए ।

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्दै छ चासो ? Read Previous

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्दै छ चासो ?

कोर्नका नयाँ स्मार्टवाच र इअरबड्स नेपाली बजारमा Read Next

कोर्नका नयाँ स्मार्टवाच र इअरबड्स नेपाली बजारमा