दोलखा । मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो ।
वार्षिक १ करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए।
मेलुङ गाउँपालिका–३ को भुमेस्थान, काँडे, बाटुले, वडा नं ४ को फुर्के सल्ला, तीतेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङ्थली तथा वडा नं ५ को दुधिले, भञ्ज्याङ, कल्छे, डाँडाखर्क र कात्तिकेमा अत्यधिक मात्रामा वर्षे आलु उत्पादन हुन्छ । “व्यवस्थापन तथा बजारीकरणका लागि आलु महोत्सव महत्वपूर्ण बन्ने छ”, श्रेष्ठले भने ।
यसैगरी मेलुङ–१ को पवटी, वडा नं २ को सुकाठोकर, वडा नं ४ को धनुके र थामीडाँडा, वडा नं ७ को ज्यामिरे, गर्भे र सितली, वडा नं ६ को सिम्रास र निकासीमा हिउँदे मौसमी आलु उत्पादन हुने गरेको गाउँपालिकाका प्रमुख श्रेष्ठ बताउँछन् ।
दुई दिनसम्म सञ्चालन हुने आलु महोत्सवले मेलुङ गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने, प्राङ्गारिक आलु उत्पादनमा टेवा पुग्ने, आलु उत्पादन हुने स्थानमा परम्परागत तथा आधुनिक भण्डारण निर्माणमा सहयोग पुग्ने, सामूहिक खेती प्रणालीको शुरुआत हुने, व्यावसायिक पशुपालन कार्यक्रम प्रवद्र्धन हुने, आलुको ग्रेडिङ, लेभलिङ र प्याकेजिङमा सहयोग पुग्ने, निजी, सरकारी र सहकारीको सहयोगमा गाउँपालिका बाहिरसमेत बिक्री केन्द्र स्थापना हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले बताए ।
कात्तिक १ र २ गते सञ्चालन हुने सो महोत्सवको अवसरमा विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, आलुको विभिन्न परिकारको कक्ष, मौसमी तथा बेमौसमी तरकारीको कक्ष र मेलुङ गाउँपालिकाको विभिन्न ठाउँका तस्बीरको प्रदर्शन गरिने वडा ३ का अध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता थोकरले बताए ।
गाउँपालिकाका अधिकांश बासिन्दा कृषिमा निर्भर रहेको र वर्षा याममा आलु अत्यधिक उत्पादन हुने भए पनि भण्डारण तथा बजार व्यवस्थापनको समस्याले कृषक समस्यामा पर्ने भएकाले मेलुङ आलु महोत्सवको आयोजना गरिएको बताउँछन् । महोत्सवले आलुको भण्डारण, बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नसक्ने गाउँपालिकाको अपेक्षा रहेको थोकरले बताए ।रासस