काठमाडौं । असोज ४ गते (शुक्रबार) एकैदिन नेप्सेमा सूचीकृत ३ कम्पनीको लाभांश पारित भएको छ । शुक्रबार गुराँस लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक इन्टरनेशनल र रुरु जलविद्युत् कम्पनीको लाभांश पारित भएको हो ।
शुक्रबार सम्पन्न तिनै कम्पनीको साधरण सभाले गत वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गरेका हुन् ।
सिटिजन्स बैंकले गत आवको मुनाफाबाट घोषणा गरेको ९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । बैंकले सभा प्रयोजनका लागि असोज २८ गते बुक क्लोज गरेको थियो । सो अनुसार असोज २७ गतेसम्म कायम सेयरधनी उक्त लाभांश पाएका छन् ।
त्यसैगरी, गुराँस लाइफ इन्सुरेन्सको सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद गरी ७.८३ प्रतिशत लाभांश पारित गरेको हो ।
गुराँसले सभा प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गरेको थियो । सो अनुसार असोज २५ गतेसम्म कायम रहने सेयरधनीले उक्त लाभांश पाएका छन् ।
त्यस्तै, रुरु जलविद्युतको साधारण सभाले गत आवको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत गरी १०.५३ प्रतिशत लाभांश पारित गरेको हो ।
रुरुले सभा प्रयोजनका लागि असोज २७ गते बुकक्लोज गरेको थियो । सो अनुसार असोज २६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाएका छन् ।