काठमाडौं । आज (असोज ४ गते) नेप्सेमा सूचीकृत ३ कम्पनीको साधरण सभा बस्दैछ । आज गुराँस लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक इन्टरनेशनल र रुरु जलविद्युत् कम्पनीको साधरण सभा सम्पन्न हुँदैछ ।
साधरण सभा डाकेका तिनै कम्पनीले गत वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्ने मुख्य प्रस्ताव सभामा लैजाँदैछन् ।
सिटिजन्स बैंकको सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा हुँदैछ । बैंकले उक्त सभाबाट गत वर्षको नाफाबाट घोषणा गरेको ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ ।
बैंकले सभा प्रयोजनका लागि असोज २८ गते बुक क्लोज गरेको थियो । सो अनुसार असोज २७ गतेसम्म कायम सेयरधनी उक्त लाभांश पाउने छन् ।
त्यसैगरी, गुराँस लाइफ इन्सुरेन्सको सभा कम्पनीको प्रधान कार्यालय, तीनकुने, काठमाडौंमा बस्दैछ । कम्पनीले सभामा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद गरी ७.८३ प्रतिशत लाभांश प्रस्ताव लैजाँदै छ ।
गुराँसले सभा प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गरेको थियो । सो अनुसार असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
यस्तै, रुरु जलविद्युतको साधारण सभा बानेश्वर ब्यांक्वेट, नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछ ।
रुरुले सभा प्रयोजनका लागि असोज २७ गते बुकक्लोज गरेको थियो । सो अनुसार असोज २६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् ।