काठमाडौं । जलवायु परिवर्तनको असर नेपालको कृषि क्षेत्रमा बढ्दो क्रममा रहेको छ । परम्परगता खेतीप्रणाली अपनाउँदै आएको नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनबाट निम्तिएका प्राकृतिक प्रकोपको सिकार बन्न थालेको हो ।
आधनुनिक खेती प्रणालीमा बाली सुरक्षाका लागि अनेक उपाय अपनाइने भए पनि परम्परगत खेती प्रणालीमा केही हुँदैन । नेपालको कृषि मौसममै निर्भर रहेकाले मौसम प्रतिकूल हुने बित्तिकै ठूलो नोक्सानी बेहोर्नु परेको छ ।
यसका पछिल्लो उदाहरण हो वर्षाका कारण भित्र्याउने बेलाको धानबाली खेतमै कुहिनुपरेको । गत वर्ष र यस वर्ष धान भित्र्यिाउने बेला परेको भारी वर्षका कारण कृषले लगाएको धान खेतमै कुहिन पुग्यो । बेमौसमी वर्षाले गत वर्ष झन्ड ७ अर्ब बढीको धानबाली नस्ट भएको थियो ।
पछिल्ला केही वर्ष यता मौसममा परिवर्तन आएको छ । मनसुन सुरु हुने बेलामा खडेरी पर्न थालेको छ भने धान भित्र्याउने बेला भारी वर्षा हुने गरेको छ । खडेरीका कारण कृषकले बाली नै लगाउनै नपाउने अवस्था सृजना हुँदै गएको छ । त्यस्तै, अति वर्षाका कारण आउने बाढी, असिनापानीले पनि कृषि क्षेत्रमा ठूलो नोक्सानी पुर्याँदै आएको छ ।
जलवायु परिवर्तनका कारण मौसममा हुने फेरबदलले नेपालको कृषि क्षेत्रमा ठूलो असर पुर्याए पनि सरकारले त्यसको क्षतिबाट बच्ने उपायबारे कृषकलाई सचेत र जानकारी गराएको पाइँदैन । कृषकहरु पनि बाली बीमा प्रति आकर्षित नहुँदा क्षति न्यूनीकरण गर्न चुकेका छन् ।
खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारी नेपालमा हाल कायम कृषि प्रणाली असफल हुँदै गएको बताउँछन् । उनले पछिल्ला वर्षहरुमा हुँदै गएको जलवायु परिवर्तनले नेपालको कृषि प्रणालीमा ठूलो धक्का दिएको बताए ।
‘हाम्रो खेती प्रणाली फेल हुँदै गएको छ । यो मोडलबाट अघि बढ्न सकिँदैन, यसलाई पूर्ण रूपमा परिवर्तन गरेर अघि बढ्नु पर्छ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ‘बीउ आयात, कृषि औजार आयात, मल आयात, सबै आयातको भरमा नेपालमा कृषिलाई व्यवसायिक बनाउँछु भनेर हुन्न ।’
विश्वव्यापी रुपमा भएको जलवायु परिवर्तनले पार्न सक्ने असरको पूर्वअध्ययन गरी सरकारले सोही अनुसार खेती प्रणाली अपनाउनु पर्ने उनको भनाइ छ । नेपाली कृषिमा सुधार ल्याउन सरकारले स्थानीय तहसम्मै छलफल गरेर कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
उनले प्रकृति मैत्री नीति ल्याउन र त्यसै अनुसार नेपालको कृषि क्षेत्रलाई टिकाइ राख्न सरकारले अब आउने समयमा भूमिका खेल्नु पर्ने बताए । जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा परेको असरले खाद्य संकट निम्तिने खतरा बढ्दै गएकको उनले बताए ।
कृषि प्रणाली सुधार्न केही नीतिको अभाव छ
कृषि विभागका उपमहानिर्देशक हरिबहादुर केसी नेपालको कृषि प्रणालीमा सुधार ल्याउन नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने बताउँछन् । नीतिगत व्यवस्थाकै कारण कृषिमा अघि बढ्न नसके पनि प्रणाली नै फेल भयो भन्न नहुने उनको भनाइ छ ।
‘हाम्रो व्यवसायिक कृषि प्रणाली फेलै भएको हैन, त्यसमा केही परिवर्तन चाहिँ आवश्यक परेको हो, त्यसमा सरकार आफ्नो तहबाट लागि रहेको छ,’ केसीले चाणक्य पोष्टसँग भने ।जलवायु परिवर्तनका कारण खेती गर्ने र भित्र्याउने समयमा असर पर्न थालेको उनले बताए ।
सरकारले व्यवसायिक खेतीका लागि चक्लाबन्दीको प्रणाली ल्याएको थियो । जस अनुसार हरेक प्रदेशमा जमिन चक्लाबन्दी गरी व्यवसायिक खेती गर्न प्रयोग गरिने रणनीति अपनाइएको थियो । त्यसपछि व्यवसायिक खेतीलाई प्रोत्साहन गर्दै सरकारले भूमि बैंकको समेत कुरा उठाएको थियो । तर, यी सबै नीति कार्यान्वयनमा भने आउन सकेको छैन ।
देशभर कुल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफल कृषियोग्य रहेको छ । सोमध्ये १० लाख ३० हजार हेक्टर जमिन खेतीयोग्य जमिन बाँझो छ ।
देशभर वर्षेनी १४ लाख हेक्टर बढि क्षेत्रफलमा धान रोपाइ हुँदै आएको छ । देशमा मकै ८ लाख हेक्टर, गहुँ ७ लाख हेक्टर, कोदो २ लाख हेक्टर, फापर२१ हजार हेक्टर र भटमास १३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाएको छ ।
यस्तै नेपालमा क्यास क्रपको रूपमा तेलहन तर्फ २ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको छ । आलु १ लाख ९८ हजार हेक्टरमा उत्पादन हुँदै आएको छ । उखु ६४ हजार हेक्टरमा उत्पादन हुन्छ । तेल र आलुको क्षेत्रफल बढे पनि उखुको क्षेत्रफल भने घटेको तथ्यांकले देखाएको छ ।
कृषि विज्ञहरु भने खेती सिस्टम किसानको हातबाट नहट्ने गरी नीति तयार पार्नुपर्नेमा जोड दिन्छन् । नीतिमा भएको कुरा भूगोलमा नमिल्ने भन्दै एक विज्ञले भुगोल अनुसार कृषि प्रणाली र नीति बन्नु पर्ने बताए ।