काठमाडौं । नासा सेक्युरिटिज (सेयर ब्रोकर नं. ५८ )ले लगानीकर्तालाई सेयर किन्न ऋण दिने (मार्जिन) सुविधा सुरु गरेको छ । कम्पनीले बिहीबारदेखि उक्त सेवा सुरु गरेको हो ।
हाल संचालनमा रहेको ५० वटा ब्रोकरमध्ये नासा मार्जिन सुविधा दिने पहिलो ब्रोकर बनेको छ । नेप्सेले २०७५ मा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि लागू गरेको थियो । उक्त कार्यविधि समयसापेक्ष नभएको भन्दै ब्रोकरहरुले संशोधन गर्न माग गरेका थिए । सोही अनुसार नेप्सेले गत वैशाखमा उक्त कार्यविधि संशोधन गरेपछि नासाले मार्जिन सुविधा सुरु गरेको हो ।
नासा सेक्युरिटिजले मार्जिक कारोबार सम्बन्धी २ प्रकारका योजनाहरु ल्याएको जनाएको छ । पहिलो योजना अनुसार १० लाखसम्मको पोर्टफोलियो भएका लगानीकर्तालाई ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् ।
यो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क ९ हजार ९९९ मात्र लाग्ने कम्पनीले जनाएको छ । यो भनेको २० प्रतिशत ब्याज बराबर हो ।
दोस्रो योजना अन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क २१ हजार ५८ रुपैयाँ लाग्नेछ ।
कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने जनाएको छ ।