काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार घटिरहेको छ । २०७८ भदौमा इतिहासकै सर्वाधिक ३२०० विन्दु छोएको नेप्से त्यसयता लगातार घटेर अहिले १८०० विन्दुको वरिपरी घुमिरहेको छ ।
पछिल्लो १ वर्षको अवधिमा नेप्से करिब १३०० अंकले घटिसकेको छ भने घट्ने क्रम अझै रोकिएको छ । नेप्से लगातार घटेसँगै सूचीकृत कम्पनीहरूको सेयर मूल्य पनि १ वर्ष यताकै सस्तो मूल्यमा आएको छ ।
नेप्सेमा विभिन्न १३ समूहका २४० बढी कम्पनी सूचीकृत छ । सोमध्ये हाइड्रोपावर र वाणिज्य बैंकहरूको सेयर सबैभन्दा सस्तो छ । तुलनात्मक रूपमा उत्पादनमूलक कम्पनी, माइक्रोफाइनान्स, बीम कम्पनी, फाइनान्स कम्पनीको सेयर मूल्य धेरै रहेको छ ।
सूचीकृत कम्पनीमध्ये हाइड्रोपावर र वाणिज्य बैंकको सेयर सबैभन्दा सस्तो रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा सस्तो सेयर मूल्य हुने अधिकांश कम्पनीहरू हाइड्रोपावर समूहकै छन् ।
नेप्सेमा सूचीकृत ५९ वटा हाइड्रोपावर मध्ये झन्डै १ दर्जन कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छन् । नेप्सेमा सूचीकृत कम्पनीमध्ये हाइड्रोपावरको सबैभन्दा महँगो सेयर मूल्ल रुरु जलविद्युत्को ७७५ रुपैयाँ छ ।
गत भदौमा नेप्सेले कीर्तिमान बनाउँदा हाइड्रोको सेयर ४०० रुपैयाँ मुनि पाउनै मुस्किल थियो । धेरै चलखेल हुने हाइड्रोको सेयर मूल्य बिना आधरै ह्वात्तै बढ्ने र घट्ने गरेका छन् । तुलनात्मक रूपमा अन्य समूहका कम्पनीकोभन्दा हाइड्रोपावरहरूको वित्तीय अवस्था कमजोर छ । सूचीकृत ५९ कम्पनीमध्ये आधाबढी घाटामा छन् ।
वित्तीय अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीको सेयर भाउ घट्दो बजारमा लगातार घटेको हो । केही कम्पनीको सेयर मूल्य १ वर्षको अवधिमै ४ गुणाले समेत घटेको छ ।
यी हुन् २०० रुपैयाँभन्दा कममा किन्न पाइने हाइड्रोको सेयर
नेप्सेमा सूचीकृत ५९ वटा हाइड्रोपावर मध्ये झन्डै १० कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । जसमा दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा सस्तो अर्थात् प्रतिकित्ता १६८ रुपैयाँ छ ।
यसैगरी, खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रोपावरको सेयर मूल्य १७० रुपैयाँदेखि १८० रुपैयाँसम्म छ ।
त्यस्तै, नेशनल हाइड्रोपावरको सेयर मूल्य १९० रुपैयाँभन्दा कम छ । झन्डै ३ दर्जन कम्पनीको सेयर मूल्य २०० देखि ३०० रुपैयाँ बीचमा छ । ५९ हाइड्रोपावर कम्पनीमध्ये रुरु र माउन्टेन इनर्जीको मात्रै सेयर मूल्य ५०० रुपैयाँ माथि छ ।