निगमलाई पेट्रोलमा लिटरमै १४.५६ रुपैयाँ नाफा, भन्छ-‘पुरानो घाटा धेरै छ भाउ घट्दैन’

काठमाडौं । पेट्रोलमा प्रतिलिटर १४.५६ रुपैयाँ नाफा भए पनि नेपाल आयल निगमले तत्काल भाउ नघटाउने भएको छ । अहिले नाफा भए पनि विगतमा धेरै नोक्सानी भएको भन्दै निगमले मूल्य नघटाउने भएको हो ।

निगमले एक सूचना जारी गर्दै इन्डियन आयल कर्पोरेशन, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई गरी ३३ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी रहेको भन्दै भाउ नघटाउने जानकारी गराएको छ ।

असोज ३० गते (आइतबार) आइओसीबाट प्राप्त नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा उच्च नाफा रहेको छ ।

निगमलाई पेट्रोलमा प्रतिलिटर १४.५६ रुपैयाँ, मटितेलमा ३८.५८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ४०.७८ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ९०.९८ रुपैयाँ नाफा छ । यी वस्तुमा उच्च नाफा रहे पनि सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन गर्न नसकनिे निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर लागत १६६.४४ रुपैयाँ छ भने विक्री मूल्य १८१ रुपैयाँ रहेको छ । आगामी १५ दिनमा पेट्रोमा मात्रै ३६ करोड नाफा हुनेछ । त्यस्तै, आन्तरिक हवाई इन्धन विक्रीबाट ११.१५ करोड र अन्तर्राष्ट्रियतर्फ ४७.७० करोड नाफा हुनेछ ।

निमगलाई डिजेल र खाना पकाउने ग्यासमा भने नोक्सानी रहेको छ । डिजेलमा प्रतिलिटर ६.३४ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

२० महिनादेखि लगातार घाटामा रहेको निगम गत महिनादेखि नाफामा जान थालेको छ । आगामी १५ दिनमा समग्रमा ३९ करोड ९३ लाख नाफा हुने निगमको भनाइ छ ।

तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो Read Previous

तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो

पोखरा हरित यातायातमा कोरियाको सहयोग, ८४ रुटको १२८६ स्थानमा बस स्टप निर्माण गरिने Read Next

पोखरा हरित यातायातमा कोरियाको सहयोग, ८४ रुटको १२८६ स्थानमा बस स्टप निर्माण गरिने