विश्व अर्थतन्त्रमा मन्दी आएकै हो ?

काठमाडौं । कोभिड महामारीको संकटबाट तंग्रिन नपाउदै विश्व अर्थतन्त्रले अर्को समस्याको सामना गरिरहेको छ । गत फेब्रुअरीदेखि जारी रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय इन्धन संकट, मूल्यवृद्धि र खाद्यान्न अभावको सामना गर्नुपरेको हो ।

विश्व शक्ति राष्ट्र रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेपछि राजनीतिक धु्र्रवीकरण मात्र नभएर संसारको आपूर्ति प्रणाली प्रभावित पारेको छ ।

पश्चिमा मुलुकहरूले रुसमाथिको प्रतिबन्ध कायम राखेका छन् भने विश्वको तेस्रो ठूलो तेल निर्यातकर्ता रुसले मूल्य बढाउने र युरोपमा आपूर्ति रोक्ने रणनीति अपनाएको छ । जसको कारण कमजोर आर्थिक अवस्था भएका देशहरू यस संकटमा पिसिएका छन् ।

महामारीले संकूचन बनाएको आर्थिक वृद्धि पनि निके खुम्चिने भएको छ । उत्पादनमा हुने कटौती, व्यापारमा प्रभाव र इन्धन संकटले अर्थतन्त्रको वृद्धिदर धेरै देशहरूको ऋणात्मक रहने अन्तर्राष्ट्रिय संस्थाहरूको प्रक्षेपण छ ।

युद्धका कारण विकसित देशहरूले पनि महंगी र उर्जा संकटको सामना गरिरहेका छन् । कोभिड र राजनीतिक संकटमा परेका कतिपय देशहरू टाट पल्टीएका छन् । महामारीले पर्यटन व्यवसाय ठप्प बनाउनका साथै सरकारका गलत नीतिले श्रीलंका अहिले गहिरो आर्थिक संकटमा फसेको छ ।

पाकिस्तान पनि सोही बाटोमा अग्रसर रहेको अर्थशास्त्रीहरूले बताइरहेका छन् । उत्पादनमा आउने गिराव, अस्थिर विश्व राजनीति तथा द्धन्द्धले विश्वको आर्थिक चक्र खलबल्याएको मात्र छैन् कतिपय देशहरूको अवस्था नराम्रोसँग बिग्रिएको छ ।

अहिले एकसय डलरको हाराहारीमा कच्चा तेलको मूल्य पुगेको छ । ओपेकले तेल उत्पादन कटौतीको निर्णय गरेको छ । जसको कारण लागतवृद्धि भएर आयातमुखी अर्थतन्त्र भएका देशहरूका लागि झन समस्या पर्नेछ ।

खस्कँदो विश्व आर्थिक वृद्धि

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले विश्व आर्थिक वृद्धिमा ह्रास आउने प्रक्षेपण गरेको छ । सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ६ प्रतिशत रहने, अमेरिकाको ५.७ युरोपमा ५.२ मध्यपूर्व र मध्ये एसियाको ४.५ प्रतिशत रहने आइएमइफको प्रक्षेपण थियो । यस अवधिमा एसियाका उदयमान र विकासशिल देशको जीडीपी (कुल गार्हस्थ उत्पादन) ७.२ प्रतिशत रहने कोषको आकलन गरेको थियो ।

विश्व आर्थिक वृद्धि २०२२ मा ३.२ प्रतिशतमा सीमित रहने प्रक्षेपण छ भने अमेरिका १.६, युरोप ३.१, एसियाको वृद्धिदर ४.४ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ ।

२०२३ मा समग्र विश्व अर्थतन्त्र झनै ओरालो लाग्ने अनुमान आइएमएफको छ । आगामी वर्ष विश्वको जीडीपी २.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यस अवधिमा अमेरिका १ प्रतिशत, युरोप ०.५,मध्यपूर्वि एसिया ३.६, एसियाका विकासशील देशहरूको ४.९, ल्याटिन अमेरिका १.७ र अफ्रिकाको वृद्धिदर ३.७ प्रतिशतमा खुम्चने आइएमएफको प्रक्षेपण छ ।

२०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत र चीनको ३.२ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका छन् । चरम आर्थिक संकटमा फसेको श्रीलंकाको आर्थिक वृद्धि ऋणात्मक रहेको छ । यस अवधिमा श्रीलंकाको वृद्धिदर ८.७ प्रतिशत ऋणात्मक रहने अनुमान छ ।

यसैगरी, यस वर्ष रुसको ३.४ प्रतिशत ऋणात्मक रहने आइएमइफको प्रक्षेपण छ ।

महंगीको उकालो रफ्तार

सन् २०२२ मा विश्वको मूल्यवृद्धि ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आइएमएफका अनुसार २०२१ मा ४.७ प्रतिशत रहेको विश्व मुद्रास्फ्रीती २०२२ मा दोब्बर हुनेछ । त्यसपछि क्रमश घट्दै जाने र २०२५ मा ३.६ प्रतिशतको आसपासमा रहने अन्तर्राष्ट्रिय आर्थिक निकायहरूले जनाएका छन् ।
यस अवधिमा नेपालमा ६.२,भारतमा ६.९ चीनमा २.२,जापानमा २ प्रतिशको आसपासमा रहने मूल्यवृद्धिको प्रक्षेपण गरिएको छ ।

श्रीलंकामा ४८.२ प्रतिशतको हाराहारीमा मुद्रास्फ्रीती पुगेको छ भने पाकस्तिानमा १२ प्रतिशतसम्म पुग्ने अनुमान छ । २०२२ मा अमेरिकाको ८.१ र रसियामा १३.८ प्रतिशतले महंगी बढेको छ ।

हाल अमेरिकाले भोगिरहेको मुद्रास्फीती चारदशक यताकै उच्च हो । युरोपका विकसित भनिने देशहरूले पनि ऐतिहासिक मूल्यवृद्धि र आपूर्ति अभावको सामना गरिरहेका छन् ।

खाद्य संकटको सामना

कमजोर उत्पादन तथा आर्थिक अवस्था भएका देशहरूमा खाद्य वस्तुको संकट तथा उच्च मूल्यको सामना गर्नु परिरहेको विश्व बैंक, विश्व खाद्य कार्यक्रम लगायत संस्थाहरूले जनाएका छन् ।

विश्वका अधिकांश देशहरूको खाद्य वस्तुको मूल्यवृद्धि ५ प्रतिशत माथि रहेको छ । विश्व बैंकका अनुसार रुस र युक्रेन युद्धले उत्पन्न उर्जा संकट र प्रतिबन्धात्मक नीतिगत व्यवस्थाले विश्वव्यापी मलको उत्पादन र उपलब्धतालाई सीमित बनाएको छ ।

जसको कारण कृषि उत्पादकत्वमा ह्रास आएर खाद्यान्नको अभाव निकट भविष्यमै झेल्नु पर्ने उनीहरूले चेतावनी दिइरहेका छन् । वार्षिक रूपमा २० प्रतिशतभन्दा बढीको हाराहारीमा खाद्य वस्तुको मूल्य वृद्धिले समस्यामा रहेका देशमा झन संकट निम्त्याउने भएको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तीव्र खाद्य असुरक्षा र भोकमरी सामना गरिरहेका विश्वका ५३ देशका २२२ मिलियन मानिसहरूलाई तत्काल खाद्य सुरक्षा सहयोगको आवश्यकता पर्ने प्रक्षेपण गरेको छ ।

रुस र युक्रेन युद्धले व्यापार र खाद्य वस्तुको निर्यातमा लागेका प्रतिबन्धहरूले आंशिक खाद्य समस्या निम्त्याएको उसले जनाएको छ । अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार हालसम्म २० देशहरूले २९ प्रकारका खाद्य वस्तु निर्यातमा प्रतिबन्ध लगाएका छन् ।

खाद्य संकट कम गर्न विश्व बैंकले कृषि, पोषण, सामाजिक सुरक्षा, पानी र सिँचाइ जस्ता क्षेत्रमा १५ महिनाको अवधिमा ३० बिलियन अमेरिकी डलर उपलब्ध गराउको जनाएको छ । यसले खाद्यान्न र मल उत्पादनलाई प्रोत्साहन गर्ने, खाद्य प्रणालीको वृद्धि गर्ने, वृहत्त व्यापारलाई सहज बनाउने, कमजोर घरपरिवार र उत्पादकलाई सहयोग पुग्ने उक्त संस्थाको भनाइ छ ।

 

माछापुच्छ्रे बैंकको शाखारहित कार्यालयको बदमासी, निक्षेप कर्ताको करोडौं खाताबाटै गायब Read Previous

माछापुच्छ्रे बैंकको शाखारहित कार्यालयको बदमासी, निक्षेप कर्ताको करोडौं खाताबाटै गायब

पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन