काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा फेरि चहलपहल सुरु हुन थालेको छ । दशैंले चलायमान बनाएको व्यापार, व्यवसाय तिहारले फेरि एकपटक चहलपहल बढाउने व्यापारीको आशा छ ।
मुख्य गरी तिहारमा फलफूल, फूलमाला, रङ, लत्ताकपडा, बिजुली बत्ती, सजावटका सामान, मिठाइ, भाइमसाला लगायत सामानको धेरै व्यापार हुने गर्छ । इन्धनको मूल्य वृद्धिका कारण अधिकांश सामानको भाउ महँगिएको छ । त्यसमा पनि तिहार नजिकिएसँगै भाइमसालाको भाउ ह्वात्तै बढेको छ ।
काजु, बदाम, ओखर, मखना, छोकडा, नरिवल, पेस्ता लगायत भाइमसालमा प्रयोग हुने उपभोग्य वस्तुको भाउ बढेको छ । व्यापारीहरूको अनुसार यस वर्ष भाइमसलाको भाउ १० प्रतिशतदेखि ८० प्रतिशतसम्म बढेको छ ।
अन्य समयमाभन्दा धेरै खपत हुने भएकाले व्यापारीहरूले पनि मौका छोप्दै हरेक वर्ष तिहारमा भाइमसालाको भाउ बढाउने गरेका छन् । प्रभावकारी सरकारी अनुगमन हुन नसक्दा व्यापारीहरूले मनपरी रुपमा भाउ बढाउने गरेका छन् ।
एकीन तथ्यांक नभए पनि तिहारको बेला अर्बौंको भाइ मसालाको कारोबार हुने गरेको छ ।
कुन मसलाको मूल्य कति बढ्यो ?
काजु : गत वर्षको तुलनामा काजुको भाउ प्रतिकेजी ३०० रुपैयाँसम्म बढेको छ । गत वर्ष प्रतिकेजी १४०० रुपैयाँदेखि १५०० रुपैयाँ केजी रहेको काजुको भाउ अहिले १९०० रुपैयाँसम्म पुगेको छ । बजारमा काजुको मूल्य किलोको १८२० रुपैयाँ प्रतिकेजीदेखि १८९० रुपैयाँसम्म रहेको छ ।
बदाम : बदामको मूल्यमा केजीमा ३०० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेको छ । गत वर्ष तिहारमा प्रतिकेजी ११०० रुपैयाँदेखि ११५० रुपैयाँ प्रतिकेजी रहेको बदामको मूल्य हाल १४०० माथि पुगेको छ । हाल खुद्रा बजारमा बदामको मूल्य १४०० रुपैयाँदेखि १४९० रुपैयाँ प्रतिकेजी पुगेको छ ।
किसमिसः किसमिसको मूल्य किलोमा १०० देखि डेढ सयसम्म बढेको छ । गत तिहारमा प्रतिकेजी ४०० रुपैयाँ प्रतिकेजी ५०० रुपैयाँसम्म रहेको किसमिस अहिले बढेर ५०० देखि ६५० रुपैयाँ प्रतिकेजी पुगेको छ ।
सुपारी : सुपाडीको मूल्य किलोमै ८०० रुपैयाँसम्म बढेको छ । गत वर्ष प्रतिकिलाे १००० हाराहारीमा रहेको सुपारी अहिले प्रतिकिलो १७०० देखि १८०० रुपैयाँ पुगेको छ ।
मखना : मखनाको मूल्य १ हजार ४० रुपैयाँदेखि १ हजार ५० रुपैयाँ प्रतिकेजी पुगेको छ । गत वर्ष तिहारमा मखनाको मूल्य १ हजार रुपैयाँ प्रतिकेजी पुगेको थियो । मखनाको मूल्यमा ४० देखि ५० रुपैयाँ वृद्धि भएको हो ।
अंजिर : अंजिरको मूल्य यो वर्ष १८०० देखि १९०० रुपैयाँ प्रतिकेजी पुगेको छ । गत वर्षको तिहारमा अंजिरको मूल्य १६०० रुपैयाँ प्रतिकेजी पुगेको थियो । यस वर्ष अंजिरको भाउ किलोमा ३०० रुपैयाँसम्म बढेको हो ।
ओखर : ओखरको मूल्यमा सामान्य वृद्धि भएको छ । गतवर्ष प्रतिकेजी ६०० रुपैयाँसम्म रहेको ओखर अहिले प्रतिकिलो ६८० रुपैयाँसम्म पुगेको छ ।
पेष्ताः पेष्ताको मूल्य यो वर्ष प्रतिकेजी २२०० देखि २५७० रुपैयाँसम्म पुगेको छ । गत वर्षको तिहारमा पेष्ताको मूल्य प्रतिकेजी १७०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म थियो ।
छोकडा : अन्य भाइमसलाको भाउ बढे पनि छोकडाको भने केही घटेको छ । गत वर्ष प्रतिकेजी १०८० रुपैयाँसम्म पुगेको छोकडा अहिले प्रतिकेजी १ हजारभन्दा कम रहेको छ ।
भाइमसला भित्र पर्ने छुट्टा छुट्टै सामग्रीको मूल्य माथि उल्लेख गरिएका अनुसार रहेका छन् । प्याकिङ गरिएका भाइमसलाको मूल्य प्याकेटको १०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्ने गरेका छन् ।