जडीबुटी निकासीमा भारतको अवरोध, ४० करोडको जडीबुटी गोदामै थन्कियो

नेपालगञ्ज । करिब रु ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् ।

भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार इलामदेखि दार्चुलासम्म सङ्कलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बङ्गलादेशसमेत निर्यात भएको छ । ‘नेपालबाट जडीबुटी मुख्य निर्यात हुने देश चीन र भारत नै हो,’ उनले भने । खासगरी जटामसी मार्क, अमला, गुर्जोलगायत विभिन्न प्रकारका प्रशोधित जडीबुटी विदेश निर्यात हुने गरेको छ ।

सरकारको नियमानुसार व्यवसायीले जडीबुटी प्रशोधन नगरी बेच्न नपाइने उल्लेख गर्दै सङ्घका केन्द्रीय अध्यक्ष शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाए। यसमा सहजीकरण भए पैसामा देखिएको समस्यासमेत समाधान हुने उनले विश्वास व्यक्त गरे ।

व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब रु एक करोड बराबरको उत्पादन थन्किएको बताए । जडीबुटी व्यवसायी सङ्घका अनुसार बाँकेमा जडीबुटीसम्बन्धी साना र ठूला गरेर १२ उद्योग छन् । गत वर्ष ५ हजार टन जडीबुटी निर्यात गरेको सङ्घले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।

नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी सङ्घका पूर्वाध्यक्ष याकुब अन्सारीले बताए ।

निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने र व्यवसायीलाई समेत लाभ पुग्ने बताइएको छ ।

ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा वृक्षारोपण Read Previous

ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा वृक्षारोपण

सार्वजनिक जग्गाको दुरुपयोग रोक्न एक्सनमा उत्रिँदै प्राधिकरण,  दियाे ७ दिनको अल्टिमेटम Read Next

सार्वजनिक जग्गाको दुरुपयोग रोक्न एक्सनमा उत्रिँदै प्राधिकरण, दियाे ७ दिनको अल्टिमेटम