काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । सोमबार २७ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।
आइतबार एकैदिन ४४ अंकले बढेको नेप्से पछिल्ला दुई दिनमा ४३ अंकले घटेको छ । असोज मसान्त नजिकिएसँगै सेयर बजारमा दबाब परेको हो । असोज मसान्तमा बैंकको ब्याज बुझाउनु पर्ने हुँदा लगानीकताले पैसा जोहो गर्न विक्री चाप बढाउँदा बजारमा दबाब परेको हो ।
मंगलबार नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको ५५ करोड २८ लाख रुपैयाँ बढीको १७ लाख ६८ हजार ६९२ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३समूह्को परिसूचक बढेको छ भने १० समूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.४० प्रतिशतले घटेको छ ।
आज नबिल बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड बढीको सेयर किनबेच भएको छ । यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर कम्पनीको पनि २ करोड बढीको सेयर खरिदविक्री भएको छ ।
घट्दो बजारमा आज बिन्ध्यावासिनी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ७.१८ प्रतिशत गुमाएका छन् । त्यस्तै, सिंगटी हाइड्रो ४.२६, नेरुडे लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सामलिङ पावर, ङादी ग्रुपको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ । विजय लघुवित्त, गणपति लघुवित्त र बोटलर्स नेपालका सेयरधनीले पनि ३ प्रतिशत गुमाएका छन् ।