आवेदन दिएका कम्पनीले कहिले पाउँछन् लघुबीमाकाे लाइसेन्स ?

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएको छ । समितिले ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवेदन माग गरी छनोट प्रक्रिया अघि बढाएको हो ।

मागभन्दा चारगुणा बढी अर्थात् ३१ कम्पनीले लघुबीमाको लाइसेन्सको लागि आवेदन दिएपछि समितिले उपसमिति गठन गरेर कम्पनी छनोट गर्ने भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले चाडवार्डको बिदापछि लाइसेन्सका लागि छनोटको प्रक्रिया अघिबढ्ने बताए । ‘अहिले चाडवार्ड र विदाको समय भइहाल्यो । फेरि लगत्तै चुनाव आउँदैछ, अहिलेसम्म कम्पनी छनोटका लागि उपसमिति भने गठन गरिएको छैन । अब केही समयपछि यो काम अघि बढ्छ,’ उनले भने ।

समितिले जीवन र निर्जीवन गरी ७ वटा लघुबीमा कम्पनीको लागि आवेदन खुलाए पनि ४ गुणा बढीले आवेदन दिएका छन् । गत भदौ १० मा समितिले लघुबीमा कम्पनी स्थापनाका लागि ३५ दिने सूचना जारी गरेर आवेदन आह्वान गरेको थियो ।

जसमा १५ वटा जीवन र १६ निर्जीवनसहित ३१ वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका छन् । आवेदन दिएका मध्ये ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनीले लाइसेन्स पाउने छन् ।

आवेदन दिएका कम्पनीहरूको विस्तृत अध्ययन गरी सोमध्ये ७ वटालाई इजाजत अनुमति दिइने निर्देशकपौडेलले बताए । लघुबीमा कम्पनी स्थापना गर्न समितिले गत भदौमा लघुबीमा निर्देशिका जारी गरेको थियो । जसअुसार लाइसेन्स वितरणको तयारी गरेको हो । निर्देशिका अनुसार समितिले लाइसेन्स वितरणका लागि अध्ययन गर्न उपसमिति गठन गर्नेछ ।

उक्त उपसमितिले तोकिएका मापदण्ड पुरा गर्ने लघुबीमा कम्पनीलाई लाइसेन्स दिन समिति समक्ष सिफारिश गर्नेछ । जुन कम्पनीले सबैभन्दा धेरै अंक प्राप्त गर्छ सोही कम्पनीले लाइसेन्स पाउने उनले बताए ।

बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै समितिले सातवटै प्रदेशमा जीवन र निजीवन लघुबीमा कम्पनी स्थापना गर्ने तयारी थालेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । जसलाई कार्यान्वयन गर्न समितिले लघुबीमा निर्देशिका जारी गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

समितिले लघुबीमा कम्पनीको स्थापनाका लागि ७५ करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । गत चैतमा मात्र जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउन साढे दुई गुणाले चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

एकतिर पूँजी बढाएर बीमा कम्पनीलाई मर्जरका लागि दबाब र अर्कोतिर लाइसेन्स वितरणले समितिको दोहोरो चरित्र देखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका छन् । विदेशमा लघुबीमाकम्पनीको अभ्यास भएपनि नेपालमा भने ठूला बीमा कम्पनीहरुले नै लघुबीमा व्यवसाय गदै आएका छन् ।

ती कम्पनीहरूले ५ प्रतिशत लघुबीमा अनिवार्य गर्नुपर्ने व्यवस्था छ । तर,सहर केन्द्रीत व्यवसायका कारण ग्रामीण क्षेत्रमा यी कम्पनीहरु गएका छैनन । जसको विकल्पमा बीमा समितिले लाइसेन्स वितरणको अस्त्र अपनाएको छ ।

कम्पनीको संख्या अनुसार बजार नहुँदा सञ्चालनमै रहेका बीमा कम्पनीको व्यवसायमा पनि संकुचन आएको छ । लघुबीमा कम्पनी खोल्न समितिले गत वर्षदेखि नै आन्तरिक तयारी गरिरहेको थियो । उक्तक्रममा एकदर्जन कम्पनीहरूले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर, समितिले नयाँ सूचना आह्वानसँगै पुराना आवेदन खारेज भएको जनाएको छ । नयाँ कम्पनीको स्थापनामा कार्यालय पनि उपत्यका बाहिर हुनुपर्ने मापदण्ड समितिले तोकेको छ ।

यी हुन आवेदन दिने ३१ कम्पनी

लघुबीमाको लाइसेन्स माग गदै आवेदन दिनेमा नेको लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यसैगरी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आवेदन दिएका छन् । समितिका अनुसार एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, उन्नती माइक्रोजनरल, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफले आवेदन दिएका छन् ।

यस्तै, गरिमा माइक्रो जनरल, सीजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, सीजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफले कम्पनी सञ्चालको अनुमति माग गदै समिति समक्ष पस्ताव गरेका छन् ।

यसैगरी, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, केयर माइक्रो जनरल, अभियान लघु बीमा, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

मनी ट्रान्सफर लुटेराबाट १४३ तोला सुन बरामद Read Previous

मनी ट्रान्सफर लुटेराबाट १४३ तोला सुन बरामद

नेपालबाट थप ४ देशमा सिधा हवाई उडानको तयारी Read Next

नेपालबाट थप ४ देशमा सिधा हवाई उडानको तयारी