काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप थपिने क्रम बढ्दो रहेको छ । असोज लागे यता वाणिज्य बैंकमा ७८ अर्ब निक्षेप थपिएको हाे । जसले तरलता अभाव झेलिरहेका बैंकहरूलाई केही राहत मिलेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असोजको २३ दिनमा वाणिज्य बैंकहरुमा ७८ अर्ब निक्षेप भित्रिएको छ । भदौ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा असोज २३ गते आइपुग्दा ७८ अर्बले बढेर ४५ खर्ब २३ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।
दशैंका लागि कर्मचारीहरूलाई तलब, बोनस दिँदा सरकारले गर्ने खर्च बढ्दा, विदेशबाट आउने रिमेट्यान्समा सुधार हुँदा निक्षेप बढेको बैंकरहरू बताउँछन् । निक्षेपमा सुधार आए पनि कर्जा विस्तार भने सुस्त नै रहेको छ ।
निक्षेपमा सुधार आएसँगै बैंकहरूको सीडी रेसियो पनि घटेको छ । असोज २३ गतेसम्म बैंकहरूको औसत सीडी रेसियो ८७.०५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।