उद्योग नचल्दा दैनिक २०० मेगावाट बिजुली खेर, प्राधिकरणलाई २० करोड नोक्सानी

काठमाडौं । दशैंको बेलामा अधिकांश उद्योगधन्दा बन्द हुँदा नेपाल विद्युत् प्राधिकरणलाई २० करोड बढी घाटा लागेको छ । धेरै विद्युत् खपत गर्ने अधिकांश ठूला उद्योगहरू दशैंमा बन्द भएकाले बिजुली खेर जाँदा प्राधिकरणले उक्ता घाटा बेहोर्नुपरेको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार दशैंको ९ दिनमा ४ करोड युनिट बिजुली खेर गएको छ । उक्त परिणाममा बिजुली खेर जाँदा २० करोड बढी घाटा बेहोर्नुपरेको प्राधिकरणले जनाएको छ ।

दशैंको बेला दैनिक २०० मेगावाट बिजुली खेर गएको प्राधिकरणले जनाएको छ । दशैंमा नियमित रूपमा विद्युत् उत्पादन भए पनि खपत घट्दा र निर्यात बढ्न नसक्दा प्राधिकरणले घाटा बेहोर्नुपरेको हो ।

दशैंको बेलामा डण्डी, सिमेन्ट लगायत धेरै बिजुली खपत हुने अधिकांश उद्योग बन्द भएका थिए । प्राधिकरणका अनुसार टिकाको दुइ दिनपछि देखि भने क्रमशः उद्योगधन्दा खुल्न थालेकाले बिजुली खपत बढ्दै गएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पिक आवरमा विद्युत् खपत बढे पनि राती खेर गइरहेको बताउँछन् ।

‘दशैंमा राती ८०० मेगावाटसम्म विद्युत् स्पिल भएको छ । पिक आवरमा विद्युत् खपत बढ्ने भएकाले स्पिल कम हुने र राती बढ्ने गरेको छ । उद्योगधन्दा सञ्चालनमा आउन थालेसँगै विस्तारै खपत पनि बढ्दै गएको छ,’ उनले भने ।

प्राधिकरणले यस अवधिमा ३०० मेगावाटसमम बिजुली खेर जाने प्रक्षेपण गरेको थियो । तर तराई क्षेत्रमा भएको वर्षा, उद्योग बन्द र भारतले खरिद गर्न नमान्दा खपत घटेर ठूलो युनिटमा विद्युत् खेर गएको हो ।

चाडवार्डको समयमा ७०० मेगावाटसम्म विद्युत् खपत भएको प्राधिकरणको भनाइ छ । दशैं तिहारमा उद्योग, कारखाना तथा कार्यालयहरू बन्द रहने भएकाले विद्युत् खपत हरेक वर्ष घट्ने गरेको छ ।

हिउँदमा सुख्खा हने भएकाले विद्युत् उत्पादन घट्ने गरेको छ । जसको कारण माग पूर्ति गर्न प्राधिकरणले भारतबाट महंगोमा बिजुली आयात गदै आएको छ । वर्षातको समयमा भने पानीको सतह बढ्ने भएकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ ।

हाल प्राधिकरणले करिब ४ सय मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँमा भारत निर्यात गरिरहेको छ । प्राधिकरणले विद्युत् खपत घट्ने अवस्थालाई मध्येनजर गदै दशैंअघि भारतसँग थप १०० मेगावाट विद्युत् किन्न प्रास्ताव गरेको थियो । तर, भारतले हालसम्म उक्त प्रस्ताव स्वीकृत गरेको छैन ।

हाल नेपालका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन क्षमता २२०० मेगावाट रहेको छ । सबै आयोजनाले पूर्ण क्षमतामा उत्पादन गरिरहेकाले खपत नबढ्दा खेर गइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् प्र्राधिकरणका अनुसार दैनिक कुल पिक डिमान्ड १६८३ मेगावाट रहेको छ । भारतले विद्युत् खरिदमा चासो नदेखाउदा वर्षायाममा पूर्ण क्षमतामा उत्पादन भएको बिजुली खेर गइरहेको छ भने हिउँदमा भारतबाट आयात गर्नुपरेको छ ।

प्रशारणलाइन निमार्ण र विद्युत् निर्यातका लागि भारतले ठोस निर्णय नदिँदा उत्पादन भएको करोडौं रुपैयाँ बराबरको बिजुली खेर मात्र गइरहेको छैन प्राधिकरणको नाफा पनि घटिरहेको छ ।

सरकारले देशभित्रै उद्योगधन्दाको विकास गरेर आन्तरिक रूपमा विद्युत् खपतको वातावरण सिर्जना गर्ने घोषणा गरे पनि व्यवहारमा बन्न सकेको छैन् । हिमाली क्षेत्रका कतिपय ग्रामिण बस्तीहरू प्र्रसारणलाइन अभावका कारण अहिले पनि विद्युत् सेवाबाट बञ्चित छन् ।

वर्षेनि हाइड्रो प्रोजेक्ट थपिने र यस क्षेत्रमा लगानी ढ्नेक्रम बढे पनि विद्युत् निर्यात तथा खपतको समस्या भने प्राधिकरण र सरकारका अघि कायम छ ।

एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने १० कम्पनी

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री Read Next

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री