काठमाडौँ । बडादशैं भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ ।
नेपालीको महान् पर्व बडादशैंमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दसैँ मनाउँछन् । बजारमा भने शाकाहारीका लागि यी सामग्री पाउन नै मुस्किल हुने र पाए पनि ताजा नपाउने गरेको उपभोक्ताको गुनासो छ ।
बागबजारस्थित तरकारी बजारमा शाकाहारी दसैँको सामान लिन आभएकी डिल्लीबजारकी रमा सत्याल दसैँका समयमा च्याउ, काउलीजस्ता तरकारी ताजा नपाउने गरेको अनुभव सुनाउछन् । खसीबजारसँगैको यो तरकारी बजारमा दुई चार दिनअघि नै ल्याएका तरकारी पाइएको उनले बताए । बजारमा काउली कालो कालोमात्र भेटिएको छ ।
विगत १० वर्षदेखि यहाँ तरकारी व्यवसाय गरी आएका काभे्रपलाञ्चोक जिल्लाका मङ्गलबहादुर तामाङ अन्य समयको तुलनामा दसैँमा तरकारी किन्न कम मानिस आउने भएकाले पनि ताजा तरकारी ल्याउन नसकिएको स्वीकार गर्छन्। यो समयमा कालिमाटी, बल्खुजस्ता थोक तरकारी बिक्रीस्थलमै ताजा तरकारी नपाइने गरेको पनि उनले बताए।
दशैंमा सबैले मासु खान्छन् तरकारी किन्न आउँदैनन् भनेर ताजा तरकारी नआएको हुनसक्ने असनको तरकारी बजारमा भेटिनुभएका दुर्गादत्त पन्तले बताए । मांसाहारीका सङ्ख्या धेरै भए पनि शाकाहारीले तरकारी पनि माग गर्छन् भन्नेमा ध्यान जान नसकेको उनले अनुभव सुनाए । दशैंका बेला कालीमाटीकै तरकारी बजार पनि सुनसान हुने गरेको छ ।
बाहिरबाट तरकारी बिक्री गर्नेहरु पनि दसैँ मान्न व्यस्त हुने भएकाले समेत यो बेला ताजा तरकारी नपाइएको उपभोक्ता बताउँछन् । तरकारी व्यवसायी यो बेला कमैले मात्र पसल खोलेका हुन्छन् । धेरै जना भने दसैँ मनाउनमै व्यस्त हुने गरेका छन् । बजारमा खसी, बोकाको अनुगमन भए पनि यो बेला तरकारी बजारको भने अनुगमन नगरिँदा पनि तरकारीको भाउ बढ्ने गरेको छ ।
मासुको भाउ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो रु सात सय ३० तोेकेकाले त्यही हाराहारीमा बजारमा बिक्री भएको छ । तर तरकारीको भने कालिमाटी बजारले पनि दसैँमा बजारलाई आफूखुसी छोडेको हो कि भन्ने उपभोक्ताको गुनासो छ ।
बजारमा पनिरको भाउ पनि विगतका दसैँमा भन्दा बढेको उपभोक्ताको भनाइ छ । गत वर्ष दसैँमा रु सात सय ५० कममै प्रतिकिलोग्राम पनिर पाएका उपभोक्ताले यस वर्ष भने गत वर्ष भन्दा रु एक सय ५० सम्म बढी तिरेको सुनाए । यो वर्ष बजारमा पनिरको भाउ रु आठ सय ५० देखि रु नौ सयसम्म छ । च्याउको प्रजातिको मूल्य पनि बढेको छ ।
मिठाइको भाउ पनि विगत वर्षको भन्दा बढेको छ । बजारमा ताजा मिठाइ पनि दसैँमा पाउन नसकिएको चावहिलका स्थानीयवासी राजेन्द्र नेपाल बताउछन् । दसैँमा शाकाहारीले बजारबाट मिठाइ किनेर ल्याउँदा ताजा पाउन नसकिएको उनले सुनाउए । बजार व्यवस्थापन एवं अनुगमनमा स्थानीय सरकारको ध्यान नजाँदा उपभोक्ता यस्तो मर्का सहन बाध्य हुनुपरेको हो ।