सगरमाथा हवाई मैदान निर्माण गर्न रूख कटान सुरू, १० हेक्टर क्षेत्रको काटिने

उदयपुर । उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ ।

सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अनुसार हवाई मैदान क्षेत्रभित्र पर्ने मोथ्याइ सामुदायिक वन र कङखोला सामुदायिक वनभित्र पर्ने १० हेक्टर वन क्षेत्रको रूख काट्न सुरू गरिएको निर्माण उपभोक्ता समितिका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए । दुर्गा शक्ति जेभी कम्पनी विराटनगरले ठेक्का लिएर रूख काट्न सुरू गरेको हो । डेढ हप्ताभित्र कम्पनीले विभिन्न प्रजातिका १६४ रूख काटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भू–संरक्षण विभागबीच सम्झौता भएपछि जोगिदह क्षेत्रको दुई सामुदायिक वनको १० हेक्टर क्षेत्रफलको रूख कटान थालिएको हो । १ हजार ७०० मिटर लम्बाइ र ४० मिटर चौडाइको सगरमाथा हवाई मैदान निर्माणका लागि त्रिनपा–१ जोगिदहको मोथ्याइ, सिमलटार र कङखोलासम्मको १५६.११ हेक्टरभन्दा बढीको क्षेत्रमा हवाई मैदान निर्माण गर्ने सहमति भएपछि रुख काट्न थालिएको हो ।

रूख कटान सम्पन्न गरेर हवाई मैदान सञ्चालनमा आएपछि पुनः हवाई मैदान क्षेत्रका आसपासका जग्गामा वृक्षरोपण गरेर ३० प्रतिशत क्षेत्र वन क्षेत्र निर्माण गर्नुपर्ने प्रावधान रहेको समितिले जनाएको छ । त्रियुगा नगरपालिकाको जोगिदहमा २०७२ सालमा नै सर्भे भएर निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माण कार्यमा स्थानीयहरु र हवाई मैदान निर्माण व्यवस्थापन समितिबीच पटक–पटक विवाद भएको थियो । वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएपछि काम अघि बढेको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा हवाई मैदान निर्माण कार्य सहज भएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत बताउँछन् । अब दशैं लगत्तै रूख कटानसहित बाँकी कार्य नियमितरुपमा हुने उनको भनाइ छ । अबको दुई वर्षभित्र हवाई मैदान निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइने बस्नेतले बताए ।

१ हजार ७०० मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रको हवाई मैदान निर्माण सम्पन्न गरेर २०० मिटरको लम्बाइ र ६० मिटर चौडाइ एप्रोनसहितको टर्मिनल आधुनिक टर्मिनल भवन, ट्याक्सी पार्किङ ग्राउन्डसहितको पूर्वाधार निर्माण गर्न १५६.११ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहण भएको समितिले जनाएको छ ।

सगरमाथा क्षेत्रको नै महत्वपूर्ण हवाई मैदान निर्माण सम्पन्न भएपछि उदयपुरबाट पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलु तथा ओखलढुङ्गा र विराटनगर तथा राजधानी काठमाडौं यात्रा गर्न सहज हुने छ । हवाई मैदान निर्माण सम्पन्न गर्न झण्डै रु २ अर्ब ४० करोड बजेट चाहिने समितिले जनाएको छ ।

 

त्रिभुवन विमानस्थलको ५ किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने Read Previous

त्रिभुवन विमानस्थलको ५ किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

पोखरा-बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’ लागू Read Next

पोखरा-बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’ लागू