यी हुन दशैंमा घुम्नलायक उत्कृष्ट १२ पर्यटकीय गन्तव्य, कहाँबाट जाने ?

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालीहरूमा चार्डवाड र बिदाको बेला घुमफिर गर्ने संस्कृति विकास हुँदै गएको छ । दशैंमा मासु, मदिरा खाएर, तास खेलेर बिताउनेभन्दा देशकै विभिन्न ठाउँहरू घुम्ने संस्कृति फस्टाउँदै गएको देखिन्छ ।

अन्य समयमा घुमफिर गर्न फुर्सद नपाउनेहरू दशैंको बिदाको सदुपयोग गर्दै देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुग्ने गरेका छन् । कतिपय त दशैंको बिदामा विदेश समेत जान थालेका छन् ।

टाढिएका आफन्तहरू भेटिने सुनौलो समय भएकाले दशैं विशेष रूपमा मनाइने गरिन्छ । साथै, पारिवारीक घुमघाममा रमाइलो गर्ने प्रचलन पनि बढ्दै गएको छ ।

दशैं एउटा संस्कृति मात्र नभएर आन्तरिक पर्यटक विकासको पनि महत्वपूर्ण आधार बन्दै गएको छ । यो अवधिमा घुम्न जानको लागि नयाँ गन्तव्यको खोजीमा धेरै मानिसहरू हुने गर्छन् ।

वर्षभरी सहरको गुञ्जायास र कोलाहलबाट वाक्कदिक्क भएका सहरबासहरू रिफ्रेस हुनको लागि सुन्दर गन्तव्य खोजिरहेका हुन्छन् । दशैं बिदामा घुम्नलायक उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको बारेमा यहाँ उल्लेख गरिएको छ ।

१. खप्तड : सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा अवस्थित खप्तडलाई भूस्वर्गको रूपमा लिने गरेको पाइन्छ । यो ठाउँमा प्राकृतिक सौन्दर्यताको मनमोहक दृश्यका साथै राष्ट्रिय निकुञ्ज पनि देख्न सकिन्छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलका रूपमा रहेको खप्तडमा २२ वटा पाटन रहेका छन् ।

यसैगरी यहाँ ५३ थुम्का रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको खप्तड पर्यटकीय रूपमा आकर्षक मात्र नभएर खप्तड बाबाले तपस्या गरेको पवित्र धार्मिक स्थलका रूपमा लिने गरिन्छ ।

करिब ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्र २२५ वर्ग किमिमा फैलिएको छ । जाडो समयमा यस क्षेत्रमा हिउँ पर्ने भएकाले वैशाख जेठको सिजन घुम्नका लागि उपयुक्त मानिन्छ । सुदूरको दुरदराजमा रहे पनि प्राकृतिक सौन्दर्यताको प्रतिबिम्ब त गरेको छ नै घुम्न आउने पर्यटकहरूका लागि आनन्दित तुल्याउछ ।

काठमाडौं उपत्यकाबाट हवाई मार्ग तथ बस यात्रामा कैलालीको धनगढीसम्म पुग्न सकिन्छ । त्यहाँबाट ८ घण्टा बस यात्रामा डोटीको सिलगढी पुगेर खप्तड पुग्न पैदल यात्रा सुरू गर्नुपर्छ । त्यसको पहिलोदिन झिगरानासम्म पुग्न सकिन्छ भने दोस्रो दिन खप्तड क्षेत्रमा पुग्न सकिन्छ ।

२. रारा : रारा कर्णाली प्रदेशको मुगुमा अवस्थित नेपालको सबैभन्दा ठूलो ताल र राष्ट्रिय निकुञ्ज हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाइमा पर्ने गरेको छ ।

समुद्र सतहदेखि २९७२ किलोमिटर उचाइमा रहेको रारा पुग्न काठमाडौं उपत्यकाबाट हवाई तथा सडक मार्गको प्रयोग गर्न सकिन्छ । उपत्यकाबाट हवाई मार्ग मार्फत नेपालगञ्ज र त्यहाँबाट जुम्ला हुँदै सडक मार्ग प्रयोग गरेर जान सकिन्छ । यसैगरी, सुर्खेतबाट मुगुको गमगढीसम्म गाडी चढेर त्यहाँबाट करिब ४ घण्टा पैदल हिडेँर रारा पुग्न सकिन्छ ।

यसैगरी, सुुर्खेतबाट मुगुको ताल्चासम्म हवाई यात्रा मार्फत पुग्न पनि सकिन्छ । प्राकृतिक सौन्दर्यता, विविधता तथा विभिन्न जीवजन्तु लगायत दुर्गम भेगको जनजीवन यो ठाउँबाट नियाल्ने अवसर पाइन्छ ।

३. पोखरा :  गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरा पर्यटकीय मुख्य गन्तव्य हो । आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पोखरा पर्ने गरेको छ । सैन्दर्यको महत्वपूर्ण स्थानका रूपमा रहेको यस क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणका विभिन्न नयाँ क्रियाकलापहरू बढ्नेक्रम रहेको छ ।

फेवातालको सौन्दर्यता, हिमाल तथा प्याराग्लाइडिङ समेत गर्न पर्यटकहरू पोखरा जाने गरेका छन् । उपत्यकाबाट हवाई मार्ग मार्फत करिब आधा घण्टा र सडक मार्गबाट करिब ५ घण्टामा पोखरा पुग्न सकिन्छ ।

२. सौराहा : चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहा पर्यटकहरूको रोजाइमा पर्ने एक आकर्षक गन्तव्य हो । स्वदेशी तथा विदेशी पर्यटकहरू यस क्षेत्रमा घुम्न आउने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुका साथै निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गरेर आनन्द लिन सकिन्छ । निकुञ्जमा गैंडा, बाघ, जरायो, बँदेल, चितुवा, मयुर लगायत विभिन्न प्रजातिका जीवजन्तु तथा पशुपन्छी हेर्न पर्यटकहरू आउने गर्छन् । उपत्यकाबाट भरतपुरसम्म हवाई तथा सडक मार्गबाट सजिलै चितवन पुग्न सकिन्छ ।

५. इलाम : पूर्वी नेपालमा अवस्थित इलाम पर्यटकीय ठाउँ हो । चिया उत्पादनको लागि प्रसिद्ध यस जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

विविध हावापानी भएको यस क्षेत्रमा चिया बगानको सुन्दरता देख्न पाइन्छ । यसका साथै पर्यटकहरूले सोन्दर्यताको आनन्द लिनसक्छन् । इलाम पुग्न काठमाडौंबाट हवाई तथा सडक मार्गको प्रयोग गर्न सकिन्छ ।

विराटनगरसम्म हवाई यात्रामा गएर त्यहाँबाट करिब ३र४ घण्टामा यहाँ पुग्न सकिन्छ । इलाममै एयरपोर्ट भएपनि नियमित उडान हुँदैन । यसैगरी, उपत्यकाबाट सडक मार्ग हुँदै जाने हो भने एकै दिनमा पुग्न सकिन्छ । इलाममा सुन्दर चिया बगान र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

६. मुक्तिनाथ : हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्बीहरूको प्रसिद्ध तिर्थस्थल पनि हो । सोही मन्दिरको दर्शन गर्न वर्षेनी हजारौं पर्यटकहरूको आवागमन हुने गरेको छ । समुद्र सतहबाट ३ हजार ८०० मिटर उचाइमा रहेको मुक्तिनाथ सुन्दर प्राकृतिक दृश्वालोकनको लागि अनुपम गन्तव्य मानिन्छ ।

यो विश्वकै प्रसिद्ध पदमार्ग अन्नपूर्ण सर्किटमा पर्ने भएकाले ट्रेकिङका लागि राम्रो मानिन्छ । काठमाडौंबाट गाडीमा पोखरा, बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । त्यहाँबाट करिब ५ घण्टाको यात्रापछि घाँसा पुगिन्छ ।

घाँसाबाट ६र७ घण्टा हिँडेर मार्फा, कागवेनि हुँदै मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट जोमसोमसम्म हवाई मार्ग हुँदै पनि मुक्तिनाथ पुग्न सकिन्छ ।

७. तिलिचो : मनाङमा रहेको तिलचो ताल विभिन्न पर्यटकीय गन्तव्यहरू मध्येको एक हो । उच्च स्थानमा रहेको यस ताल र यहाँको प्राकृतिक सौन्दर्यता हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरू घुम्न जान्छन् ।

पर्यटकले यस क्षेत्रबाट तिलिचो ताल र अन्नपूर्ण हिमश्रृंखलाको सौन्दर्यलाई नजिकबाट नियालन सक्छन् । काठमाडौंबाट लम्जुङको बेँसीसहर हुँदै स्याङ्गे, ताल धारापानी,मनाङको चामे हुँदै खाङ्सारसम्म गाडीमा जान सकिन्छ ।

खाङ्सारबाट पैदल यात्रा सुरू गरेर श्रीखर्क हुँदै करिब ४ घण्टामा तिलिचो बेसक्याम्प पुगिन्छ । बेसक्याम्पबाट ४९१९ मिटर उचाइमा रहेको तालमा पुग्न ४ देखि ५ घण्टा लाग्छ ।

८. पाथिभरा : ताप्लेजुङमा रहेको पाथिभरा मन्दिर धार्मिक पटर्यटकहरूका लागि प्रसिद्ध छ । स्वदेश तथा भरतका विभिन्न क्षेत्रबाट पाथिभराको दर्शन गर्न वर्षेनि हजारौं पर्यटनहरू आउने गर्छन् ।

समुद्री सतहबाट ३ हजार ७९४ मिटर उाचाइमा रहेको यस गन्तव्यबाट कुम्भकर्ण हिमाल हेर्न सकिन्छ । दशैंको अवसरमा घुम्न जाने पर्यटकहरूका लागि यो एक सहज र आकर्षक गन्तव्य बन्न सक्छ ।

काठमाडौंबाट काठमाडौंबाट हवाई र बस यात्रा मार्फत यस गन्तव्यसम्म पुग्न सकिन्छ । सुकेटारसम्म हवाई यात्रा र त्यसपछि ६ घण्टा पैदल यात्रापछि पाथिभरा पुगिन्छ । यसैगरी, बसयात्राबाट फेदी पुगेपछि पाँच घण्टाको पैदल यात्रापछि पनि पाथिभरा पुग्न सकिन्छ ।

९. जनकपुर : धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर एउटा धार्मिक पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा विशेषगरी, भारत र स्वदेशबाटै पनि दर्शनार्थिहरू आउने गरेका छन् । उपत्यकाबाट हवाई तथा सडक मार्गबाट यस ठाउँमा पुग्न सकिन्छ ।

१०. सगरमाथा : पर्यटकहरूका लागि सगरमाथा एक प्रमुख गन्तव्यको रूपमा रहेको छ । हिमाल आरोहण तथा नजिकबाट सगरमाथाको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, पदयात्रामा बर्सेनी हजारौंको संख्यामा पर्यटकको आवागमन हुन्छ । समुद्र सतहदेखि ५ हजार ५५५ मिटर उाचाइमा रहेको कालापत्थर सगरमाथालाई नजिकबाट नियाल्न सकिने उपयुक्त स्थल तथा पदमार्ग हो ।

पूरै हिमाल आरोहण नगरेपनि आधार शिविरसम्म पुग्ने मानिसको धोको हुन्छ । जसलाई पूरा गर्न दशैंको विशेष अवसरमा यस क्षेत्रमा गएर आनन्द लिन सकिन्छ । काठमाडौंदेखि लुक्लासम्म हवाई र त्यसपछि पैदल यात्रा गरेर यस क्षेत्रमा पुगिन्छ ।

११. अन्नपूर्ण : चर्चित पदमार्ग अन्नपूर्ण घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो नै लाग्ने गरेको छ । यो विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्ने पर्यटकीय गन्तव्य पनि हो । प्रकृतिक सौन्दर्यता, अन्नपूर्ण हिमालको मनमोहक दृश्य हेर्न आतुर रहेका पर्यटकहरू उपयुक्त समयको पर्खाइमा रहेको पाउन सकिन्छ ।

साढे ५ हजार मिटर उचाइमा रहेको यस पदमार्गबाट ६ हजारदेखि ८ हजार मिटरसम्म उचाइ भएका हिमालहरू देखिन्छन् । अन्नपूर्ण,धौलागिरी,निलगिरी,माछापुच्छ्रे लगायत हिमालहरू देख्न सकिन्छ ।

काठमाडौं उपत्यकाबाट लमजुङको बेंसीसहर, खुदी, भुलभुले, स्याँगे, जगत हुँदै अन्नपूर्ण पदमार्ग पुग्न सकिन्छ । यस पदमार्गमा ठाउँठाउँमा सुविधा सम्पन्न होटल तथा लजहरू भएकाले खान र बस्नको लागि समस्या हुँदैन् ।

१२. लुम्बिनी : गौतम बुद्धको जन्मस्थान समेत रहेको लुम्बिनी घुम्न आउने मानिसहरूको भीड लाग्ने गरेको छ । श्रीलंका, माल्दिभस, थाइल्याण्ड लगायत देशमा रहेका बौद्धमार्गीको रोजाइमा लुम्बिनी पर्ने गरेको छ । आन्तरिक पर्यटकहरू पनि यस क्षेत्रमा घुम्नका लागि उत्तिकै आउने गरेका छन् । काठमाडौंबाट भैरहवासम्म हवाई तथा बस मार्फत लुम्बिनी पुग्न सकिन्छ ।

 

आन्तरिक पर्यटकको चहलपहल बढ्यो, मुख्य गन्तव्यका होटल भरिन थाले Read Previous

आन्तरिक पर्यटकको चहलपहल बढ्यो, मुख्य गन्तव्यका होटल भरिन थाले

‘मनिचेन्जर’को नयाँ इजाजत बन्द Read Next

‘मनिचेन्जर’को नयाँ इजाजत बन्द