आन्तरिक पर्यटकको चहलपहल बढ्यो, मुख्य गन्तव्यका होटल भरिन थाले

काठमाडौं । दशैंको चहलपहल बढेसँगै होटल व्यवसायमा सकारात्मक प्रभाव देखिएको छ । घुम्नजाने आन्तरिक पर्यटकहरूको आकर्षणले मुख्य गन्तव्यका होटलमा अकुपेन्सी भरिएको छ ।

कोभिडले सबैभन्दा बढी प्र्रभावित व्यवसाय मध्ये पर्यटनपछि होटल हो । करिब २ वर्ष ठप्पप्रायः रहेको व्यवसायमा दशैं–तिहार लगायत चाडवार्डको गतिविधिले पुनरुत्थान गरिरहेको होटल तथा पर्यटन व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समय दशैंमा पारिवारीक जमघट र घरमा मात्र सीमित नभएर घुमफिर गर्ने प्रचलन बढ्दै गएको छ । जसको कारण देशका पर्यटकीय गन्तव्यका होटल व्यवसायको व्यापार बढेको छ ।

नेपाल होटल व्यवसायी महासंघका उपाध्यक्ष दिनेशकुमार चुले दशैंले मुख्य पर्यटकीय गन्तव्यका होटलहरूको अकुपेन्सी बढाएको बताउँछन् । ‘दशैं सुरू भएसँगै मानिसहरूको घुमफिर र चहलपहल बढेको छ । पर्यटकीय मुख्य गन्तव्यहरू सौराह, पोखरा लगायतका ठाउँका होटलहरूमा अकुपेन्सी फूल हुन थालेका छन्,’ उनले भने ।

यस वर्ष दशैंमा लामो बिदा भएकाले घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढ्ने उनले बताए । ‘यस वर्ष दशैंमा ८ दिन बिदा परेको छ । घुम्न जान चाहनले पर्याप्त समय पाएका छन् । जसले आन्तरिक पर्यटक बढ्ने देखिन्छ,’ उनले भने ।

घुम्न जाने मानिसको चहलपहल र आवतजावत बढे पनि गन्तव्य स्थान बाहेकका होटल व्यवसायमा उत्साह नदेखिएको उनले बताए ।

असोज यता पर्यटकहरूको आकर्षणले होटलको व्यवसाय लयमा रहेको पोखराका एक होटल व्यवसायीले बताए । ‘पर्यटकीय सिजन सुरूभएपछि पोखराका होटलहरू पनि भरीभराउ भएका छन् । असोजयता मानिसको चहलपहले यस क्षेत्रलाई चलायमान बनाएको छ । यसअघि भने व्यवसाय ठप्प नै थियो,’ उनले भने । दशैंका लागि होटलका अधिकांश कोठाहरू बुक भएको उनको भनाइ छ ।

हाल देशभर साना, मझौला र ठूलागरी करिब ८३ हजार होटल व्यवसाय संञ्चालनमा रहेको तथ्यांक छ । कोभिड महामारीले सबैभन्दा धेरै प्रभावित भएका साना तथा मझौला होटलहरू पछिल्लो समय लयमा फर्किन थालेका छन् ।

आन्तरिक पर्यटकका साथै यस वर्ष विदेशी पर्यटकको आवागमन पनि बढेको छ । पर्यटन विभागको तथ्यांक अनुसार सन् २०२२ को अगष्टसम्म ३ लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । वित्तीय प्रणालीको संकट र आर्थिक स्थिति कमजोर हुँदा त्यसको प्र्रभाव पर्यटनदेखि होटल व्यवसायसम्म परेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र पर्यटक आवागम, होटल व्यवसाय चलायमान र रेमिट्यान्समा सकारात्मक संकेत देखिएकाले अर्थतन्त्र ठीक अवस्थामा फर्किने बताउँछन् ।

‘पर्यटकीय गतिविधि र रेमिट्यान्सले राम्रो संकेत देखाएको छ । यसको प्रत्यक्ष प्रभाव होटल व्यवसायमा पनि पर्छ । पर्यटकको संख्या बढ्दा होटलहरूको व्यापार पनि राम्रो देखिएको छ । जसले गर्दा हाम्रो अर्थतन्त्र चलायमान र सकारात्मक दिशामा गइरहेको छ,’ उनले भने ।

 

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो Read Previous

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

यी हुन दशैंमा घुम्नलायक उत्कृष्ट १२ पर्यटकीय गन्तव्य, कहाँबाट जाने ? Read Next

यी हुन दशैंमा घुम्नलायक उत्कृष्ट १२ पर्यटकीय गन्तव्य, कहाँबाट जाने ?