काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालीहरूमा चार्डवाड र बिदाको बेला घुमफिर गर्ने संस्कृति विकास हुँदै गएको छ । दशक अघिसम्म दशैंको बेलामा खानपिनमा बढी रमाउने नेपालीहरू पछिल्ला केही वर्ष यता घुमेर रमाउन थालेका छन् ।
दशैंमा मासु, मदिरा खाएर, तास खेलेर बिताउनेभन्दा देशकै विभिन्न ठाउँहरू घुम्ने संस्कृति फस्टाउँदै गएको देखिन्छ । अन्य समयमा घुमफिर गर्न फुर्सद नपाउनेहरू दशैंको बिदाको सदुपयोग गर्दै देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुग्ने गरेका छन् । कतिपय त दशैंको बिदामा विदेश समेत जान थालेका छन् ।
दशैंमा घुमफिर गर्नेको संख्या बढ्न थालेसँगै आन्तरिक पर्यटन पनि फस्टाउन थालेको छ । आन्तरिक पर्यटकको बढ्दो घुमफिर संस्कृतिलाई मध्येनजर गर्दै ट्राभल एजेन्सीहरूले घुमफिर गर्नेका लागि टूर प्याकेज ल्याएका छन् ।
विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गर्दै ट्राभल एजेन्सीहरूले मनाङ, मुस्ताङ, मुक्तिनाथ, चितवन, पोखरा, रारा, हलेसी महादेव, लुम्बिनी, सौराह, अन्नपूर्ण बेसक्याम्प लगायत पर्यटकीय गन्तव्यका टूर प्याकेज ल्याएका छन् ।
आफ्नो आम्दानी बढाउनुका साथै आन्तरिक पर्यटक प्रबद्र्धनको उद्देश्य सहित एजेन्सीहरूले आकर्षक गन्तव्यहरू घुम्न सकिने सहुलियत प्याकेज ल्याएका हुन् । यसले घुम्न जान चाहाने यात्रुलाई सहजता तथा ट्राभल कम्पनीको व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
कुन कम्पनीको कस्तो छ टूर प्याकेज ?
नमोबुद्ध होलिडेज टूर एण्ड ट्राभल एजेन्सीले मुक्तिनाथ, कालिञ्चोक, रारा ताल, चित्लाङ घुम्न जान चाहानेहरूका लागि प्याकेज ल्याएको छ । कम्पनीले चित्लाङको दुई दिने टूर प्याकेज ३ हजारदेखि सुरू भएर ५ हजार रुपैयाँसम्मको रहेको जनाएको छ ।
यसैगरी, ७ दिनको टूर रारा ताल घुमेको प्रतिव्यक्ति १७ हजार रुपैयाँदेखि २२ हजार ५०० सम्मा शुल्क लाग्ने जनाएको छ । २ दिने कालिञ्चोकको टूरमा प्रतिव्यक्ति २६०० देखि ५५०० रुपैयाँ तिरेर जानसक्ने एजेन्सीले जनाएको छ ।
प्रतिव्यक्ति ८ हजारदेखि १०५०० रुपैयाँ तिरेर घुम्नजान चाहनेहरूले मुक्तिनाथको टूर सेवा लिनसक्ने छन् । यो टूर प्याकेज ४ दिनको हो । बसमा जाने पर्यटकले कम र जीपमा जानेहरूका लागि शुल्क बढी लाग्ने एजेन्सीले जनाएको छ ।
डूक नेपाल एड्भेन्चर ट्राभल एजेन्सीले अपर मुस्ताङ, पुनहिल, घान्द्रुक, मुक्तिनाथ लगायत गन्तव्यहरूको टूर प्याकेज ल्याएको छ । कम्पनीका अनुसार मुक्तिनाथको टूरको जीपमा जाँदा प्रतिव्यक्ति १४ हजा ५०० रुपैयाँ रहेको छ । घान्द्रुकको प्रतिव्यक्ति ८ हजारदेखि १० हजार ५०० सम्म शुल्क रहेको कम्पनीले जनाएको छ । सो प्याकेजमा पर्यटकहरूले खाना, बस्न तथा ब्रेकफास्टको समेत पाउनेछन् ।
नेचर भिजिट ट्राभल एण्ड टूर एजेन्सीले दशैंको उपलक्ष्यमा मुक्तिनाथ दर्शन टूर प्याकेज ल्याएको छ । ४ दिनको यस टूरमा बसमार्फत जान चाहाने पर्यटकहरूले ९ हजार र स्कर्पियो मार्फत जान चाहनेले साढे १२ हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
यस्तै, टूर्स प्लानर ट्राभल एजेन्सीले तिलिचो, रारा,मुक्तिनाथ र अपर मुस्ताङको टूर प्याकेज ल्याएको छ । एजेन्सीले खाना, बस्न तथा अन्य सुविधाहरू पनि सोही प्याकेजमा रहेको जनाएको छ ।
स्यान्ओइ ड्रिम वल्ड होलिडेजले मुक्तिनाथ, भारतको चार धर्म यात्रा,अन्नपुर्ण बेसक्याम्प,तिलिचो ताल, सिक्कम, दार्जिलिङ,रारा,अपर मुस्ताङ, गोसाइकुण्ड, हलेसी, मार्दि हिमाल, पाथिभरा, पोखरा, सेफोक्सुन्डो,सुकुटे लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरूको विभिन्न टूर प्योज ल्याएको छ ।
एजेन्सीका अनुसार सुकुटेको शुल्क र्याफटिङ सहित प्रतिव्यक्ति ५ हजार रुपैयाँसम्म रहेको छ । सेफोक्सुन्डो प्रतिव्यक्ति ४० हजार, पोखरा ७ हजार, पाथिभरा ११ हजार ५००, कालिञ्चोक ३ हजार ५०० देखि ४ हजार, हलेसीको १५ हजार ५०० रुपैयाँसम्मको प्याकेज रहेको छ ।
गोसाइँकुण्डको २४ हजार ५०० देखि ३० हजार ५००,माथिल्लो मुस्ताङको १५ देखि २२ हजार रुपैयाँ, राराको १७ देखि २२ हजार रुपैयाँसम्म दार्जिलिङको २३ हजार ५००, तिलिचो २० हजार,अन्नपूर्ण १८ हजार ५०० भारतको चारधामको ३५ हजार रुपैयाँसम्मको टूर प्याकेज रहेको एजेन्सीले जनाएको छ । भक्तपुर होलिडेजले प्रतिव्यक्ति ८ हजार ५०० रुपैयाँमा मुक्तिनाथको टूर प्याकेज ल्याएको छ ।
यसैगरी, प्रभु ट्राभल एण्ड टूरले ९ हजार ५०० रुपैयाँमा मुक्तिनाथको टूर प्याकेज ल्याएको छ । बज्रा योगिनी ट्राभल्र्स एण्ड टूरले २३ हजारमा रारा घुम्न सकिने प्याकेज ल्याएको छ ।
गौतम होलिडेजले १४ हजार ५०० मा अपर मुस्ताङ, ९ हजार ५०० मा मुकितनाथ, ३ हजार ५०० मा कालिञ्चोक, १७ हजारमा रारा, ७ हजार ५०० मा सौराह, १२ हजार ५०० मा मार्दी हिमाल,४ हजारमा बन्दीपुर घुम्न सकिने टूर प्याकेज ल्याएको छ ।
यस्तै, राइजिङ माउन्टेन ट्राभलले प्रतिव्यक्ति ९ हजार ५०० रुपैयाँमा मुक्तिनाथ टूर प्याकेज ल्याएको छ । हाइक अन ट्राभल ट्रेकले ८५०० रुपैयाँमा मुक्तिनाथ घुम्न सकिने जनाएको छ ।