जुत्ताको आयात बढ्यो, तर छैन व्यापार

काठमाडौं । दशैं अघिका दुई महिनामा डेढ अर्ब बढीको जुत्ता आयात भएको छ । अन्यसमय भन्दा चाडापर्व अघि बढी जुत्ता आयात हुने गर्छ । साउन र भदौमा वर्षभरी आयात हुने जुत्ताको एकतिहाई जुत्ता आयान हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा जुत्ता आयात बढेको छ । चालु आवको २ महिना (साउन र भदौ) मा १ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको छ । सो रकममा ७५ लाख २४ हजार जोर जुत्ता आयात भएको हो ।

चालु आवमा गत वर्षको सोही अवधिको तुलनामा ५३ करोड बढीको जुत्ता आयात भएको हो । गत वर्षको भदौसम्म १ अर्ब १५ करोड रुपैयाँ बढीको जुत्ता आयात भएको थियो ।

जुत्ता आयात बढे पनि व्यापार भने उत्साहजनक नरहेको व्यापारीहरू बताउँछन् । दशैं लागे पनि अन्य समयको भन्दा थोरै मात्र व्यापार बढेको उनीहरूको भनाइ छ ।

पछिल्लो समय जुत्ताको खपत समेत घटेको व्यवसायी बताउँछन् । फूटवेयर एशोसियसनका उपाध्यक्ष नानिराज घिमिरे विगतका वर्षहरूमा जस्तो यस वर्ष जुत्ताको व्यापार सन्तोषजनक नरहेको बताउँछन् ।

‘जुत्ता यो वर्ष सोचे जस्तो विक्री हुन सकेको छैन, उत्पादन भइरहेको छ, बजार र माग पहिले जस्तो हुन छाड्यो, अब चाहिने बेला किन्ने भए, जुत्ता किन्न दशैँ नै आउनुपर्छ भन्ने भएन,’ उनले चाणक्य पोष्टसँग भने ।

उनका अनुसार मान्छेहरूले ब्राण्डेड जुत्ता खोज्ने हुँदा त्यसै अनुसार नेपाली जुत्ताको उत्पादन र निर्यात पनि बढ्दै गएको छ । कोभिडको असरका कारण ५० प्रतिशत मात्र सञ्चालनमा आएको जुत्ता उद्योग हाल आफ्नै अवस्था फर्किने क्रममा रहेको उनले बताए ।

गत आर्थिक वर्षमा कुल ८ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको थियो ।सो रकममा ४ करोड ६६ लाख ८ हजार जोर जुत्ता आयात भएको थियो ।

जुत्ता उत्पादक उद्योग महासंघका पूर्वाध्यक्ष कृष्णकुमार फुयाल नेपालका उद्योगहरूले जुत्ताको माग धान्न सक्ने बताए । तर, आयात कायम हुँदा त्योसँग प्रतिस्पर्धा गर्दै अघि बढ्नु परेको उनको भनाइ छ ।

फूटवेयर क्षेत्रमा ३० अर्ब रुपैयाँ बढी लगानी रहेको छ । यस क्षेत्रमा १५ सय बढी उद्योगहरू रहेका छन् । सो उद्योगमा १० हजार बढी कामदारहरूले प्रत्यक्ष रोजगारी पाएका छन् ।

राज्यले जुत्ता उत्पादनमा आत्मनिभरताका लागि कुनै टेवा पुर्याउन सक्ने काम गरेको देखिँदैन । सरकारको तर्फबाट नीतिगत रूपमा केही निर्णयहरू आए त्यसले नेपालको जुत्ता उद्योगलाई माथी लागेर आत्मनिर्भर तर्फ डोराउने व्यवसायीहरू बताउँछन् ।

व्यवसायीहरू जुत्ता उत्पादन उद्योगहरू सधै सरकारको प्राथमिकताबाट टाढा रहेको फूटवेयर एशोसियसनका उपाध्यक्ष घिमिरे बताउँछन् । फूटवेयर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने र यसमा सरकारले लगानी सुनिश्चितता गर्नुपर्ने उनी बताउँछन् ।

आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ७७ करोड रुपैयाँ बराबर रकमको ४ करोड ११ लाख जोर जुत्ता आयात भएको थियो । उक्त आवमा ७९ करोड ५५ लाख रुपैयाँ बराबरको जुत्ता निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा कुल ५ अर्ब ६९ करोड ८ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५÷७६ मा कुल ७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा कुल ४ अर्ब २७ करोड १५ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल तथा कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ७३/७४ मा कुल ३ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको थियो ।

 

निःशुल्क बाँड्न ५ लाख ५० हजार थान सिटामोल उपलब्ध Read Previous

निःशुल्क बाँड्न ५ लाख ५० हजार थान सिटामोल उपलब्ध

यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान सुरू, यस्ता छन् विशोषता Read Next

यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान सुरू, यस्ता छन् विशोषता