मोबिलाइजेशन रकम दिए पनि अघि बढेन तीनकुने आर्क ब्रिजको डिजाइन

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित वाग्मतीमा आर्क ब्रिज निर्माणका लागि ठेकेदारलाई मोबिलाइजेशन रकम उपलब्ध गराइएको छ ।

उक्त पुल निर्माणको ठेक्का पाएको वाइपी किँरातेश्वर जेभीले पहिलो चरणको मोबिलाइजेशन रकम उपलब्ध गराइएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

उक्त जेभी र आयोजना बीच साउन १० गते निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीलाई पहिलो चरणको मोबिलाइजेसनको रकम समेत दिइसकेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।

उनका अनुसार काम गर्न भनेर निर्माण व्यवसायीलाई मोबिलाइजेसन रकम १ करोड रुपैयाँ दिइसकेको छ । तर, निर्माण व्यवसायीले हालसम्म डिजाइन समेत सुरू नगरेको उनले बताए ।

‘हामीले निर्माण कम्पनीलाई मोबिलाइजेसनको लागि सुरूको रकम भुक्तानी गरिसकेका छाैं, अब उसले आफैं डिजाइन बनाएर निर्माण गर्नेछ,’ जोशीले चाणक्य पोष्टसँग भने ‘तर, अहिलेसम्म उसले केही काम सुरू गरेको छैन, छिटै काम सुरू गर्छ होला, चाडपर्वले गर्दा अहिले सुरू नगरेको हुन सक्छ ।’

वाइपीले निर्माण अनुमानित बजेटभन्दा ३५ प्रतिशत कम बजेटमा निर्माण पूरा गर्ने गरी ठेक्का पाएको थियो । उक्त कम्पनीले २४ करोड ५९ लाख ६६ हजार रुपैयाँमा आर्क ब्रिज निर्माणको ठेक्का पाएको आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी जोशीले चालु आवभित्रै डिजाइनको काम सुरू हुने बताए । उनले पुलको डिजाइनको काम गरेर निर्माणको काम समेत चालु आवबाट सुरू गरिने जानकारी दिए ।

सम्झौता अनुसार ४२ महिना भित्र उक्त निर्माण कम्पनीले आर्क ब्रिजको निर्माण पूरा गरिसक्नु पर्नेछ । डिजाइनका लागि ६ महिना छुट्टाइएको छ ।

९ वर्षदेखि अलपत्र

तीनकुने आर्क ब्रिज पुल ९ वर्षदेखि अलपत्र रहेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ ठेक्का आवहान गरि पुल निर्माणलाई गति दिइँदै छ ।

पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तोकिएको म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गरिएको थियो ।

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।

आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरू गर्दा ‘मोबिलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो । २१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले पप्पुलाई ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।

 

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र, अब कति बाँकी छ काम ? Read Previous

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र, अब कति बाँकी छ काम ?

३ वर्षपछि श्री एयरलाइन्सको माउन्टेन फ्लाइट पुनः सुरू, भाडादर कति ? Read Next

३ वर्षपछि श्री एयरलाइन्सको माउन्टेन फ्लाइट पुनः सुरू, भाडादर कति ?