काठमाडौं । सडक विस्तार आयोजना अन्तर्गत निर्माणाधीन सबै आयोजनाको म्याद थप भएको छ । हाल निर्माणको चरणमा रहेका आयोजना अन्तर्गतका सडकहरूको म्याद आगामी चैत मसान्तसम्म थपिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।
उनका अनुसार अधिकांश आयोजना अन्तिम चरणमा रहेकाले चैतसम्म मात्रै म्याद थप गरिएको हो । आयोजना अन्तर्गत ८ वटा सडक खण्डमा विस्तारको काम भइरहेको छ । सो मध्ये ३ वटा आयोजना सम्पन्न भइसकेका छन् ।
आयोजनाका सूचना अधिकारी जोशीका अनुसार भैंसेपाटी–नख्खु, ढोलाहिटी–लेले, ग्वार्को–लामाटार, चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल सडकको काम पूरा गर्न म्याद थपिएको हो । उक्त सडकहरूको २०७९ चैत ३० गतेसम्मका लागि म्याद थप गरिएको जोशीले बताए ।
उनका अनुसार यी आयोजनाहरू सबै अन्तिम चरणमा रहेकाले थप भएको समय अवधिभित्रै निर्माण पूरा हुनेछ । ‘सबै आयोजनाको म्याद थप भइसकेको छ, धेरै काम बाँकी छैन, सबै जसोको पिच गर्ने काम मात्र बाँकी हो,’ जोशीले चाणक्य पोष्टसँग भने ‘तोकिएको समयमै पूरा हुन्छ, केहीको फुटपाथ, रेलिङ बनाउने जस्ता काम छन्, त्यति गरेर हस्तान्तरण गरे सकिन्छ ।’
आर्थिक वर्ष २०७७/७८ मा कोभिड १९ का कारण गति लिन नसकेको विस्तारको कामले २०७८/७९ सम्ममा सम्पन्न गर्ने योजना रहेको थियो । लक्ष्य अनुसार काम हुन नसकेको यस आयोजनामा थप ६ महिनाका लागि म्याद थप गरिएको हो ।
कुन सडकको कति बाँकी छ काम
चाबहिल–जोरपाटी–साँखु सडक : चाबहिल–साँखु सडक खण्ड अन्तर्गत थलीमा फुटपाथहरूको काम हुँदैछ । दशैँ अगाडि नै कालोपत्र गर्ने लक्ष्य रहेको यस खण्डमा भदौ महिनाभरी पानी परेका कारण हालसम्म सोचे जस्तो काम हुन नसकेको जोशीले बताए । यस खण्डमा झण्डै ५०० मिटर पिच गर्न बाँकी रहेको छ ।
कुल ११.६ किलोमिटर लम्बाइको यस सडकको ९५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । ४ वटा ठेक्कामा काम भइरहेको सो खण्डमा यथास्थितिमा सम्पन्न गर्नेगरी काम भइरहेको जोशीले बताए ।
आयोजना अन्तर्गत थली चोकमा कालोपत्र गर्न बाँकी रहेको हो । यो आयोजना अन्तर्गत सबै काम २०७९ चैत ३० गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।
नख्खुखोला–भैंसेपाटी–बुंमती सडक : यस सडक आयोजना अन्तर्गत २ वटा प्याकेजमा ५ किलोमिटर सडकमा माटो हाल्ने, हिमपाइप हाल्ने, रोड ग्रेडिङको काम भइरहेको छ । २०७३/७४ मा सुरू भएको यो आयोजनामा ९० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । यस आयोजना अन्तर्गत कालोपत्र गर्ने काम मात्र बाँकी रहेकाले चैत ३० गतेभित्र सम्पन्न हुने जोशीले बताए ।
इमाडोल–हरिसिद्धि–गोदावरी–लामाटार सडक : यस आयोजना अन्तर्गत हरिसिद्धि–गोदावरी खण्डमा कालोपत्रको काम सम्पन्न भएको छ । ८ किलोमिटर लम्बाइ रहेको सो सडक आयोजनामा हाल कालोपत्र सकी अन्य पेन्टिङ तथा रेलिङको काम भइरहेको छ । यस खण्डमा हस्तान्तरणको काम बाँकी रहेको छ । बाँकी काम सकेर चैत ३० गतेभित्र हस्तान्तरण गरिने उनले बताए ।
ढोलाहिटी–चापागाउँ–लेले सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । यस खण्डमा लेलेसम्म एक लेयरको कालोपत्रको काम सकिएको आयोजनाले जनाएको छ ।
२०७३/७४ मा सुरू भएको यस आयोजनामा यथास्थितिमा निर्माणको काम भइरहेको छ । यस खण्डमा असोज ३० गतेभित्रै काम सकेर हस्तान्तरण हुने जोशीले बताए ।
जोरपाटी–सुन्दरीजल सडक : यस सडक आयोजना अन्तर्गत ७ किलोमिटर लम्बाइमा कालोपत्र गरिएको आयोजनाले जनाएको छ । २०७३ असारमा सुरू भएको यस आयोजना २०७८/७९ मा सम्पन्न गर्ने भनिए पनि पूरा हुन नसके पछि २०७९ चैत ३० गतेसम्मका लागि म्याद थप गरिएको छ । यस खण्डमा थोरै भागमा पिचको काम मात्र बाँकी रहेकोले चाँडै सकिने उनले बताए ।
पूरा भएका सडक
कर्मनाशा खोला–गोदावरी सडक : यस सडक आयोजना अन्तर्गत कुल साढे ७ किलोमिटर लम्बाइको सडक खण्डमा कालोपत्र भइसकेको छ । २०७३/७४ मा सुरू भएको यस आयोजनामा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको थिएन । सो खण्डमा यथास्थितीमा काम सम्पन्न गरिएको हो ।
पेप्सीकोला–सल्लाघारी सडक : साढे ४ किलोमिटर लम्बाइ रहेको यस सडकको काम पूरा भइसकेको छ । यस खण्डको ठेक्का कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभी पाएको थियो ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक : ११ किलोमिटर लम्बाइ यस खण्डमा काम सम्पन्न भइसकेको छ । ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएर बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गरिएको हो ।