नेपाल लाइफको सेयर मूल्य ११ वर्ष यताकै सस्तो, यस कारण लगातार घट्दै छ भाउ

काठमाडौं । सेयर बजारमा ‘ब्लु चिप’ कम्पनीको रुपमा चिनिने नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ११ वर्ष यताकै सस्तो भएको छ । गत वर्षदेखि लगातार मूल्यमा गिरावट आएपछि कम्पनीको सेयर मूल्य ११ वर्ष यताकै सस्तो भएको हो ।

बिहीबार (१२:३० बजेसम्म) कम्पनीको सेयर मूल्य ५९१ रुपैयाँमा आएको छ । यो पछिल्लो ११ वर्ष यताकै सस्तो हो ।

यसअघि २०६८ कम्पनीको सेयर मूल्य ६०० रुपैयाँ हाराहारीमा थियो । त्यसयता नेपाल लाइफको सेयर मूल्य ६०० रुपैयाँ मुनि झरेको थिएन् ।

विगतमा अधिकतम प्रतिकित्ता ५५७० रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ६०० तल झरेको हो । पछिल्लो १ वर्षमा मात्रै कम्पनीको सेयर मूल्य २२०० रुपैयाँभन्दा धेरैले घटेको हो ।

विगतका वर्षहरुमा बीमा क्षेत्रका कम्पनीमध्ये अधिकांश सूचकमा नम्बर रहँदै आएको नेपाल लाइफ गत वर्षदेखि खस्कँदो अवस्थामा रहेको छ । गत असार मसान्तसम्म कम्पनी ३५ करोड बढी नोक्सानीमा पुगेको छ ।जोखिम व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनु पर्दा कम्पनी घाटामा पुगेको हो ।

साथै, विगतमा बम्पर लाभांश दिँदै आएको कम्पनीले पछिल्ला दुई वर्षमा लाभांश पनि घटाएको छ । आव २०७६/७७ को मुनाफाबाट जम्मा १४ प्रतिशत मात्रै लाभांश दिएको थियो भने गत आव २०७७/७८ को मुनाफाबाट १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

वित्तीय अवस्था र लाभांश क्षमता घट्दै गएपछि कम्पनीको सेयर मूल्यमा पनि लगातार गिरावट आएको हो । चुक्ता पूँजीको आधारमा नाफा बढाउन नसक्दा कम्पनीके लाभांश क्षमतामा ह्रास आएको हो ।

कम्पनीको नाफा र लाभांश क्षमता दुवै घट्दै गएपछि कम्पनीको सेयर मूल्यमा पनि लगातार गिरावट आएको हो । यद्यपि, कम्पनीको व्यपार व्यवसाय भने बढ्दो क्रममै छ ।

यस्तो छ वित्तीय अवस्था

गत असार मसान्तसम्म कम्पनी ३५ करोड २७ लाख ?पैयाँ नोक्सानी व्यहोरेको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नोक्सानी व्यवस्थापनका लागि ७७ करोड ८० लाख रुपैयाँ छुट्याएसँगै कम्पनी घाटामा गएको हो । इन्स्योरेन्सले विगतका वर्षहरुको वैदेशिक रोजगार बीमाहरुको पुल व्यवस्था पनि यही त्रैमासमा गरेकाले नोक्सानी बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीले ३४ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, बीमालेख धितोबापत २४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी, कम्पनीले पुनर्बीमा कमिसन बापत १ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

हाल ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडामा २८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । यस्तै, कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ र महाविपत्ती कोषमा ७२ करोड रुपैयाँ सञ्चित छ ।

नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १२२.२९ रुपैयाँ छ ।

अटेरी जनप्रतिनिधिलाई पौने ४ अर्ब जरिवाना तिराउँदै आयोग, नतिरे स्वतः पद खारेज Read Previous

अटेरी जनप्रतिनिधिलाई पौने ४ अर्ब जरिवाना तिराउँदै आयोग, नतिरे स्वतः पद खारेज

व्यतीत बीमालेख नवीकरण गर्दा प्राइम लाइफले ५० प्रतिशत छुट दिने Read Next

व्यतीत बीमालेख नवीकरण गर्दा प्राइम लाइफले ५० प्रतिशत छुट दिने