ब्याजदर वृद्धिले अर्थतन्त्रलाई झन् संकटमा धकेल्दै

काठमाडौं । असोजमा निक्षेपकै ब्याजदर १५ प्रतिशतभन्दा बढी पुगेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका व्यवसायीहरू झस्किएका छन् ।

६ महिनादेखि ब्याजदर नबढाउने भद्र सहमति गर्दै आएका बैंक संञ्चालकहरूले असोजमा सो सहमति खारेज गरेसँगै ब्याजदर आकाशिएको छ ।
जसको कारण उद्योगीहरूले कर्जाको ब्याजदर महंगो तिरिरहेका छन् भने उत्पादन लागत बढाएर वस्तुको भाउ पनि बढाउनमा टेवा पुर्याएको छ । बैंकिङ प्रणालीमा तरलता अभावको समस्याले माग अनुसार कर्जा लगानी गर्न नसक्दा ब्याजदर चर्किएको छ । सामान्यतया खुला बजार अर्थतन्त्रमा ब्याजदरको निर्धारण बजारले गर्ने मान्यता राखिन्छ ।

तरलता अभावका बाबजूद कर्जाको माग बढी भए ब्याजदर बढ्ने र निक्षेप बढी भएर कर्जाको माग घटे प्रणालीमा पैसा थुप्रिएर ब्याजदर घट्ने गर्दछ । तर, बैंक तथा वित्तीय संस्थाहरू बीचको अस्वस्थ प्रतिस्प्रर्धा, तरलता अभावले एकतिर महंगो ब्याजदरको मारमा व्यवसायीहरू परिरहेका छन् भने अर्कोतर्फ संकूचीत आर्थिक गतिविधि र उत्पादन लागत बढ्दा आर्थिक वृद्धिदरमा असर पर्ने देखिन्छ ।

उत्पादन क्षेत्रले गत वर्षदेखि ब्याजदर वृद्धि मात्र नभएर लगानीयोग्य रकम अभावको सामना गरिरहेको छ । ठूला उद्योग तथा उत्पादनमुलक क्षेत्रहरूमा लगानी गर्न चाहाने व्यवसायीहरूले बैंकबाट कर्जा पाउन सकेका छैनन् ।

पछिल्लो एक वर्षमा निक्षेपकै ब्याजदर साढे ३ प्रतिशत बढेको नपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालुु वर्षको पहिलो महिनासम्म आइपुग्दा बैंकको आधारदर दोहोरो अंकमा पुगेको छ भने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ ।

ब्याजदर वृद्धिले उद्योगको लगानी नै धरापमा परेको नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्षले बताए । ‘बैंकको ब्याज वृद्धिले हामी उद्योगी व्यवसायीहरूलाई आकुलब्याकुल बनाइसकेको छ । बारम्बार भन्दै आएका छौं, उत्पादन बढाउन नीति क्षेत्रको पनि उत्तिकै योगदान छ,’ उनी भन्छन्, ‘ तर राजनीति गर्नेहरूलाई यो देशका व्यवसायी नागरिक नै होइनन् जस्तो लाग्छ । नलगानी गर्ने वातावरण छ न त्यस्ता नीति सरकारले बनाउँछ । व्यसाय र उद्योगलाई दुखाएर आर्थिक उन्नति कसैले गर्छु भन्छ भने त्यो भ्रम हो ।’

बैंकले मनलाग्दी ब्याज बढाउँदा साना तथा ठूला ऋणीहरूलाई समस्यामा पारेको ती उद्योगी गुनासो गर्छन् । रोजगारी सृजना र राष्ट्रिय उत्पादनमा महत्त्वपूर्ण स्थान रहेको मझौला व्यवसायीले व्यवसाय नै बन्द गरेर हिँड्नुपर्ने अवस्था आएको उनले बताए ।

आर्थिक वृद्धिमा दबाब

सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएपनि संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्रले सो लक्ष्य भेट्टाउन नसक्ने अर्थशास्त्रीहरू बताउँछन् । गत वर्ष ७ प्रतिशको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकोमा तथ्यांक विभागले ५.८ प्रतिशतको आसपासमा रहने अनुमान गरेको छ ।

चालु र आगामी वर्ष पनि आर्थिक वृद्धि अझै खस्कने अन्तर्राष्ट्रिय संस्थाहरूले प्रक्षेपण गरिरहेका छन् । ब्याजदर वृद्धिले लागत बढाएर उत्पादन निरुत्साहन गर्नुका सथै आयातमुखी अर्थतन्त्रलाई प्रोत्साहन दिएको अर्थविद्हरू बताउँछन् ।

‘भुक्तानी सन्तुलन र विनिमय संचितिको दबाबमा रहेको अर्थतन्त्रलाई तरलता अभाव र बैंकको ब्याजदर वृद्धिले लगानीमा निरुत्साहन गरेको छ । लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल गर्नेगरी सरकारका संयन्त्रहरूले काम गरेको देखिदैन,’ एक अर्थविद्ले भने, ‘नियामकीय नीतिगत कदमहरू पनि यसका कारक हुन् । उद्योग, व्यवसाय गर्न चाहानेहरूले बैंकबाट सहज र सहुलियत ऋण पाउने अवस्था छैन् । यसको प्रतिबिम्ब आर्थिक वृद्धिमा निश्चय नै देखिन्छ ।’

चालु वर्षको आर्थिक वृद्धि ४ प्रतिशतको आसपासमा रहने एसियाली विकास बैंक, आइएमएफ र विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले प्रक्षेपण गरेका छन् । राष्ट्र बैंकले विदेशी मुद्रा संचिति कायम राख्न बाह्य स्थायित्वको नीति लिएकाले दबाबमा रहेको आर्थिक वृद्धि हासिल गर्ने चुनौती कायम छ ।

वित्तीय संकटको मार

वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभावको संकट कायम रहेको करिब एक वर्ष भइसकेको छ । कर्जा लगानीको तुलनामा निक्षेप संकलन नहुँदा वित्तीय संस्थाहरूले ऋण दिन सकेका छैनन् ।

गत वर्ष १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य पूरा गर्न नसकेका बैंक तथा वित्तीय संस्थाले यस वर्ष पनि लक्ष्य भेट्टाउन मुस्कील पर्ने देखिएको छ । राष्ट्र बैंकको नीतिगत कदम तथा बढ्दो व्यापार घाटाले तरलता संकट निम्त्याएको बैंकरहरू बताउँछन् ।

पछिल्लो समय बैंकहरूले स्रोत अभावले लगानी गर्न सकेका छैनन् भने ब्याजदर वृद्धिको होडले निक्षेप खोस्ने प्रतिस्प्रर्धा चलेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत भदौमा बैंकहरूले समग्रमा १३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । राष्ट्र बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा ५० खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ भने ४२ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस अवधिमा वाणिज्य बैंकको निक्षेप संकलन ४४ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४७ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । औषतमा सीडी रेसीयो ८७.६१ कायम रहे पनि डेढ दर्जन वाणिज्य बैंकको सीडी रेसीयो ९० प्रतिशत नाघेको राष्ट्र बैंकले जनाएको छ । ९० प्रतिशत अनिवार्य सीडी कायम गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थासँगै बैंकहरूले कर्जा विस्तारमा दबाब महसुस गरिरहेका छन् ।

असहज अर्थतन्त्र

गत आवको सुरूदेखि ओरालो लागेका अर्थतन्त्रका सूचकहरू हालसम्म लयमा फर्कन सकेका छैनन् । कोभिडपछि अचाक्ली भएको आयात र अन्तर्राष्ट्रिय रुपमा इन्धनको मूल्य वृद्धिले व्यापार घाटाको ग्राफ निकै बढाएको छ ।

जसको कारण विदेशी मुद्रा संचिति घट्दा समग्र आर्थिक प्रणालीमा नकारात्मक असर पुर्याएको छ । सरकारले विदेशी मुद्रा संचिति जोगाउन विभिन्न वसतुको आयात प्रतिबन्धलाई हालसम्मा निरन्तरता दिएको छ ।

आन्तरिक उत्पादन बढाउन नसक्दाको परिणाम अर्थतन्त्र संकूचनको दिशामा अघि बढेको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् । हरेक महिना डेढ खर्ब नाघिरहेको व्यापार घाटाले पूँजी पलायनमा बढाएको छ । सोही कारण उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ ।

यती एयरलाइन्सले एक वर्षमा बोक्यो १० लाख यात्रु Read Previous

यती एयरलाइन्सले एक वर्षमा बोक्यो १० लाख यात्रु

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी Read Next

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी