आर्थिक संघ र सीबीफिनकोे विश्व बैंकसँग अन्तरक्रिया

काठमाडौं । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा अन्तरक्रियामा गरेको हो । नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको अनपेगिङ गर्दा हुने फाइदा र बेफाइदा विषयमा चर्चा भएको थियो ।

अहिले प्रतिस्पर्धी क्षमता कमजोर भएर निर्यात घटिरहको, वित्तीय घाटा उच्च हुँदै गइरहेको तथा अन्य उदयमान चुनौतीहरूको सामना गर्न कठिन बन्दै गएको सन्दर्भमा अनपेगिङले निम्यताउने संकटका विषयमा पनि गम्भीर छलफल भएको छ ।

कार्यक्रममा विश्व बैंकले उथलपुथलको समयमा पनि अवसरको सदुपयोग गर्ने वास्तविकतालाई मान्यता दिने खालका सुझाव दिएको छ । दिगो आर्थिक बृद्धिका लागि स्वदेशी उत्पादनमा बृद्धि गर्न, श्रोत परिचालन गरेर एमएसएमइएसलाई प्रवद्र्धन गर्न र अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा ल्याउन आवश्यक रहेको प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले सुझाव दिए ।

सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराउने हो भने यसले साँच्चिकै तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने धारणा राखे ।

नेपाल आर्थिक संघका कार्यकारी समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले व्यापार घाटा, कृषि क्षेत्रको बृद्धि, सामाजिक सुरक्षा संजाल, वित्तीय घाटा लगायतका समस्याहरुको बारेमा चर्चा गरे ।

विश्व बैंकका अर्थशास्त्री टिमरले दक्षिण एशियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्ने, विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाब दिए ।

उनले यस महत्वपूर्ण समयमा जीविकोपार्जनको लागि घरपरिवार लगायत समष्टिगत आर्थिक स्तर र व्यापारको स्तरमा लचिलोपन बढाउन आवश्यक रहेको बताए । आयात बढ्दै गएको अवस्थामा पनि नेपालले वैदेशिक स्रोतसाधनमा राम्रो पहुँच राख्ने भएकाले अहिले सोचे जस्तो अवस्था नरहेको भन्दै टिमरले संघीय सरकारका विभिन्न स्थानीय तहमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गरी राजस्व परिचालनमा जोड दिनुपर्ने बताए । यस्तै, युक्रेन–रसिया युद्ध जस्ता विश्वव्यापी घटनाहरूले इन्धनको मूल्य बृद्धि भएका कारण विश्वव्यापी रुपमा नै खाद्यान्नको मूल्य बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा गोल्यान, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशव बहादुर रायमाझी, सचिव कुशप्रसाद मल्ली, कार्यकारी समिति सदस्य महेन्द्र कुमार गोयल, प्रतापजंग पाण्डे, प्रा डा. हिरेन्द्र मान प्रधानलगायतको सहभागिता रहेको थियो ।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री म्यानेजर सुश्री लाडा स्ट्रेलकोवास कार्यक्रममा विश्व बैंक नेपाल कार्यालयका वरिष्ठ अर्थशास्त्री सुश्री एलिस जे ब्रुक्स, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री इकोनोमिस्ट तथा कार्यक्रम प्रमुख डा ते ह्युन ली र विश्व बैंकका अन्य अर्थशास्त्रीहरू सहभागी थिए ।

सानिमा बैंकले संञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन Read Previous

सानिमा बैंकले संञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन

नेपाललाई जापानद्वारा करिब १६ अर्ब सहयोग Read Next

नेपाललाई जापानद्वारा करिब १६ अर्ब सहयोग