थप ८ स्थानबाट ई-सिम वितरण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले थप ८ स्थानबाट ई–सिम वितरण गर्ने भएको छ । हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क ई-सिम वितरण गर्दै आएको टेलिकमले उपत्यकाका थप ८ ठाउँबाट ई–सिम वितरण गर्ने भएको हो ।

ग्राहकको रुचि र मागलाई मध्यनजर गर्दै टेलिकमले थप स्थानबाट ई–सिम वितरण गर्न लागेको हो ।टेलिकमले नक्शाल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु, छाउनी कार्यालयहरूका साथै ग्राहक सेवा केन्द्र पुलचोकबाट ई–सिम वितरण गर्ने भएको छ ।

मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई-सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई-सिमका लागि केन्द्रमा जान कम्पनीले अनुरोध गरेको छ।

यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ। यसरी डायल गर्दा ईआइडी लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा ई-सिम चल्छ भनी थाहा पाउन सकिन्छ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई-सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ।

आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः ई-सिम चल्छ भन्ने कुरा थाहा हुन्छ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको विक्री मूल्यमै ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

 

ठेकेदार र स्थानीयका कारण ७ वर्षमा पनि बनेन चाबहिल-साँखु सडक Read Previous

ठेकेदार र स्थानीयका कारण ७ वर्षमा पनि बनेन चाबहिल-साँखु सडक

त्रिशूली जलविद्युतको आइपीओ परेकाले आज देखि बाँकी पैसा बुझाउनुपर्ने, ८७ रुपैयाँ तिर्नुपर्ने Read Next

त्रिशूली जलविद्युतको आइपीओ परेकाले आज देखि बाँकी पैसा बुझाउनुपर्ने, ८७ रुपैयाँ तिर्नुपर्ने