Advertisement Section

नयाँ स्टक एक्स्चेन्ज आउँछ, प्रक्रिया पुग्ने सबैलाई ब्रोकर लाइसेन्स : बोर्ड अध्यक्ष हमालको अन्तर्वार्ता

Advertisement Section

काठमाडौं । धितोपत्र बोर्ड नेपाल सेयर बजारको नियामकीय संस्था हो । यसले नेपालको पूँजी बजारको विकास र लगानीकर्ताको लगानीको सुरक्षालाई कत्तिको ध्यानमा राखेर काम गरिरहेको छ भन्ने विषय सदैब विवादमा रहँदै आएको छ ।

गत फागुनदेखि अध्यक्षको रूपमा बोर्डको नेतृत्वमा आएका रमेशकुमार हमालले सुरू देखिनै निकै आक्रमकता देखाउँदै काम अगाडि बढाएका छन् । लामो व्यवसायिक जीवनपछि नियामकीय भूमिकामा आएका हमालसँग हामीले डिजिटल युगमा अब कसरी बोर्डले काम गर्छ ? बोर्डले अख्तियारी गर्ने रणनीति, नयाँ स्टक एक्स्चेन्जको अनुमति, ब्रोकर थप्ने काम लगायतका विषयमा बोर्डका अध्यक्ष हमालसँग चाणक्य पोष्टले गरेको कुराकानीको सम्पादित अंश :

अहिले सेयर बजारमा ५२ लाख लगानीकर्ता पुगेका छन् । चाहे त्यो १० कित्ताका लागि होस् वा दोस्रो बजारमा आएर कारोबार गर्नेहरू हुन् । ती ५२ लाख मानिसका प्रतिनिधिहरू बजार सुधारका लागि सधैँ अनसन बस्नु पर्ने, आन्दोलन गर्नुपर्ने, अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाउनु पर्ने जस्तो देखिएको छ । यो सबै किन भइरहेका छन् जस्तो लाग्छ ?

यो सुशासन र स्थायित्वको कुरा हो । बजारको आफ्नै आधारभूत मूल्य र प्रणाली हुन्छ । मैले विश्वको थुप्रै देशमा बसेर काम गर्दा त्यहाँको संस्कृति र डेलिभरी सिक्ने मौका पाएँ । कल्चरल डेलिभरी र कल्चरल सुशासन सिक्ने मौका पाएँ ।

नेपालमा फर्किएपछि सरकारी ओहोदामा यसरी बस्छु भन्ने कल्पना पनि गरेको थिइनँ । त्यो उद्देश्य लिएर नेपाल फर्केको पनि होइन । तर, नेपाली नागरिक भएको कारण हाम्रो देश किन विकसित भएन भन्ने चिन्ता र चासो हुनु स्वभाविक थियो ।

बोर्डमा आएर मैले सानो प्रयास गरेको छु । आफूसँग भएको सीपलाई कसरी लगानीकर्ताको हितमा उपयोग गर्न सकिन्छ भनेर लागि परेको छु । किनभने मैले बुझेको सामान्य विषय के हो भने ५२ लाख लगानीकर्ता नेपालको पूँजी बजारमा जोडिएका छन् । यो जनसंख्याका आधारमा भारतको भन्दा १५ गुणा बढी संख्या हो । ३ करोड जनसंख्यामा यो संख्या सानो होइन ।

त्यसैले, जति लगानीकर्ताको विश्वास पूँजी बजारप्रति बढ्दै गयो त्यत्ति सशक्त हुँदै जान्छ भन्ने हामीले बुझ्नुपर्ने कुरा हो । त्यसमा गाँसिएका लगानीकर्ताका साथै अन्य कारोबार गर्ने संस्थाहरूको पूँजी बजार सबल प्ल्यार्टफर्म बन्छ । त्यसबाट उनीहरूले उच्चस्तरीय सेवा दिएर आफ्नो लगानीको प्रतिफल लिने आधार बन्छ । जसरी, जुन देशमा लगानीको वातावरण सहज छ, त्यो देशमा वैदेशिक लगानी बढी आउँछ ।

त्यसैगरी, पूँजी बजारप्रति विश्वास बढ्दै गए यससँग गाँसिएका सबैको लगानीले प्र्रतिफल पाउँछन् । हामीले हरेक नीतिमा के गर्दा लगानीकर्ताको फाइदा हुन्छ, कसरी उनीहरूले प्रणालीप्रति विश्वास गर्छन् र त्यही विश्वासको जगमा नीति निमार्णको एंगल समातेका छौं । त्यो भनेको पारदर्शीता र दिगोपना हो ।

तपाईंंले यहाँ आउनु अघि पूँजी बजार, बोर्डको क्रियाकलाप, समग्र बजारको आकार लगायत सबै कुरालाई विश्लेषण त गर्नु भयो होला । र, म त्यो सिटमा गए १,२,३ यसरी, बोर्डलाई नेतृत्व गर्छु भन्ने योजना पनि बनाउनु भएको थियो होला । त्यो भिजनलाई सही सम्झेर सरकारले तपाईंंलाई यहाँ पठायो । के थियो तपाईंंले देख्नु भएको, सोच्नु भएको, अनुभव गर्नु भएको विषय ?

मैले आउने बेलामै सरकारलाई कार्य योजना दिएको थिए । त्यसमै पनि मैले सशक्त केही विचारहरू दिएको थिए । किन भने यो किसिमको काम गर्न धेरै स्ट्रङ विल पावर र गहन अध्ययन चाहिन्छ ।

यसका आफ्नै संस्थागत क्षमताका कुराहरू छन् । संस्थागत प्रविधि, क्षमता, सीप यो संस्थालाई चाहिने पूर्वाधार हुन् । चारवटा पिल्लर मध्ये एउटा आफ्नो क्षमता पनि हो । यसलाई अटोनोमी दिनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले त्यहाँ प्रयास जारी छ । यो टिपिकल सरकारी संस्था भएमा एकदमै ब्यूरोक्रयाटिक संस्था बनेर रहन सक्छ ।

अर्को बजारको महत्पूर्ण अंग भनेको एक्स्चेन्ज हो । जबसम्म एक्स्चेन्ज प्रणाली विश्वासिलो हुँदैन, तबसम्म त्यसको गभर्नेन्स, जोखिम, सूचना प्रणाली र त्यसले कारोबारमा स्वच्छता ल्याउनै सक्दैन । र, बजार अघि बढ्न सक्दैन् ।

त्यसैले मैले यो कुरालाई सुधार गर्न बजारको सिस्टमलाई लिएको हुँ । त्यो भनेको ब्रोकर र नेप्से सुधार । सीआस्वा शुल्क घटाएका छौं, अब डीपी शुल्क घटाउने तयारीमा छौं । हामीले पहिले आधारभूत कुरा बुझ्न जरुरी छ । यो संस्था के को लागि खडा भएको छ भन्ने मुख्य कुरा हो ।

जनताबाट पैसा उठाएर जम्मा गर्ने संस्था त यो होइन नि । त्यो प्रणालीलाई स्वच्छ रूपमा सबैलाई समान अवसर दिएर बजारको स्वस्थ विकास गर्ने संस्थाको रूपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।

नेप्सेमा यो जुन लिस्टिङको अवस्था छ । त्यो यत्ति परम्परागत रूपमा चलिरहेको छ कि त्यसले यो बजारको विकास सम्भव नै छैन । सबै अण्डालाई एउटै बाकसमा राखे जस्तो अहिलेको अवस्था छ । त्यसमा प्रोडक्ट र सेक्टरल विविधता छैन । त्यसैले निजी क्षेत्रको लगानीमा पनि नयाँ स्टक एक्स्चेन्ज ल्याउने अवधारणा अघि सारिएको हो ।

नेप्सेको सिस्टमामा सुधार र प्रतिस्पर्धा नभए अघि बढ्न सक्दैन् । नेप्सेलाई प्रतिस्पर्धी बनाउनकै लागि पनि निजी क्षेत्रको लगानीमा स्टक एक्स्चेन्ज खुल्नु पर्छ । अर्को ब्रोकर बजारमा सुधार ल्याउने अर्को अस्त्र हो । त्यसैले यसमा समय सापेक्ष खोज हुनुपर्छ । अब कुनै पनि हाकिमको तजबिजिमा नभएर प्रक्रिया पूरा गरेर आवेदन दिने सबैले ब्रोकर लाइसेन्स पाउने छन् ।

अबको सेबोनले साँच्चिकै खुला बजार अर्थतन्त्रको अभ्यास गर्छ ?

यो संसारका धेरै देशले धेरै वर्ष पहिलेदेखि गरेको प्रयोग हो । यसले प्रणाली व्यवस्थित र सुधार गर्छ । जहाँ प्रणाली सुधार छ, त्यो ठाउँमा केही गर्नु पर्दैन । व्यवसायीहरू पनि स्वच्छ हुनुपर्छ । अब हामी एकदमै सचेत भएर बजारमा गएर प्रतिस्पर्धा गर्न सक्छु भन्ने वातावारण तयार गर्नुपर्छ । स्वस्थ कारोबार गरेर नाफा कमाउन सक्छु भन्ने विश्वासका साथ ब्रोकरको लाइसेन्स लिने अवस्था बनाउन खोजिएको हो ।

तपाईंले अहिले लगानीकर्तालाई बजारप्रति आकर्षित गर्ने वातावरण बनाउन खोजिराख्नु भएको छ । बजार सबैको लागि खेल मैदान बनाउने कुरा गर्दै हुनुहुन्छ । तर, इन्साइडर ट्रेडिङको जालो डर लाग्दो छ । यसलाई नियन्त्रण गर्ने योजना कस्तो छ ?

इन्साइडर ट्रेडिङ सबैभन्दा ठूलो समस्या हो । त्यसको नियन्त्रण गर्न सक्ने हिसाबले बोर्डलाई बलियो बनाइएको छैन । व्यापारीहरू १०० जनामा १० जना एकदमै स्मार्ट छन् । जो भित्रि सूचना चुहाएर कारोबार गर्छन् । त्यसकारण पहिलो भनेको नियमन प्रणाली एकदमै कडा बनाउनु पर्यो ।

यसै कारण राष्ट्र बैंकले मर्जर गर्दा लामो अवधिसम्म सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरियो । जसको कारण सेयर कारोबार गर्न नपाउँदा साना लगानीकर्ता समस्यामा परे ।

टाउकेहरूको गल्तीले गर्दा साना लगानीकर्ताको सम्पत्ति पनि कारोबार हुन पाएन । त्यसकारण मैले आएको दिनदेखि नै राष्ट्र बैंकसँग परामर्श गरेर अब यो कुरालाई बोर्डले हेन्डल गर्छ छोडिदिनुस् भन्दा मौद्रिक नीति मार्फत त्यो व्यवस्थामा परिमार्जन गरिएको छ ।

अहिले बोर्डले मर्जर तथा एक्वीजिसन निर्देशिका बनाएर एक चरणमा राखिसकेका छौं । अन्य नियामकहरूको पनि प्रतिक्रिया पर्खिरहेका छौं । अब एक महिनाभन्दा बढी कारोबार नरोकिने गरी नियमावली बनाइएको छ । नेप्सेको पनि प्रविधि र सीप अभाव हुँदा त्यो समस्या निम्तिने गरेको अवस्था हो ।

नेपालको निजी क्षेत्र जुन रियल सेक्टरमा छ । अहिले नेपालमा वार्षिक ५०/६० अर्ब कारोबार गर्ने कम्पनी पनि छन् । ती संस्थालाई पब्लिक बन्ने सहजबाटो निर्माणमा कसरी काम गर्नु हुन्छ ?

अहिले हामीले नीति तथा कार्यक्रममै राखेर रियल सेक्टरका कम्पनीहरू भित्र्याउने अभियान चलाउन लागेका छौं । त्यसको लागि बोर्डप्रतिको विश्वसनियता बढ्नुपर्छ । अर्को भनेको एक्स्चेन्ज प्रतिको विश्वसनियता बढ्नु आवश्यक छ ।

रियल सेक्टरलाई पब्लिकमा ल्याउन प्रि प्राइसिङ मोडल एसेप्ट गर्नुपर्छ । किन भने जो २०/३० वर्षदेखि सबल र स्थापित कम्पनीहरू छन् उनीहरू १०० रुपैयाँमा किन आउँछन् ? त्यसैले अर्थतन्त्रको सामान्य सिद्धान्त लागू हुनुपर्छ । अर्को उनीहरूले पनि ३ सयको सेयरलाई ६ सय बनाउँछु भन्ने सोच्नु भएन । नेप्सेको सिस्टममा परिवर्तन ल्याउन खोजेका छौं । अब रियल सेक्टरका कम्पनी आउन धेरै समय लाग्दैन् । मैले आएदेखि नै बुक बिल्डिङ मार्फत रियल सेक्टरका कम्पनी आउनुपर्छ भन्दै आएको छु । बुक बिल्डिङ प्रणाली पारदर्शी र स्वच्छ हुनुपर्छ ।

त्यसको लागि इलेक्ट्राेनिक अक्सन सिस्टम चाहिन्छ । जसले फेयर मूल्यलाई ग्यारेन्टी गर्छ । नेप्से चलायमान भएको भए तीन महिनामै गर्न सकिन्थ्यो । तर, अहिले त्यो सम्भव छैन । नेप्सेमा सामान खरिद गर्नै २ वर्षसम्म लाग्ने अवस्था छ । नियामक निकायको अहिलेको ठूलो समस्या भनेको त्यही हो । त्यसले हामी मर्चेन्ट बैंकरसँग सहकार्य गर्न खोजिरहेका छौं ।

जनतालाई किन कमजोर कम्पनीहरू मात्र दिने नाफा कमाइरहेका विद्युत् प्राधिकरण जस्ता सशक्त कम्पनीहरू आउनुपर्छ भनेर लागेका छौं । प्राधिकरण समेत लिष्टिङका लागि कुलमान घिसिङसँग पटक–पटक मिटिङ गरे । तर, त्यसको लागि प्ल्यार्टफर्म आवश्यक पर्छ ।

यो प्रणाली पारदर्शी बनाउनु पर्ने सबैभन्दा पहिलो आवश्यकता हो । २० अर्बका बैंक पनि त्यही छ, ५० लाखको लघुवित्त पनि त्यहीँ छ । त्यसकारण प्रणाली पारदर्शी बनाएर ठूला कम्पनीहरू पनि कारोबारमा आउने वातावरण बनाउनुपर्छ ।

अब व्यवहारमा होइन एसएमई कानुन नै बनाएर ल्याउने र मन्त्रिपरिषद्बाटै पारित गरेर अघि बढ्ने तयारी गरिरहेका छौं । २ महिनाभित्र मन्त्रिपरिषद्बाट पारित गरेर कानुनको रूपमा कार्यान्वयनमा आउँछ, त्यसपछि नेप्सेले त्यसलाई लागू गर्नुपर्छ । र अर्को स्टक एक्स्चेन्ज पनि आउँछ ।

नयाँ–नयाँ ब्रोकरहरू थपिनेक्रम पनि सुरू भएको छ । एक्जिष्टिङ ब्रोकरले पनि यत्ति पैसा कमायो भनेर रिपोर्टहरू सार्वजनिक हुने गरेका छन् । ब्रोकर कमिसन घटाउनमा चाहिँ बोर्डले के कदम चाल्छ ?

बोर्डले अध्ययन गरेको हो । गरिरहेको छ । प्राविधिक रूपमा पनि हेर्नुपर्ने देखिन्छ । ब्यालेन्सिङ पनि चाहिन्छ । हामीले समग्र लागत हेर्ने हो । मैले अघि नै भनिसके सेबोनको शुल्क, नेप्सको शुल्क, डीपी शुल्क सबैलाई घटाउने पक्षमा छौं । हाम्रो एंगल अफ थट नै अलग छ । के ले गर्दा प्रणालीमा सुधार आउछ र समग्र सिस्टमको स्वास्थ्यमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा ध्यान छ ।

कमोडिटीको कारोबार केही अघिदेखि नै सुरू गर्ने भनेर १०/१५ वर्षदेखि चर्चा चलिरहेको छ । अहिले पनि खुल्लारूपमा कारोबार भइरहेको छ । त्यो कानुनी हो वा गैरकानुनी थाहा छैन् । तर, त्यसलाई पनि सेबोनकै मातहतमा ल्याउने प्रक्रिया के छ ?

अब कमोडिटिको लागि लाइसेन्समै जान्छौं । २ वटा लाइसेन्सको लागि आवेदन आह्वान गरिसक्यौं । यो प्रक्रिया बोर्डको निर्देशिका अनुसार नै हुन्छ । पहिले आवेदन दिएकाहरूको शुल्क लिँदैनौं । जो जससँग क्षमता र योग्यता छ ती सबैले अवसर पाउनुपर्छ । उचित सिस्टमले हेरेर त्यसमध्ये बेष्ट प्रस्तावलाई अघि बढाउने हो ।

कमोडिटी र २ वटा एक्स्चेन्जको कुरा धेरै अघिदेखि चलेको हो । विभिन्न समयमा बोर्डले निर्णय गरेर कमोडिटी अघि बढाउने पनि भन्ने हो । तर, सुधार भएन् ।

 

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै Read Previous

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

असोज ७ देखि आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन, क-कसले पाउँछन् ? Read Next

असोज ७ देखि आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन, क-कसले पाउँछन् ?