काठमाडौंबाट पूर्व चल्ने यातायात अब एउटै व्यवस्थापनमा सञ्चालन

काठमाडौं । काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात शनिबारदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ ।

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत शनिबारदेखि बस सञ्चालन गरेको महासङ्घका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिए ।

उक्त व्यवस्थापनमार्फत काठमाडौँबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्नेछन् ।

उक्त कम्पनीले एउटै व्यवस्थापनमार्फत दशैंका लागि अग्रिम टिकट बुकिङसमेत खोलेका छन् । आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ ।

हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरालगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए ।

नारायणी पूर्वका सबै क्षेत्रमा सञ्चालन हुने बस व्यवसायीलाई एउटै छाताभित्र ल्याएर सञ्चालन गर्ने निर्णयअनुसार ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन सुरु गरिएको मितेरी यातायातका सञ्चालक बिक्की गुरागाइँले बताए ।

उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौँबाट पूर्व क्षेत्रमा दैनिक सयभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन् । हाल काठमाडौँको नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ ।

२२६१ मेगावाटका 'गेम चेन्जर' दुई हाइड्रोपावर निर्माण सुरू हुँदै, सर्वसाधरणले ४४ अर्बको सेयर पाउने Read Previous

२२६१ मेगावाटका 'गेम चेन्जर' दुई हाइड्रोपावर निर्माण सुरू हुँदै, सर्वसाधरणले ४४ अर्बको सेयर पाउने

बोर्डले एकैसाथ खुलायो नयाँ ब्रोकर  र  स्टक एक्सचेन्जकाे लाइसेन्स Read Next

बोर्डले एकैसाथ खुलायो नयाँ ब्रोकर र स्टक एक्सचेन्जकाे लाइसेन्स