काठमाडौं । दशैंले छपक्कै छोपिसकेको छ नेपाली समाजलाई । दशैँ शुरु भएसँगै सेयर बजार पनि फेस्टिभ मुडमा पसेको छ । सेयर व्यवसायीहरु गाउँ फर्किन थालेका छन् ।
दशैं अघिको कारोबार भएको अन्तिम साता सेयर बजार दुई दिन लगातार दोहोरो अंकले बढेको थियो भने अन्य दिन सामान्य अंकले गिरावट आएको छ ।
ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट कारोबार रमक चाडपर्वको समयमा घट्नु स्वभावीक रहेको बताउँछन् । सेयर बजार गत बिहीबारसम्म खुल्ला हुने भएपनि २ दिन अघि देखि नै कारोबार गर्ने मानिसहरुको संख्या घटेको बताए । उनी दशैँ तिहार पछि बजार राम्रो हुन सक्ने बताउँछन् ।
‘सूचक, कम्पनीले दिने लाभांश, मार्जिन लेण्डिङको शुरुवात आदि हेर्दा चाडवाड पछि बजारले गति लिने अनुमान गर्न सकिन्छ,’ रानाभटले भने ।
दशैँ शुभकामना सँगै उनले सेयर बजारमा सबै मानिसहरुलाई जोड्न सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।
कृृष्टल ब्रोकरका सञ्चालक प्रियराज रेग्मी हाल सेयर बजार फेस्टिभ मुडमा रहेको बताउँछन् । ४ दिनसम्म बन्द हुने सेयर बजार २३ गतेबाट सञ्चालन हुने छ ।
ब्रोकरका दशैँ
ब्रोकर एसोसिएशन अध्यक्ष भरत रानाभाट :

दशैँमा पोखरा जाने तयारीमा रहेका रानाभटको घरमा टिकाको दिन मात्र दशैँको टिका लगाउने चलन रहेको छ । घर पोखरा भएकाले घुम्न र परिवार भेटघाटको काम एकै पटक हुने हुँदा खासै धेरै खर्च नहुने उनको बुझाइ छ ।
बच्चा बेला जस्तो ठूलो भएपछि दशैँ रमाइलो नहुने उनको अनुभव छ । उनी दशैँको बेला परिवारबाट टाढा घुम्न जानु भन्दा परिवारसँग रमाईलो गर्दा नै राम्रो हुने बताउँछन् ।
उनलाई सानो बेला दशैँको पिङ र दक्षिणा बढी रामाईलो लाग्ने भएपनि हाल भने कामबाट केही समय छुट्टी हुने र परिवार भेटघाट हुने भएकाले रमाइलो लाग्ने बताए ।
क्रिस्टल कंचनजंगा ब्रोकरका सञ्चालक प्रियराज रेग्मीः

उनी काठमाडौंमै दशैँ मनाउने बताउँछन् । बाल्यकालमा दायित्व र जिम्मेवारी नहुने हुँदा धेरै रमाइलो हुने तर, अहिले जिम्मेवारी बढेका कारण तनाव पनि सँगसँगै आउने उनले बताए ।
विगतमा परिवार भेटघाटका लागि दशैं नै कुनुपर्ने भए पनि अब त्यो कम हुँदै गएको छ । भेटघाटका लागि दशैँनै कुर्नुपर्ने अवस्था उनको छैन ।समय अनुसार दशैँ बदलिदैं गएको उनले बताए ।
अनलाइन सेक्यूरीटीजका सञ्चालक अन्नत कुमार पौडेलः

उनी यो पाली जुठो परेकाले दशैँ घरमै बसेर सामान्य ढंगले मनाउने भएका छन् । ओखलढुंगा घर भएका उनी सधैं दशैँ मनाउन गाउँनै जाने भए पनि यो पटक जान नपाउने बताए ।