काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैं काठमाडौंमै मनाउने भएका छन् । बुबा काठमाडौंमै भएका कारण साइतमै बुबाको हातबाट टीका लगाउने कार्यक्रम रहेको छ ।
यस्तै टीकाको दिनभरी टीका ग्रहण गर्न आउने जति सबैलाई टीका जमरा लगाउने कार्यक्रम रहेको उनका प्रेस सल्लहाकार कुन्दन अर्यालले जानकारी दिए ।
नवमीको दिनमा भने उनी गृह जिल्ला झापा जाँदै छन् । उनी बिहानै झापा गएर बेलुका फर्किने कार्यक्रम रहेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल

उनी दशैंको वास्तविक रमाईलो गाउँ घरमै हुने बताउँछन् । उनलाई दशैंको रमाईलो सानो बेलामै बढी लाग्ने गरेको बताउँछन् । ‘सानो बेला साथीभाई घरपरिवार सबै भेटघाट हुने,नयाँ लुगा लगाउने, पिङ खेल्ने, टीका लगाएपछि केरा र चिउरा खाने लगायतका पलहरु असाधै मन पन पथ्र्यो,’ मन्त्री खनालले चाणक्य पोष्टसँग भने ।
दशैंको बेला सबैभन्दा बढी मन पर्ने भनेको जोखिमवाला ठाउँमा डोरीको पिङ हालेर खेल्नु भएको उनले बताए ।
उनले दशैंमा दक्षिणाको भने कुनै आश नहुने गरेको बताए ।
‘गाउँमा छोरी चेलीलाई दक्षिणा दिने र छोरालाई दक्षिणा नदिने चलन भएकाले दक्षिणाको कहिले आश गरिएन’ मन्त्री खनालले भने । उनले दशैंको मूल्य–मान्यतामा कमी नआए पनि मनाउने तरिकामा परिवर्तन आएको बताए ।
‘दशैंमा मासु र रक्सी बढी खाने भए पनि त्यसलाई अलि कम गर्नुपर्ने अवस्था आएको छ । भेटघाट गर्नु रमाईलो गर्नु त हाम्रो संस्कार नै भइहाल्यो,’ मन्त्री खनालले भने ।
तर, यो पटक भने उनको घरमा जुठो परेकाले टीका लगाउन नपाइने बताए । उनको आमा काठमाडौंमै बस्ने भएकाले सामान्य रुपमा सबै परिवार भेटघाट गरेर दशैं काठमाडौंमै मनाइने उनले बताए ।
मन्त्री खनाल विकृती तथा कट्टर अन्ध विश्वासलाई नमान्ने भएकाले ९४ वर्षिया आमाको हातबाट टीका थाप्ने गरे पनि अन्य रुढिवादी परम्परा नमान्ने गरेको उनले बताए ।
‘संस्कृतिलाई जर्गेना गर्दै लैजानु पर्छ, दशैं, तिहार मनाउने र यसमा सहभागी हुनु हाम्रो संस्कार हो । तर, रुढीवादी भने हुनुहुँदैन,’ मन्त्री खनालले भने । खसीको मासु मन पराउने भएपनि उनी कोलेस्ट्रोल बढी रहेकाले माछा मात्र खाने बताउँछन् ।
सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई

उनी मुस्लिम धर्मावलाम्बी भए पनि दशैं, तिहार सबै खाले चाडपर्व मनाउने गरेको बताउँछन् । नेपाल बहु–भाषिक बहु–साँस्कृतीक राष्ट्र भएकाले पहाड, हिमाल, तराईमा हिन्दू मुसलमान, बौद्ध, क्रिश्चियन धर्म भएपनि जुनसुकै चाडवाडमा प्रत्यक्ष सहभागी भएर मनाउने गरेको बताए ।
इदमा गेटमै पानी वितरण गर्ने अङकमाल गर्ने शुभकामना आदानप्रदान गर्ने गरेको उनले बताए । यस्तै दशैंमा पनि टीका जमरा थाप्न जाने र थाप्न आउनलाई पनि लगाइदिने गरेको उनले बताए । उनले दशैं हाम्रो पुरानो संस्कृति भएकाले यो सधैं कायम रहोस भन्ने शुभकामना दिए ।
‘नवरात्री सुरु भइसकेको छ, दशैं पछि तिहार, छठ सबैका लागि नेपालमा सुख शान्ति रहोस भन्ने शुभकामना दिन्छु,’ मन्त्री राईले भने ।
दशैं धार्मिक हिसाबले असत्य माथी सत्यको विजय भएको र साँस्कृतिक रुपमा ठूलाबडाबाट टीका जमरा लगाएर आर्शिवाद थाप्ने भएकाले यो सधै कायम हुनुपर्ने उनले बताए ।
दक्षिणा ५/१० रुपैयाँ देखि ५ हजार पनि दिन सकिने उनले बताए । इद मनाउँदा खेरी उनले दक्षिणाको रुपमा केही पैसा पाएकोे अनुभव सुनाए ।
‘यो वर्ष आमाबुबाले ५/५ सय रुपैयाँ दक्षिणा दिनुभयो, त्यो ५ सय अहिलेसम्म कमाएको भन्दा ठूलो लाग्छ,’ मन्त्री राईले भने । उनले दक्षिणामा कति पैसा पाएको भन्दा पनि को बाट पाएको भन्ने कुराको महत्व हुने बताए ।
उनीले यो पटक दशैं निर्वाचन क्षेत्रमा मनाउने बताए । सो ठाउँमा पार्टी र क्षेत्रका मानिसहरुलाई टीका जमरा लगाउने उनको कार्यक्रम रहेको छ ।
भूमि सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याल

मन्त्री पद्माकुमारी अर्याल दशैं मनाउन आफ्नो जिल्ला गइसकेकी छन् । उनी असोज १६ गते दिन आफ्नो गृह जिल्ला गएकी हुन् ।
यो पटक उनको आमा वितेको हुनाले टीका नलगाउने भएपनि गृह जिल्लामा सबैसँग भेटघाटको कार्यक्रम रहेको उनकी प्रेस सल्लाकारले जानकारी दिइन् ।