काठमाडौं । लगानीमैत्री देशका रुपमा स्थापित भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरियो ।
एक दिवसीय फोरममा बोर्डले संयोजन गरेका परियोजनाका प्रमुख तथा पदाधिकारीको बाक्लो उपस्थिति थियो । उनीहरुले नेपाल लगानीमैत्री देशका रुपमा स्थापित भएको भन्दै प्रसन्नता मात्र व्यक्त गरेनन्, थप लगानीका लागि आफूहरु आतुर रहेको समेत बताए ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले ठूला पूर्वाधार तथा परियोजनामा सहज तवरले लगानीको वातावरण बनाउने दीर्घकालीन सोचका साथ बोर्ड स्थापना गर्नुभएको थियो । बोर्डलाई सार्वजनिक निजी साझेदारीको ‘नोडल एजेन्सी’ का रुपमा लिइएको छ ।
३३ वटा ठूला आयोजनाको संयोजन
बोर्डले पछिल्लो १० वर्षको अवधिमा ३३ वटा ठूला आयोजनाको संयोजन गरेको छ ।बोर्डले संयोजन गरेको कुल ९०० मेगावाट क्षमताको अरुण तस्रो जलविद्युत् आयोजनाको भौतिक निर्माण झण्डै ६० प्रतिशतको हाराहारीमा पुगेको छ । यस्तै, होङ्शी शिवम् सिमेन्टले पछिल्लो चार वर्षदेखि नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको छ । यस्तै, चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ ।
बोर्डले संयोजन गरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम भने प्रभावकारी हुन सकेको छैन । यद्यपि, पछिल्लो पटक सरकारले शर्तसहित सो आयोजनाको भारतीय प्रवद्र्धक ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) को म्याद थप गरेको छ ।
विभिन्न नीतिगत सुधार एवं लगानीको वातावरण बनाउन पछिल्ला दिनमा बोर्डले गरेको मेहनत आफैँमा महत्वपूर्ण रहेको छ । पछिल्लो पटक लामो समयदेखि केवल चर्चामा सीमित भएको ७५० मेगावाट क्षमताको पश्चिम सेती र कुल ४५० मेगावाट क्षमताको सेती नदी–६ आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
झण्डै चार दशकदेखि चर्चामा सीमित भएका ती आयोजना निर्माण हुने विश्वासका साथ सुदूरपश्चिम प्रदेशसँग देशभर नै आशाको नयाँ सञ्चार भएको छ । यसै सन्दर्भमा बोर्डले आज एक दिवसीय दिगो लगानी पूर्वाधार फोरमको आयोजना गर्यो ।
भारतको सरकारी स्वामित्वको सो कम्पनीले नेपालमा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको छ । सोही कम्पनीले नै अरुण बेसिनको तल्लो अरुणसमेत जिम्मा लिएको छ ।
कुल रु १ खर्ब ६० अर्ब बराबरको लगानी रहेको अरुण तेस्रोबाट नेपालले झण्डै २०० मेगावाट बिजुली निःशुल्करुपमा प्राप्त गर्छ । उनले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएकाले ढुक्क भएर लगानी गर्न सकिने बताए ।
परियोजना बैंक निर्देशिका सार्वजनिक
बोर्डले आजै परियोजना बैंक निर्देशिका सार्वजनिक गरिएको छ । लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको बेबमा आधारित एकल बिन्दु सेवा केन्द्रको पनि शुभारम्भ गरियो ।
सो डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्नेछन् । लगानी सहजीकरणसँग सम्बन्धित सबै निकाय आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।
यस्तै, रासायनिक मल कारखाना स्थापनाका लागि बोर्डद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सो अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन समावेश गरिएको छ ।
लगानी बोर्डले लगानी प्रवद्र्धनको मुख्य उद्देश्यसहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाइएको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए। उनले लगानीको वातावरण बनाउनका लागि बोर्डका तर्फबाट सक्दो मेहनत गरिएको बताए ।
सतलजका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आयोजना आर्थिक वर्ष २०२३/२४ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । अरुण तेस्रो निर्यातउन्मुख परियोजना भए पनि सार्वनजिक निजी साझेदारीको उत्तम नमूना भएको बताए । सरकारले निरन्तर सहयोग नगरेको भए परियोजना निर्माणमा यस खालको प्रगति नहुने उनको भनाइ छ ।
यस्तै, हुवासिन नारायणी सिमेन्ट उद्योगका उपमहाप्रबन्धक लिउ गाङले लगानी बोर्ड नेपालको सहजीकरणले आफूहरुलाई काम गर्न निकै सजिलो भएको जानकारी दिए । उनले नेपालमा लगानीका लागि सहज वातावरण बनेको भन्दै क्रमशः अन्य आयोजनामा पनि ठूलो लगानी भित्रने विश्वास व्यक्त गरे।
माथिल्लो त्रिशुली एक जलविद्युत् परियोजनाका प्रमुख कार्यकारी अधिकृत हे उङ काङले पनि नेपालका सरकारी निकायले अपेक्षाकृत रुपमा लगानीकर्तालाई सहजीकरण गरिरहेको र त्यो प्रेरणादायी रहेको बताए । उनले भने, ‘पछिल्ला दिनमा नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको छ । हामी खुसी छौं ।’
नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले पनि नेपाल सरकारले गरेको नीतिगत एवं कानुनी सुधारका कारण विदेशी लगानी बढ्ने सम्भावनामा वृद्धि भएको बताए। उद्घाटन शत्रमा उनले भने, ‘नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएको छ ।’
बोर्डले आजैदेखि बेबमा आधारित एकल बिन्दु सेवाको समेत शुभारम्भ गरेको छ । यसबाट लगानीकर्ताले सहजैरुपमा सेवा पाउने विश्वास गरिएको छ । लगानीकर्तालाई प्रत्यक्षरुपमा भेटवार्ता नै नगरिकन अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने सो प्रणालीले थप सहजीकरण गर्ने विश्वास लिइएको छ । लगानीकर्ताले प्रवेशाज्ञा सहजीकरण, श्रम स्वीकृति, परियोजनाको लगानीका गर्न आशयपत्र पेस गर्न, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पारित गर्न, निजी जग्गा अधिकरणमा सहजीकरणका अलावा कम्पनी दर्ता, कर कार्यालयबाट लिनुपर्नेलगायत धेरै सेवा अनलाइनका माध्यमबाटै पाउने छन् ।
यस्तै बोर्डले निकट भविष्यमा नै केही ठूला परियोजनामा लगानीको सम्झौता गर्न लागेको जानकारी दिएको छ । सात वटै प्रदेशमा सात वटा नमूना परियोजना सुरु गर्न लागिएको त्यस अवसरमा जानकारी दिइयो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ने, ‘कर्णाली प्रदेशको माग धान्ने गरी तीन हजार मेट्रिक टन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने परियोजनाको निकट भविष्यमा नै सहमति हुन लागेको छ ।’
९ खर्ब बराबरको लगानी स्वीकृत
सार्वजनिक निजी साझेदारी ऐनका अनुसार बोर्डलाई रु ५ अर्ब बढीका लगानी र २०० मेगावाट माथिका जलविद्युत् आयोजना निर्माणका लागि लगानी स्वीकृत गर्ने अधिकार छ । बोर्डले हालसम्म करिब ९ खर्ब बराबरको लगानी स्वीकृत गरिसकेको छ । यस्तै, सन् २०२६ सम्म थप करिब रु ६ खर्ब बढी लागतका परियोजना सुरु गर्ने तयारी गरिएको छ । पछिल्ला दिनमा कोरोना महामारीलगायत कारणले पनि केही परियोजनामा गति पैदा हुन सकेको छैन ।
उद्घाटन शत्रमा प्रधानमन्त्रीले ठूला भौतिक पूर्वाधारमा लगानीका लागि लगानीकर्तालाई आग्रह गर्दै त्यसका लागि आवश्यक पर्ने वातावरण बनाउन सरकार प्रयन्तशील रहेको बताए ।
ठूला पूर्वाधारका लगानी गर्दा वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले नेपालमा लगानी गर्न आउनेलाई सबै प्रकारको सुविधा उपलब्ध गराउने दृढता व्यक्त गरे । फोरममा लगानीका विभिन्न सम्भाव्य अवसर, चुनौती तथा सरकारले गरिरहेको विभिन्न प्रयासका बारेमा महत्वपूर्ण विचार विमर्शसमेत भएको थियो ।