काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार मंगलबारदेखि केही सम्हालिएको छ ।
हिजो २१ अंकले बढेको नेप्से आज (दिउँसो १२:५५ बजेसम्म) ३५ अंकले बढेको छ । ठूलो करेक्शन पछि अब नेप्सेले लय समात्न थालेको हो कि भन्ने लगानीकर्तामा आशा जागेको छ ।
पछिल्लो समय नेपाल धितोपत्र बोर्डले लगातार सेयर बजारमैत्री नीति, नियमावली ल्याइरहेको छ । सेयर बजारको विकास र सुधारका लागि अनेक प्रयासहरु गररहेको छ । ब्रोकरको लाइसेन्स खुलाउने, नयाँ स्टक एक्स्चेन्ज स्थापनका लागि आवश्यक कानुन निर्माण गरिरहेको छ ।
बोर्डको लगातारको प्रयास र नेप्से एक वर्ष यताकै न्यून विन्दुमा आएकाले अब फेरि लय समात्ने लगानीकर्ताको आशा छ । पछिल्लो दुई दिनको वृद्धिले केही संकेत पनि देखाएको छ ।
बजार बढ्ने झिनो संकेत देखिँदा लगानीकर्ताको सक्रियता पनि बढेको छ । लगानीकर्ताले सेयर खरिद चाप बढाएका छन् भने विक्री चाप कम छ ।
आज दिउँसो १२:५५ सम्म नेशनल हाइड्रो लगानीकर्ताको पहिलो रोजाइमा परेको छ । यसको सबैभन्दा धेरै १ लाख ४६ हजार कित्ता सेयर खरिदका लागि माग गरेका छन् ।
त्यसैगरी, हिमालयन एभेरेष्ट इन्स्योरेन्स १ लाख ३५ हजार, कुमारी इक्वीटी फण्ड १ लाख २८ हजार, एनसीसी बैंकको १ लाख २२ हजार बढी कित्ता सेयर खरिदका लागि माग भएको छ ।
त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर, प्राइम कमर्शियल बैंकको पनि १ लाख बढी कित्ता सेयर खरिदका लागि अर्डर राखिएको छ ।
