काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीसँग बढी प्रिमियम लिने बैंकहरूलाई कारबाही गर्ने तयारी गरेको छ । ऋणीहरूले गरेको उजुरीका आधारमा राष्ट्र बैंकले बढी प्रिमियम असुल्ने बैंकहरूलाई कारबाही गर्ने तयारी गरेको हो ।
बैंकहरुले नयाँ र पुराना दुवै ऋणीसँग बढी प्रिमियम लिएको पाइएको छ । यसअघि नै ऋण लिएका ऋणीसँग बैंकहरुले अहिले प्रिमियम बढाएर ब्याज लिन थालेका छन् ।
पछिल्लो १ वर्ष यता बैंकिङ प्रणालीमा चरम तरलता अभाव कायम छ । जस कारण बैंकहरूले ग्राहकको माग अनुसार कर्जा लगानी गर्न सकेका छैनन् ।
यद्यपि, तरलता अभावकै बीच बैंकहरूले न्यून मात्रमा भए पनि कर्जा लगानी गरिरहेका छन् । यसरी कर्जा लगानी गर्दा बैंकहरूले अन्य समयमाभन्दा बढी प्रिमियम लिएर कर्जा दिने गरेको गुनासो राष्ट्र बैंकमा पुगेको छ । सोही आधारमा आवश्यक अध्ययन/अनुसन्धान गरी धेरै प्रिमियम लिने बैंकहरूलाई कारबाही गर्ने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कोरोना कालमा अधिक तरलता भएका बेला बैंकहरूले बेस रेटमा १ प्रतिशत मात्रै प्रिमियम जोडेर पनि कर्जा दिएका थिए भने पछिल्लो समय ६/७ प्रतिशतसम्म प्रिमियम लिने गरेको गुनासाे छ ।
नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा ठ्याक्कै यति प्रतिशत प्रिमियम लिन पाउने भनेर सीमा तोकिदिएको छैन । राष्ट्र बैंकको सोही ‘लुप ह्वोल’को फाइदा उठाउँदै बैंकहरूले मनलाग्दी प्रिमियम लिने गरेका छन् ।
बैंकहरूले सामान्य अवस्थामा ग्राहकसँगको सम्बन्ध र कर्जाको प्रकृति अनुसार ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्ने गरेका छन् । तर, अहिले ऋणै नपाउने अवस्था सृजना भएपछि बैंकहरूले मनलाग्दी रूपमा प्रिमियम लिन थालेको ऋणीको गुनासो छ । त्यस्तै, बैंकहरुले पुराना ऋणीलाई पनि पहिला लिँदै आएको प्रिमियम बढाएर ब्याज लिन थालेका छन् ।
कतिपय बैंकहरूले त आफूले भनेको प्रिमियम नतिर्ने ग्राहकलाई ऋण नदिइ बढी प्रिमियम तिर्ने ग्राहकलाई ऋण दिने गरेको समेत गुनासो आएको राष्ट्र बैंकले जनाएको छ ।
ग्राहकले सहजै ऋण नपाइरहेको अवस्थामा जति प्रिमियम तिरेर पनि ऋण लैजान्छन् भन्ने मनोविज्ञान बुझेका बैंकहरूले ऋणीको ढाड सेक्नेगरी प्रिमियम असुली रहेको पाइएको छ ।
कोरोना कारलमा ग्राहकसँगको सम्बन्धका आधारमा १/२ प्रतिशत प्रिमियम जोडेर ६ प्रतिशत ब्याजदरदेखि ऋण दिएका बैंकहरूले अहिले १७/१८ प्रतिशतसम्म ब्याजदरमा ऋण दिने गरेको बताइन्छ । अहिले अधिकांश बैंकहरूको आधारदर (बेसरेट) नै दोहोरो अंकमा छ । त्यसमा पनि बैंकहरूले ६/७ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेको छन् । जसकारण ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ ।
बढी लिएको पाइएमा फिर्ता गराउँछौं : राष्ट्र बैंक
कर्जा लगानी गर्दा बढी प्रिमियम लिएको गुनासो धेरै आएपछि राष्ट्र बैंकले अध्ययन गर्न थालेको छ । राष्ट्र बैंकले उजुरी र गुनासोका आधारमा बैंकहरूसँग विवरण माग गरेर अध्ययन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग विवरण मागेर विश्लेषण गरिरहेको र बढी लिएको पाइए फिर्ता गर्न लगाउने बताउँछन् ।
‘हामीले बैंकहरूसँग विवरण संकलन गरेर विश्लेषण गरिरहेका छौं । सोही आधारमा बढी प्रिमियम लिएको पाइएमा त्यो फिर्ता गर्न लगाउछौं,’ उनले भने, ‘यति नै संस्थाहरूले बढी लिएका छन् भन्ने एकीन भइसकेको छैन । सबै संस्थाहरूबाट सो विवरण संकलन गर्नेकाम भइरहेको छ ।’
नाफा दोब्बरले वृद्धि
कर्जा लगानी ठप्प हुँदा पनि चालु वर्षको पहिलो महिना (साउन)मा बैंकहरूले खुद नाफा गत वर्षको तुलनामा दोब्बरले बढाएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक साउनमा २६ वटा वाणिज्य बैंकले कुल १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो गतको सोही अवधिको तुलनामा १०८ प्रतिशतले धेरै हो । गत वर्ष साउनमा वाणिज्य बैंकहरूले ६ अर्ब ३३ करोड खुद नाफा कमाएका थिए ।
यद्यपि, साउनमा नबिल बैंकले लेखापरीक्षण अघिको नाफा देखाएका कारण बैंकहरूको खुद नाफा धेरै देखिएको हो । नबिलको बाहेक २५ बैंकहरूले साउनमा ८ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्ष साउनको तुलनामा ३०.३२ प्रतिशत बढी हो।
कर्जा लगानी ठप्प हुँदा पनि बैंकहरूले कसरी नाफा बढाए भनेर चासोका साथ हेरिएको छ । कर्जा लगानी पनि नहुनु, निक्षेपमा दोहोरो अंकको ब्याज दिँदा पनि बैंकहरूले कसरी नाफा बढाए भन्ने प्रश्न उब्जेको छ ।
नाफाखोरी बनेको आरोप लाग्दै आएका बैंकहरूलाई पछिल्लो समय उनीहरूले लिने चर्को प्रिमियम, ब्याज, निक्षेप खोसाखोस लगायत क्रियाकलापले थप पुष्टि गर्दै लगेको छ । बैंकहरूलाई जसरी पनि नाफा मात्रै कमाउनु पर्छ भन्ने ध्याउन्न रहेको आरोप लाग्ने गरेको छ ।