काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी न्यूनतम ३ अर्ब रुपैयाँ तोकेको छ ।
बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । यद्यपि, नेपाल स्टक एक्सचेञ्जको हकमा भने यो व्यवस्था लागू नहुने बोर्डले जनाएको छ ।
यस्तै, नयाँ स्टक एक्स्चेन्जको कारोबार सञ्चालनमा आएको २ वर्ष भित्र जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्नेछ ।
नयाँ स्टक एक्स्चेन्जमा कानुन बमोजिम स्थापित भएका सबै प्राइभेट कम्पनी वा संस्थाले सेयर लगानी गर्न पाउने छन् । कुनै पनि संगठित संस्था वा कम्पनी र त्यसका संचालकहरुले बढीमा १५ प्रतिशतभन्दा बढी सेयर लगानी गर्न पाउने छैनन् ।
त्यस्तै, नयाँ स्टक एक्स्चेन्जमा नेपाल बाहेक अन्य मुलुकमा पनि धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले पनि लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।
जसका लागि १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको, प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्था हुनुपर्ने छ ।