काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले भदौ ३१ गतेदेखि प्राथमिक साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३२ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।
उक्त आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका स्थानीय बासिन्दाहरूले कुल निष्कासनको ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पाउनेछन् । यसैगरी,लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूलाई ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि असोज १४ गतेसम्म आवेदन दिने सक्नेछन्। उक्त अवधिसम्म माग अनुसार आवेदन नपरेमा भने समयअवधि असोज ३० गतेसम्म रहने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।